
शुभेच्छा मरासिनी अधिकांशजस्तै गाउँमा जन्मे/हुर्केकी साधारण युवती हुन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ मा जन्मे/हुर्केकी शुभेच्छाले प्राप्त गरेको उपलब्धि भने विशिष्ट छ । उनका बुबा किसान र आमा गृहिणी हुन् । असाधारण सपना बोकेकी उनले गाउँकै सामुदायिक विद्यालयमा आधारभूत तह अध्ययन गरिन् ।
पढाइमा उनी सानैदेखि अब्बल थिइन् । गाउँमा कक्षा ८ सम्म पढेपछि ९–१२ पढ्न उनी बुटवल झरिन् । बुटवलबाट कम्प्युटर इन्जिनियरिङमा ‘प्लस टु’ पास गरिन् ।
त्यसपछि उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं लागिन् । उच्च शिक्षा र सरकारी जागिरको महत्व उनले राम्ररी बुझेकी थिइन् । सरकारी जागिर खाने उनको रहर जो थियो । उच्च शिक्षा (स्नातक) सकेपछि उनी लोकसेवा तयारीतिर लागिहालिन्। मन लाएर पढिन् । रातदिन मेहनत गरिन् । मेहनतको फल चाँडै प्राप्त भयो ।
अहिले उनी धेरैको प्रेरणा र ऊर्जाको स्रोत बनेकी छन् । उनले एकै वर्ष पाँच ठाउँबाट शाखा अधिकृत (अफिसर)मा नाम निकालेकी हुन् ।
पहिलोपटक गत साउन ३१ गते उनले कम्प्युटर अधिकृतमा नाम निकालिन् । खुसीको सीमा रहेन । भदौ ६ गते फेरि सूचना प्रविधि अधिकृतमा नाम निस्कियो । शुभेच्छाले फेरि पनि नाम निकालिन् भन्ने हल्ला गाउँघर फैलियो । उनको खुसी दुई गुणा बढ्यो ।
फेरि भदौं २० गते नेपाल राष्ट्र बैंकको तृतीय अधिकृतमा नाम निकालिन् । भदौ २७ गते नेपाल विविध सेवा राजपत्रांकित तृतीय श्रेणी कम्प्युटर इन्जिनियरिङ उनको नाम निस्कियो । लगभग एक महिनाकै अवधिमा चार ठाउँबाट अधिकृतमा नाम निकालेकी उनले गत मंसिर ६ गते नेपाल राष्ट्र बैंकको सहायक निर्देशकमा पनि नाम निस्कियो ।
उनले नेपाल राष्ट्र बैंक रोजेर सेवा शुरू गरेकी छन् । ‘मैले ६ महिना मात्रै पढेर सबैमा आवेदन दिएकी थिएँ’ शुभेच्छा भन्छिन्, ‘सबै परीक्षामा एकपछि अर्को गर्दै नाम निस्कियो,’ उनले भनिन्, ‘परिश्रम र लगनशीलता लोकसेवा तयारी गर्नेहरूको सबैभन्दा ठूलो हतियार हो । मैले त्यही गरें ।’
उनी राति १२/१ बजेसम्म र बिहान ५ बजे नै उठेर पढ्थिन् । ६ महिना मोबाइल, टीभी र सामाजिक सञ्जालबाट टाढा रहेको उनले बताइन् ।
उनलाई सानैदेखि समसामयिक विषय र ‘जनरल नलेज’ (जिके)मा रूचि थियो । सामान्य ज्ञान अझै मन पर्ने हुँदा विद्यालय तहमा हाजिरीजवाफलगायत प्रतिस्पर्धामा सहभागी हुन्थिन् । ‘लगनशीलताले मलाई एक पटकमै अफिसर बनायो,’ मरासिनी भन्छिन्, ‘तयारीका सम्पूर्ण चरणमा मलाई पढाइ/लेखाइ कहिल्यै बोझ र भारी लागेन ।’
लोकसेवा तयारीमा रहेकालाई शुभेच्छा आत्मविश्वास बढाएर परीक्षामा सहभागी हुन सुझाउँछिन् । ‘लोकसेवा तयारी गर्नेले नियमित अध्ययन, लेखाइको अभ्यास र नाम निकालेकासँग छलफल गर्नुपर्छ,’ उनी भन्छिन्, ‘आवश्यक सामग्रीमा विशेष ध्यान दिनुपर्छ । विभिन्न सरकारी प्रतिवेदन र पत्रपत्रिका नियमित अध्ययन गर्नुपर्छ ।’
सन्तुलित लेखाइ र तत्थपरक विश्लेषण, विषयवस्तुको सही छनोट र आफैंप्रतिको आत्मविश्वासलाई वृद्धि गराउँदै लैजान उनी सुझाउँछिन् । लोकसेवाको पढाइ आफैंमा कठिन र चुनौतीपूर्ण भए पनि आत्मविश्वास, लगनशीलता, नियमित अध्ययन र अभ्यासले सफलता प्राप्त गर्न सकिने उनको निष्कर्ष छ ।
'क्याम्पस बढेजस्तो चाहिँ हुँदैन । दिनको दुई/चार घण्टाभन्दा अलि डिटेल स्टडी गर्नुपर्छ,’ उनी भन्छिन्, ‘दैनिक ८/१० घण्टा पढ्ने बानीको विकास गर्नुपर्छ । त्यसपछि कमिटमेन्ट, कन्टिन्यूटी र कन्फिडेन्ट हुनुपर्छ ।’
सरकारी सेवासँगै अध्ययन पनि बढाउँदै अझै माथिल्लो तहको तयारी गर्ने उनको योजना छ । एउटा अब्बल र इमान्दार राष्ट्रसेवक कर्मचारीको पहिचान बनाउने उनको अठोट छ । ‘लोक सेवा तयारी गर्दा नै कुनै भ्रममा नपरी राष्ट्र सेवामा जाँदैछु भन्ने बुझाइ हुनुपर्छ । सरकारी सेवामा सन्तुष्टि लिनेछु भन्ने प्रस्ट हुनुपर्छ,’ उनी भन्छिन्, ‘कडा प्रतिस्पर्धा हुन्छ भनेर डराउने होइन । एक सीट भए भइहाल्यो, त्यो मेरो लागि हो भनेर मेहनत गर्नुपर्छ ।’ आफ्नो प्रगतिको कारण पारिवारिक वातावरण रहेको उनी बताउँछिन् ।