०४ साउन २०८३, सोमबार
प्रदेश गौरवको आयोजनामा अलमल

३३ करोड खर्चेपछि प्रदेश सरकारले हात उठायो, रिफ्रेसमेन्ट सेन्टर निर्माण निजीलाई दिने तयारी

पुस ११, २०८१
विराटनगर
३३ करोड खर्चेपछि प्रदेश सरकारले हात उठायो, रिफ्रेसमेन्ट सेन्टर निर्माण निजीलाई दिने तयारी

कोशी सरकारले प्रदेश गौरवको आयोजना ‘कोशी रिफ्रेसमेन्ट सेन्टर’ निर्माण निजी क्षेत्रलाई दिने तयारी गरेको छ । प्रदेश सरकारले करोडौं बजेट खर्च भैसकेपछि सेन्टर निर्माण निजी क्षेत्रलाई दिने तयारी गरेको हो । प्रदेश सरकारले सेन्टर निर्माणमा हालसम्म ३३ करोड खर्च गरिसकेको छ ।

आयोजना सम्पन्न गर्न नसक्ने भएपछि प्रदेश सरकारले हात उठाएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले बताए । आयोजना निजी क्षेत्रलाई दिनेगरी प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।

आउदो माघ ११ गतेदेखि प्रदेश सरकारले पहिलोपटक लगानी सम्मेलन गर्दैछ । लगानी सम्मेलनको सोकेसमा रिफ्रेसमेन्ट सेन्टरसमेत राखिने प्रदेश लगानी प्राधिकरणका सीईओ डा. सरोज कोइरालाले जानकारी दिए । सेन्टरसहित ३७ वटा आयोजना सोकेसमा राखिएको छ ।

वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री भएको बेला उनकै पहलमा सुनसरीको कोशी गाउँपालिका–५ मा रिफ्रेसमेन्ट सेन्टर निर्माण थालिएको थियो । आफ्नै जोडबलमा शुरू गरिएको आयोजना आफैं मुख्यमन्त्री भएका बेला निजी क्षेत्रलाई दिने तयारी गरेपछि अहिले उनको आलोचना भैरहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन डीआईजी केदार रिजालले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सेन्टर निर्माणको प्रस्ताव गरेका थिए । पूर्वपश्चिम राजमार्गमा कुद्ने गाडीलाई चेकजाँच गर्ने तथा गाडीका चालकदेखि यात्रुसम्मलाई फ्रेस बनाउनेगरी उनले योजना ल्याएका थिए ।  

डीआईजी रिजालले सामान्य खालको प्रस्ताव ल्याए पनि तत्कालीन मन्त्री कार्कीले बृहत् संरचना निर्माणको योजना अगाडि बढाएका थिए । कार्की र तत्कालीन पर्यटनमन्त्री रहेका जगदिशप्रसाद कुसियतको पहलमा जग्गा खरिद गर्नेदेखि विशाल संरचना बनाउनेगरी योजना अगाडि बढाइएको थियो ।

२०७७ मंसिर २४ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले तामझामसहित आयोजनाको शिलान्यास गरेका थिए । आयोजना शिलान्यास गर्दै राईले रिफ्रेसमेन्ट सेन्टरले पर्यटन, उद्योगसहित कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणमा योगदान गर्ने दाबी गरेका थिए ।

आन्तरिक मामिला तथा कानुनमन्त्रीले आफ्नो मन्त्रालयले एउटा मात्रै ठुलो आयोजना सञ्चालन गर्ने भन्दै प्रस्ताव अगाडि बढाएपछि तत्कालीन मुख्यमन्त्री राईलेसहमति दिएका थिए । मुख्यमन्त्रीले नै साथ दिएपछि आर्थिक मामिला तथा योजना मन्त्रालयले समेत सहमति दिएको तत्कालीन मन्त्री इन्द्रबहादुर आङबोले बताए ।

लामो दुरीका सवारी साधन कुदाउँदा थकित भएका ड्राइभरलाई फ्रेस बनाउन र एकछिन आराम गर्ने ठाउँको रूपमा मात्रै विकास गर्ने लक्ष्य लिएर आयोजना निर्माणको छलफल शुरू भएको थियो । तर, तत्कालीन मन्त्री कार्कीले पेट्रोल पम्प, भ्युटार, स्विमिङ, पुल, रेस्टुरेन्ट र प्रहरीलाई चाहिने संरचना बनाउने प्रस्ताव अगाडि बढाएका थिए । खर्च बढ्नेगरी प्रस्ताव ल्याउँदा पनि तत्कालीन मुख्यमन्त्रीले साथ दिएपछि धेरै बजेट खर्च भएको आङ्बोले बताए । ‘जेनेरल प्रोजेक्टकारूपमा अगाडि बढाउने सहमति भए पनि ठुला संरचना बनाउनेगरी मुख्यमन्त्री र मन्त्री नै लागे, ‘आङबाले भने ‘यसको शुरूआत नै गलत थियो भन्ने अहिले पुष्टि भएको छ ।’

विसं २०६५ भदौ २ गते कोशीको बाढीले बालुवामा परिणत गरेको जग्गालाई अधिग्रहणगरी रिफ्रेसमेन्ट सेन्टर निर्माण थालिएको हो । सरकारले रिफ्रेसमेन्ट सेन्टर निर्माणका लागि १८ बिघा जग्गा खरिद गरेको थियो । प्रदेश सरकारले बगर क्षेत्रको जग्गा खरिदमा मात्रै करिब ५ करोड खर्च गरेको थियो । ४ बिघा ऐलानी जग्गा सेन्टरको नाममा छ ।

आयोजना सञ्चालन गर्न इनरुवामा बेग्लै कार्यालयसमेत स्थापना गरिएको थियो । २०७५ साल माघ २४ गते तत्कालीन मुख्यमन्त्री राईले नै कार्यालयको उद्घाटन गरेका थिए । ९औं तहको आयोजना प्रमुखसहित १० जनाको दरबन्दी कायम गरिएको कार्यालय सरकार फेरिएपछि खारेज भएको थियो । राजेन्द्रकुमार राई मुख्यमन्त्री भएपछि आयोजना कार्यालय खारेज गरेर शहरी विकास तथा भवन कार्यालय मोरङले हेर्ने निर्णय गरिएको थियो ।

त्यसबेला प्रदेश गौरवको आयोजनालाई सरकारले अलपत्र बनाउने प्रयास गरेको भन्दै कार्की र राईले प्रदेशसभा बैठकमै विरोधसमेत गरेका थिए । राजेन्द्रकुमार राई नेतृत्वको सरकारले सीमित पूर्वाधार बनाउने योजना अगाडि सारेको थियो । दोस्रो कार्यकालको शुरूआतमै मुख्यमन्त्री बनेपछि कार्कीले आयोजनालाई वृहत् रूपमै बढाउन गरी फेरि आयोजना कार्यालय खोल्नेगरी निर्णय गराएका थिए । विरोध हुने डरले उनले कार्यालय भने खोलेनन् ।

रिफ्रेसमेन्ट सेन्टरका नाममा २२ बिघा १२ कट्ठा जग्गा छ । पहिलो चरणमा रेस्टुरेन्ट, हेल्थपोष्ट, पेट्रोलपम्म र पुलिस बिट बनाउनेगरी २०७७ ठेक्का लगाइएको थियो । शहरी विकास तथा भवन कार्यालय मोरङका इन्जिनियर विनेश माझीका अनुसार कविन्द्र सृजनशील जेभीले ३३ करोड ६० लाख ६१ हजार २०१ रुपैयाँमा पहिलो चरणको काम गर्नेगरी सम्झौता गरेको थियो । २०८१ चैतमा काम सक्नेगरी त्यसको म्याद थपिएको छ ।

दोस्रो चरणमा कार्यशाला भवन, ७ तले विजनेश कम्प्लेक्स भवन, गार्ड हाउस, विज्ञापन बोर्ड, आपत्कालीन उद्दार उपकरण भवन, डुङ्गा बिहार क्षेत्र, पिकनिक स्थल, स्विमिङ पुल, फुटपाथ शेड, पानीको फोहरा र सिँढी, ओभर ब्रिज, रेस्टुरेन्ट, ट्राफिक रेस्टुरेन्टलगायत संरचना बनाउने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ ।

आयोजनाको दोस्रो चरणको काम गर्न १ अर्ब ५० करोड ५५ लाख १३ हजार ९५१ रुपैयाँ खर्च हुने स्टिमेट छ । गत भदौमा निर्माणाधीन रिफ्रेसमेन्ट सेन्टरको अनुगमन गर्दै मुख्यमन्त्री कार्कीले पहिलो चरणको काम चाँडै सम्पन्न हुने बताएका थिए ।

स्थानीयको सहयोगले परियोजनाको काम सहज रूपमा भइरहेको भन्दै उनले चैत महिनाभित्रै पहिलो चरणको काम सम्पन्न भएर दोस्रो चरणको काम शुरू हुने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्