०५ साउन २०८३, मंगलबार
पर्यटन प्रवर्द्धनमा सडक महोत्सव

राजपरिवारसँगको डिनर भेट र गोवा भ्रमणले शुरू भएको पोखरा सडक महोत्सव

पुस १३, २०८१
पाेखरा
राजपरिवारसँगको डिनर भेट र गोवा भ्रमणले शुरू भएको पोखरा सडक महोत्सव

फेवाताल किनारमा छ ‘राजाको दरबार’- रत्न मन्दिर । राजतन्त्रकालमा राजा पोखरा आउँदा बस्ने दरबार थियो त्यो । तत्कालीन राजा वीरेन्द्र शाह घुमघाम होस् वा अन्य कामका लागि रत्न मन्दिर आइरहन्थे । अहिले त्यही रत्न मन्दिर पर्यटकीय स्थल बनेको छ । पर्यटकका लागि खुलाइएको छ ।

यो दरबारसँग पोखराको ब्राण्ड बनेको सडक महोत्सव पनि जोडिएको छ । दरबारमा भएको डिनर भेटले जुराएको थियो सडक महोत्सव । पोखरा सडक महोत्सवको परिकल्पनाकारको रूपमा चिनिन्छन्, गणेश भट्टराई । पूर्व बक्सिङ खेलाडी समेत रहेका भट्टराईको सम्बन्ध तत्कालीन युवराज दीपेन्द्रसँग राम्रो थियो । दीपेन्द्रले  गणेशलाई हिउँदको एक रात राजदरबारमा डिनरका लागि डाकेका थिए । त्यही मौकामा तत्कालीन राजा वीरेन्द्रलाई भेट्ने मौका जुर्‍यो ।

त्यस समय पोखरामा हिउँदको समयमा पर्यटक अडिन्थेनन् । तत्कालीन पश्चिमाञ्चल भ्रमणमा राजा आउँदा पोखरामा पर्यटक शून्य बराबर नै देखे । सुनसान पर्यटकीय नगरीबारे गणेशसँग प्रश्न गरे । राजाले हिउँदको मौसमा पनि पोखरामा पर्यटक अड्याउने विकल्प खोजे । 

‘सडक महोत्सवको बारेमा पहिला शुरूमा त स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाह सम्झिन चाहन्छु । उहाँको एउटा शुरूआत हो । पर्यटकहरू जाडोको समयमा कमी हुने भएकाले के हुन्छ त यसको विकल्प भनेर राजाले चासो दिनुभयो’, भट्टराई भन्छन् । 

राजाको खोजेको विकल्पमा गणेशले आफूले गोवा भ्रमणमा पुग्दा देखेको पर्यटकको रमाइलो सुनाए । गणेशको परिकल्पनामा राजा वीरेन्द्रले साथ दिए । र, शुरू भयो पोखरा सडक महोत्सव । ​

लेकसाइड महोत्सवदेखि पोखरा महोत्सवको यात्रा 
राजपरिवारसँगको डिनर भेटमा गणेशले २०५३ सालतिर गरेको गोवा भ्रमण सम्झिए । नयाँ वर्षको अवसरमा गोवा पुग्दा गणेशलाई ‘फुड एण्ड ह्यान्डिक्राफट फेस्टिभल’ हेर्ने मौका जुरेको थियो । सडकमा रमाइरहेका पर्यटक । रमाइलो नाचगानसँगै ह्यान्डिक्राफटको प्रदर्शन । यसले रैथाने वस्तुको बजारीकरण समेत गरेको थियो । गणेशलाई त्यस महोत्सवको छापले छाडेको थिएन । त्यसैले पनि राजाले पोखरामा पर्यटक अड्याउन विकल्प खोज्दा गणेशले गोवाको अनुभवलाई फेवाताल छेऊ उतारे । 

जाडोको समय केही गर्नुपर्छ भन्ने वीरेन्द्रको भावना र परिकल्पनाकार गणेशको सोचमा लेकसाइड महोत्सव शुरू भयो । यसमा गणेश एक्लै मात्र थिएनन् । २०५२ सालमा स्थापना भएको रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान)का संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङ र उपाध्यक्ष रहेका गणेश भट्टराईको जोडी यसमा लागे । राजा वीरेन्द्रको साथपछि उनकै ५६औं जन्मोत्सवसहित मिलिनियम वर्ष पारेर सन् १९९९ मा लेकसाइड मिनी फेस्टिभल भनेर सडक महोत्सव शुरू भयो । 

स्टाफहरूको एकदिने दौड प्रतियोगिता गरेर शुरू भएको थियो मिनी फेस्टिभल । त्यससमय कोकाकोलाले महोत्सवलाई प्रायोजन गरेको थियो । शुरू महोत्सवको खर्च सात लाख थियो । व्यक्तिगत गरि १५ लाख हाराहारी । त्यस समय उनै भट्टराई महोत्सवको संयोजक थिए । महोत्सवबारे प्रचारप्रसारको उपाय पनि रमाइलो थियो । आफूले सामान प्रयोग गरिरहने कम्पनी मार्फत प्रचारको साथ लिएका थिए । 

‘हामीलाई सामान सप्लाई गर्ने साथीहरू, डेरीको, रारा चाउचाउको जो जो लोकल उत्पादनहरू थिए । जसको सामान रेवानले किन्थ्यो, उहाँहरूसँग यो कार्यक्रमलाई साथ दिनु भनेर कुरा गर्‍यौं । हार्डवयरका, मासुपसलका साथीहरू, जोसँग हामी सामान किन्थ्यौं, यस्तोलाई जम्मा गरेर पोखराको पर्यटन क्षेत्रका लागि सहयोग माग्यौं’, गणेशले भने । 

गणेश भट्टराई ।

शुरूमा २ सय मिटरमा मात्र शुरू भएको महोत्सव अहिले गौरीघाटदेखि खहरेसम्म चल्छ । स्टाफहरूको दौड गरेर एकदिने कार्यक्रमबाट शुरू भएको सडक महोत्सव अहिले खुट्टा राख्ने ठाउँ पाउन मुश्किल पर्छ । 

उतिबेला अन्नपूर्ण पदमार्गको पदयात्रा सकेर पर्यटक पोखरा झर्थे । तर, क्रिसम र भर्खर मात्र चिसो स्याँठको स्वाद चाखेर आएका पदयात्रीको रोजाइ जाडोमा पोखरा बन्थेन । उनीहरू गोवा, थाइल्यान्ड पुग्थे । 

‘पर्यटक गोवा, ब्याङ्कक किन जान्छन् ? त्यतिबेला ब्याङ्कक, बालीमा फूलमुन फेस्टिभल हुन्थ्यो । त्यसपछि सडकमा हामीले शुरू गरेको । मैलै आईडिया लिएर आएपनि संस्थामा ल्याएको आईडिया व्यक्तिगत भन्न मिल्दैन । रेवानले शुरू गरेको हो’, उनले भने ।  

‘हिप्पी पर्यटन’ले पोखराको आर्कषण अन्तराष्ट्रिय बजारमा प्रचार गर्दै थियो । सामाजिक सद्‌भाव समेत बोकेको महोत्सवलाई पर्यटकले रुचाउन थालिरहेका थिए । लेकसाइड महोत्सवले नाम फेर्‍यो । रेवान सडक महोत्सव बनाइयो । सडक महोत्सवले मुहार पनि फेर्दै थियो । यो पोखराको ब्राण्ड बनिसकेको थियो । सातौँ संस्करण पछि पोखरा सडक महोत्सव नामकरण भयो । जुन निरन्तर चलिरहेको छ । 

‘त्यतिबेला म मात्र होइन कार्यसमितिको सदस्य सबै साथमा हुनुहुन्थ्यो । तर, यो कार्यक्रमको परिकल्पनाकार र संयोजक म हुँ । त्यत्ति हो । यो कन्सेप्टलाई साथीहरूले निरन्तरता दिनुभएको छ । यसमा थप क्रियाकलाप र कार्यक्रम थप्नु भएको छ’, उनले भने । 

इतिहास बोकेको सडक महोत्सव द्वन्द्वकाल र कोरोना महामारीको समयमा समेत रोकिएन । द्वन्द्वको समयमा असहज त भोग्नुपर्‍यो नै । तरपनि यसलाई छिलोल्दै कार्यक्रम अघि बढ्यो । सवारीसाधन कहिलेकसो चल्न पाउँथेन । नेपाल घुम्न आउने पर्यटक अलपत्र पर्थे । पदमार्गमा उस्तै असुविधा र असहजता हुन्थ्यो । 

‘राजनीतिक क्रान्तिबाट आर्थिक क्रान्तिमा लाग्नुपर्ने हो । हामी अझै राजनीतिमा नै अल्झिएका छौं । प्रदेशले खेल्नुपर्ने भूमिका खेलेको छैन । जस्तो जे भएपनि नेपाली व्यवसायीको पीआर र सरकारको थोरै भूमिकाले अलिअलि भएपनि पर्यटक आइरहेका छन्’, उनले सुनाए । 

जे होस् सडक महोत्सवले साढे दुई दशक पार गर्दैछ । पुस १३ गते आजदेखि १६ गतेसम्म पोखरा सडक महोत्सवको २५औं संस्करण हुँदैछ । सामाजिक सद्‌भाव, रैथाने उत्पादनको बजारीकरण, गुरुङ र मगर समुदायको संस्कृति, तराईको थारुको संस्कार एकै ठाँउमा हेर्न पाइन्छ । 

नेवारको चटामरी, बाहुन-क्षेत्रीको सेलरोटीको स्वाद यही सडकमा चाख्न पाइन्छ । पप गीतमा झुम्दै हिँडेका युवा पुस्ता पनि यहाँ झुम्मिन्छन् । पर्यटन पर्वका रूपमा आफूलाई उभ्याइरहेको छ- सडक महोत्सवले । 
 

salt training

कमेन्ट गर्नुहोस्