
नेपाल प्रहरीका दुई अतिरिक्त महानिरीक्षक (एआईजी) भरतबहादुर बोहरा र किरण बज्राचार्य उमेर हदका कारण अवकाश भएका छन् । बोहरा र बज्राचार्यको अवकाशसँगै रिक्त पदमा बढुवा हुन प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
चार डीआईजीहरू; जनक भट्टराई, कुवेर कडायत, चन्द्र कुवेर खापुङ र रविन्द्र केसी बढुवाका प्रतिस्पर्धी हुन् । चारै जना बढुवा हुन योग्य मानिन्छन् । उनीहरूले प्रदेश प्रहरी प्रमुखको अनुभव लिइसकेका छन् ।
कडायतले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, खापुङले कोशी, केसीले सुदूरपश्चिम र भट्टराईले मधेश प्रदेशसँगै कर्णाली प्रदेश सम्हालेको अनुभव छ । भट्टराई अहिले कर्णाली प्रदेश प्रहरी प्रमुखको रूपमा कार्यरत छन् ।
कडायतले प्रहरीको प्रवक्ता भएर काम गरिसकेका छन्। खापुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरी प्रमुखको रूपमा काम गरिसकेका अधिकृत हुन् ।
अहिले चारै जना डीआईजीहरूले शक्तिकेन्द्रमार्फत बढुवामा अटाउन सरकारलाई दबाब दिइरहेका छन् । एआईजीको बढुवा मन्त्रिपरिषद्को निर्णयले गर्छ । आगामी बस्ने मन्त्रिपरिषद् बैठकले एआईजी बढुवामा सिफारिस गर्ने तयारी छ ।
अनुभवका हिसाबले डीआईजी भट्टराई बढुवाको प्रमुख दाबेदार मानिन्छन् । कडायत प्रहरी महानिरीक्षक निकट भएर काम गरेकाले उनको पनि पल्लाभारी देखिन्छ । तर, खापुङ र केसीले पनि एआईजीमा बढुवा हुन लबिङ गरिरहेका छन् ।
काठमाडौं उपत्यकामा को आउँछ ?
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख किरण बज्राचार्यको अवकाशसँगै त्यहाँ एआईजी पठाउनुपर्ने हुन्छ । उपत्यकाको कमान्ड सम्हाल्ने चर्चामा रहेका एआईजीहरू टेकबहादुर तामाङ र सुदीप गिरी छन् । तामाङ अपराध अनुसन्धान विभाग र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् ।

एआईजीसम्म पुग्दा राम्रो पोस्टिङ नपाएकामध्येमा एआईजी तामाङ पर्छन् । उनलाई काठमाडौं उपत्यका प्रहरी प्रमुखमा पठाउन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई नैतिक दबाब बढेको स्रोत बताउँछ । डीआईजी हुँदा तामाङले प्रदेश प्रहरी प्रमुखको रूपमा काम गर्न पाएनन् ।
सरकारले दुई जना डीआईजीलाई एआईजीमा बढुवा गरेसँगै पदस्थापन र सरुवा सँगै गर्ने जनाइएको छ । एआईजी केदार ढकालले अवकाश पाएसँगै प्रदेश समन्वय विभागमा कसैलाई पनि पठाइएको छैन ।
उता, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा दुई सातादेखि नेतृत्वविहीन छ । तत्कालीन ट्राफिक प्रमुख, डीआईजी भरतबहादुर बोहरा एआईजीमा बढुवा भएर पनि अवकाश भइसके । डीआईजीले कमान्ड गर्ने ट्राफिक कार्यालयमा अहिले एसपी सञ्जय सिंह राउतले नेतृत्व गरिरहेका छन् ।
गृहसचिव गोकर्णमणि दुवाडीले एआईजीसँगै अन्य दर्जाका प्रहरी अधिकृतहरूको बढुवाको गृहकार्य भइरहेको जानकारी दिए ।
डीएसपी, एसपी र एसएसपीको बढुवामा अझै अन्योल
भदौदेखि खाली भएको दरबन्दी पूर्ति गर्न गृह मन्त्रालयलाई सकस परेको छ । माथिल्ला पदमा धमाधम बढुवा निस्किरहँदा तल्लो तहमा जाम भइरहेको छ । जसले गर्दा बढुवा आकांक्षीहरूमा नैराश्यता छाएको छ ।
हाल एसएसपीमा २०, एसपीमा ३५ र डीएसपीमा ७१ जनाको दरबन्दी खाली छ । एसएसपीको दरबन्दी पूर्ति गर्न नसक्दा केही प्रदेशमा खाली स्थान पूर्ति भएका छैनन् ।
मेरिटमा तल रहेका प्रहरी अधिकृतहरूले बढुवा हुन राजनीतिक दबाब दिएपछि प्रहरी महानिरीक्षक कुँवर बढुवा समितिको बैठक छल्न खोजिरहेको स्रोत बताउँछ । आकांक्षी धेरै र सीट कम हुँदा उल्टै मेरिटमा पछि परेकाले बढुवा गर्न दबाब दिएपछि कुँवरले गृहसचिव दुवाडीसँग परामर्श लिइरहेका छन् ।
‘विगतमा दाग लागेका र राम्रो पर्फमेन्स नभएकाहरू अहिले बढुवामा उक्लिन जोडबल गरिरहेका छन्’, प्रहरी मुख्यालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने,‘तर, आईजीपीसाबले सकभर मेरिटकै आधारमा बढुवा गर्नुपर्ने जनाउ दिइसक्नुभएको छ ।’