२३ असार २०८३, मंगलबार
संघर्ष र सफलता

बादी समुदायका बालबालिका पढाइरहेका ‘हिम्मतवाला’ हिक्मत

पुस १८, २०८१
सुर्खेत
बादी समुदायका बालबालिका पढाइरहेका ‘हिम्मतवाला’ हिक्मत

कर्णाली प्रदेशका अधिकांश जिल्लामा बसोबास गर्ने बादी समुदायको परम्परागत पेशा नाचगान नै हो । नाचगान गरेरै जिविकोपार्जन गर्ने बादी समुदायका व्यक्तिको बसोबास पनि स्थायी हुन्थेन । गाउँदै गाउँगाउँ डुल्ने उनीहरू जहाँ पुग्यो त्यही बसोबास गर्थे । 

तर, अहिले भने धेरैले परम्परागत काम छोडिसकेका छन् । उनीहरूको बसोबास पनि एक ठाउँमा केन्द्रित छ । बसोबास एक ठाउँमा केन्द्रित भए पनि उनीहरूका समस्या भने धेरै छन् । 

न रोजगारी छ, न उनीहरूले शिक्षादीक्षा पाएका छन् । खान/लाउनै समस्या भएपछि बादी समुदायका बालबालिका नियमित विद्यालय जान सक्दैनन् । तर, समुदायका एक युवा भने उनीहरूलाई शिक्षित बनाउने अभियानमा छन् । 

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका– ४ जबमुकाँधमा जन्मेका (२०५०) हिक्मत बादी समुदायका ११० बालबालिकालाई पढाउन कम्मर कसेर लागि परेका छन् । आफ्ना सात बहिनीपछि जन्मेका हिक्मत अहिले आफ्नो समुदायलाई शिक्षित बनाउने अभियानमा लागेका हुन् ।  

जम्बुकाँधमा जन्मे पनि उनी दुल्लु नगरपालिका– १ मा पर्ने तल्लो डुंगेश्वरमा उनी हुर्किए । उनका दुई आमा थिए । कान्छी आमा लिएर बुवा अन्यत्रै गएपछि सात छोरी र दुई छोराको लालनपालन उनकी आमाको काँधमा आएको थियो । आमाले अनेक दुःख गरेर नौ छोराछोरी हुर्काइन् । 

छोराछोरी ठूला हुँदै गएपछि आमालाई केही राहत भयो । दिदीहरूले जंगलबाट दाउरा ल्याएर बेच्न थाले । थोरै आम्दानी भएपछि केही सहज भयो । गाउँका अरू सबै स्कुल जान्थे । दिदीहरूलाई भाइ हिक्मतलाई पनि स्कुल पठाए । उनीहरूले दाउरा बेचेर भाइलाई पढाए । तत्कालीन महादेव प्रावि(हाल मावि)मा उनले तीन कक्षासम्म पढेको उनी सम्झिन्छन् । 

एनका अनुसार समयक्रमसँगै दिदीहरूको बिहे भयो । १३ वर्षकै उमेरमा घरको जिम्मेवारी पनि उनको काँधमा आयो । गाडीमा सामान लोड/अनलोड गर्न थाले । उनी नियमित स्कुल जान पाएनन् । गाडी नआएको दिन उनी माछा मार्न जान्थे । 

null

तीन कक्षा पास गरेपछि उनी तत्कालीन मालिका गाविसको नेरामाविमा भर्ना भए । स्कुल पढ्दाका धेरै रमाइला घटना उनको मानसपटलमा छन् । 
आठ कक्षा सकेपछि उनी ९–१० पढ्न अछामको तत्कालीन रहफ गाउँ विकास समितिस्थित विन्द्रासैनी माध्यमिक विद्यालयमा भर्ना भए । कक्षा ११ र १२ भने उनले दुल्लुस्थित विजया माध्यमिक विद्यालयबाट उत्तीर्ण गरे ।

‘दुल्लुमा अध्ययन गर्दा मैले मासिक शुल्क बुझाउनुपथ्र्यो । मसँग पैसा नै हुन्थेन,’ उनि भन्छन्, ‘वादी समुदायबाट म एक्लै पढ्ने भएका कारण मेरा परिवार (२६) घरले दस/बीस/पचास रुपैंया गरेर हरेक महिना सहयोग गर्थे । शुल्क तिरेरै भए पनि मैले कक्षा १२ उत्तीर्ण गरें ।’

कक्षा १२ उत्तीर्ण गरेसँगै उनी उच्च शिक्षा पढ्न चाहन्थे, तर उनीसँग पैसा थिएन । हुन त उनले १८ महिने जुनियर कम्प्युटर टेक्निसियनमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका थिए ।  तर, विरेन्द्रनगर सुर्खेतमा खान/बस्न समस्या भएपछि राष्ट्रिय प्राविधिक शिक्षालयमा भर्ना पनि भए पनि उनले पढ्न भने सकेनन् । १८ महिने कोर्षमा उनी १८ दिन पनि कलेज गएनन् । 

null

उनलाई धेरै एनजीओ र आइएनजीओले जागिरको अफर पनि नगरेका पनि होइनन्, तर, उनले आफ्नै समुदायका लागि नै केही गर्ने सोच बनाए । उनले वादी समुदायका विद्यार्थीलाई पढाउन काठमाडौंमा लैजाने काम गरे । ६० जनाभन्दा बढीलाई उनले काठमाडौं पढ्न पठाए । तर, त्यहाँ बादी समुदायका भनेर विभेद हुन थालेपछि उनले आफ्नै ठाउँमा केही गर्ने सोच बनाएको बताए । विरेन्द्रनगरमै उनले केही बालबालिकालाई पढाउन थाले । तर, कोरोना महामारीले सबैलाई गाउँ फर्किन बनायो । 

त्यसपछि जमिनको माग गर्दै बादी समुदाय २०७७ फागुन ९ देखि २६ गतेसम्म मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका थिए । सहमति भएपनि हालसम्म कसैले पनि जग्गा भने पाउन नसकेको उनको गुनासो छ ।

त्यही बेला उनले एक नयाँ हायस (गाडी) खरिद गरे । हाइसको आम्दानीबाट उनले मसुरीखेत र पिपिरामा घडेरी पनि किनेका छन् । घडेरी वैंकमा राखेर उनले एक स्टेशनरी र फेन्सी पसल चलाए । उनको आम्दानी महिनाको डेढ लाखसम्म हुन थाल्यो ।

महिनाको डेढ लाख आम्दानी हुने भएपछि उनले २५ जना बालबालिकालाई त्यही आम्दानीबाट पढाउने योजना बनाए । उनले एक होस्टेल सञ्चालनमा ल्याए तर, २५ जनाको अनुमान गरिए पनि विद्यार्थी संख्या ८४ पुग्यो । 

‘बस्नका लागि दुई घर भाडामा लिनुपर्ने अवस्था आयो । दुई घरको भाडा, पानी र बत्तीको गरेर मात्रै १ लाख ४० हजार आउन थाल्यो,’ उनी सम्झन्छन्, ‘आम्दानीले घरभाडा मात्रै पुग्ने भएपछि ८४ जनालाई खाना खुवाउन ऋण खोज्नुपर्‍यो ।’

एकतानगरमा दुई घरको भाडा तिर्न नसकेपछि उनले खाली गरिदिए । त्यसपछि उनका दुःखका दिन शुरू भए । ‘भाडा तिर्न नसकेपछि ठूलो समस्या आयो । घरबेटीले कहिले सामान हुत्याइदिने गर्थे त कहिले रातारात भाडा नतिरेर हामी भाग्थ्यौं । मलाई त फटाहा बनाईसकेका थिए,’ उनी भन्छन्, ‘झण्डै डेढ वर्षमा नै मैले नौ वटा घर बदलेँ । एक घरधनीले त मलाई देउती नर्सिंग होमअघि भेटाएर कानमा हिर्काए, हेल्मेट र मेरो स्कुटी लिएर गए । म पैदलै हिँडेर जान बाध्य भएँ ।’ 

null

त्यहाँसम्म उनले मसुरीखेतको एक घडेरी बेचिसकेका थिए । पिपिराको जग्गा बैंकमा धरौटी थियो । पसल बन्द भइसकेका थिए, गाडी बिक्री गरिसकेका थिए । त्यति गर्दा पनि उनीसँग झण्डै ४४ लाख ऋण थियो ।

‘म त्यतिबेला डिप्रेसनमा गइसकेको थिएँ । मलाई मर्नबाहेक अरू विकल्प छैनजस्तो लाग्थ्यो,’ उनी भन्छन्, बिहान ५ बजे निस्केर राति मात्रै घर आउँथें । बादी समुदायका बालबालिकाका लागि मैले त्यत्रो सर्मपण गर्दा पनि कसैको मन पग्लिएन, प्रदेश सरकारदेखि हरेक निकायमा हारगुहार गरें । कसैले सहयोग गरेनन् ।’

अनि तनाब सकियो 
उनी संकटमा रहेका बेला ‘हेर्ने कथा’को टिम आइपुग्यो । त्यो टिमले मेरो कथा प्रकाशित गरेपछि भने उनलाई सहयोग आउन थाल्यो । ‘सहयोग आउन थालेपछि मलाई अब बाँचेर समुदायका लागि केही गर्नुपर्छ भन्ने लाग्न थाल्यो । सोहीअनुसार वीरेन्द्रनगर नगरविकास समितिसँग जग्गा माग गरें । नगरविकास समितिले जग्गा उपलब्ध गराई दियो । प्रदेश सरकारले ५० लाख बराबरको भवन निर्माणमा सहयोग गर्यो,’ उनले भने, ‘अमेरिका बस्ने अरुण वास्कोटाले हल बनाइदिनुभयो । प्रकृति केसीले एक भवन बनाई दिनुभयो । अमेरिकामै बस्ने अञ्जु कार्कीले एक वर्षसम्म ११० बालबालिकाका लागि मासु र अण्डाको व्यवस्था गर्नुभयो । हालसम्म पनि उहाँहरूले सहयोग जारी राख्नुभएको छ ।’

डा. नवराज केसीले अहिले निरन्तर मासिक २५ हजार रुपैंया सहयोग गरिरहेको उनले बताए । उनका अनुसार बादी सरोकार मञ्च नेपाल नामक संस्थाअन्र्तगत संरक्षित बालबालिकाको संख्या अहिले ११० पुगेको छ । यसअघि यहाँबाट १६ जनाले कक्षा १२ सम्मको अध्ययन पूरागरी फर्किएका छन् । पूजा बादीले एचए, गुराँस बादीले भेटेनरी पास गरिसकेको उनले बताए । 

null

हाल संस्थामा जाजरकोट, दैलेख, बाजुरा, रुकुम र कालिकोटका बालबालिका बस्दै आएका छन् । उनीहरूको शिक्षादीक्षाका लागि सुर्खेतका सबै निजी विद्यालयहरूले दिल खोलेर सहयोग गरेका छन् । यो संस्थाबाट गएका विद्यार्थीबाट प्रतिविद्यार्थी एक हजार बस भाडा मात्रै लिन्छन् । 

अहिले बालबालिका बस्न कुनै समस्या छैन । सुत्न ३० वटा डबल बेडहरू छन् । खाना भान्सा छ । शौचालयको राम्रो व्यवस्था छ भने पानीको पनि समस्या छैन । ‘हामीलाई अब एउटा ठूलो पानी फिल्टर गर्ने मेसिनको आवश्यकता छ । त्यसका अलावा महिनाको २५ हजारभन्दा बढी बिजुली बिल आउने भएका कारण कुनै निकायले विद्युत महसुल तिरिदिएको भए हुन्थ्योजस्तो लाग्छ,’ उनी भन्छन्, ‘किताब र ड्रेसको समस्या नभए पनि बालबालिकालाई स्टेशनरीको आवश्यकता छ । अब प्रदेश सरकार तथा सहयोगी दाताले एक भवन निर्माण गरिदिएको भए हुन्थ्योजस्तो लाग्छ ।’

बच्चाहरूको लुगा धुन समस्या परेको उनले बताए । सबैले स्वयंसेवीको रुपमा काम गरिरहेको उनले बताए । विभिन्न संघसंस्था र सरकारबाट उनले सहयोगको अपेक्षा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्