
सबैतिर उस्तै हुनेरहेछ-
हिउँको रङ सेतो
हिउँको तापक्रम चिसो
देखिने हिमालहरू सबै सेताम्मे ।
भर्जिनिया राज्यको च्यान्टलीमा
हिउँमा गाडी चिप्लेर पोखरीमा खस्दा
चिसोले कठ्याङ्ग्रिएर
दुई प्रवासी नेपाली जीवन अन्त्य भयो
सगरमाथाको नागरिक
भर्जिनियाको चिसोमा
सदाको लागि अस्ताए ।
उनीहरूको जीवन समाप्तिसँगै
नेपाली डिभी सपनाको अन्त्य भएको छ
चिसो हिउँ जस्तै चिसो मन लिएर
कलेटी परेका ओठमा पीडाको कर्णाली बगिरहेछ
अमेरिका र नेपाल दुवैतिर
टोलाइरहेछन् आफन्तहरू
मृत्यु अन्तिम सत्य भएको बुझेर पनि
सम्पन्नताले आफन्त जोगाउन नसकेको पीडामा
अशोच बार्दै गरुड पुराण सुनिरहेछन् !
सुनेको थिएँ-
आगोको देश हुँदैन
आगोको सिमाना हुँदैन भनेर
साँच्चै हो रहेछ
अमेरिकाको क्यालिफोर्नियामा
सल्केको आगोले ११ जनाको ज्यान लिएको छ
लस एन्जलसका केही भागमा
भीषण डढेलोपछि रात्रिकालीन कर्फ्यू जारी छ।
मान्छेका लागि सर्वप्रिय बस्तु जीवन रहेछ
भीषण डढेलोका कारण शहरबाट
धन, सम्पति र दौलत सबै छोडेर
नागरिकलाई बाहिरिनुपर्ने आदेश
सरकार अनिवार्य रूपमा निरन्तर दिन्छ
डेढ लाखभन्दा धेरै मानिसहरू शहर छोडेर
उद्धारको प्रतीक्षामा छन्!
दिनहुँजसो प्रहरीले
आपराधिक गतिविधि नगर्न चेतावनी दिन्छ
दर्जन सन्दिग्ध लुटेराहरूलाई पक्राउ पर्छन्
अझै रोकिएको छैन अपराध- सपनाको देश अमेरिकामा
प्राकृतिक विपत्ति र मानवीय संकटमा छ ।
जलवायु परिवर्तनको असर सबैतिर छ
कतै खाएको बीष लाग्छ, कतै नखाएको लाग्छ
शाश्वत सत्य मृत्यु सबैतिर छ
नेपाल, भारत,चीन ,जापान, रुस ,युक्रेन
दक्षिण कोरिया, उत्तर कोरिया,अमेरिका सबैतिर
कतै अतिवाद छ, कतै आतंकवाद छ
जोड, घटाउ, गुणा या भाग गर
यो गणितको सूत्र न हो
हलाल गर या गोली ठोक
मृत्यु जीवनको अन्त्य न हो
के इराकी आतंकवादी, के नेपाली सुरक्षाकर्मी
रातो टाटो सीमावारी, सीमापारी फरक आखिर यति न हो
आगोमा जल्नु, हिउँमा कठ्याङ्ग्रिनु,समुन्द्री आदिमा बेपत्ता हुनु
कर्मको खेल, भावीको लेखा चिनाको ग्रहदशा
खै के भन्न सकिन्छ
को कतिखेर कहाँ के हुने हो !?
(मा. घनश्याम भण्डारी, दुल्लु नगरपालिका-८, दैलेख । भण्डारी कर्णाली प्रदेश सामाजिक विकास मन्त्री समेत हुन्)