
निर्देशक दिनेश राउतको आठौं चलचित्र ‘महाभोज’को मुहूर्त गरिएको छ । कलाकारको जम्बो टोलीको अभिनय रहने ‘महाभोज’को मंगलबार मुहूर्त पूजा गरिएको हो ।
मंगलबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको टिम सहभागी रही विशेष पूजा गरिएको हो ।
पूजामा चलचित्रका कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायत उपस्थित थिए ।
पोखरा आसपासका क्षेत्रमा करिब ४५ दिन छायांकन हुने यो चलचित्रको टिम बुधबार त्यसतर्फ जाने बताइएको छ । पछिल्लो चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका दिनेश राउतले आठौं चलचित्रको रूपमा ‘महाभोज’ निर्देशन गर्न लागेका हुन् ।

निर्देशक राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेविरुद्धको विद्रोही अभियान रहेको बताए । ‘महाभोजको कथा समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको हो । मैले यस चलचित्रमार्फत नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्त्व देखाउने प्रयास गर्नेछु’, राउतले भने, ‘देशमा भइरहेका प्रणालीविहीन कामहरूको विरुद्ध जब नागरिकको सहनशीलताको बाँध टुट्छ, समाजले कस्तो रूप लिन्छ भन्ने कथाले देखाउने छ ।’
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुने यो चलचित्रका निर्माताले यसअघि ‘नाङ्गो गाउँ,’ ‘दुखी आत्मा’जस्ता चलचित्रहरूको निर्माण गरेका हिमाल कडरिया हुन् । कार्यकारी निर्माताहरू किरण नेपाली र सुदीप ढकाल हुन् ।

चलचित्रलाई यसअघि ‘प्रकाश’ र ‘पुजार सार्की’ लेखेका विकास सुवेदीले लेखेका छन् भने छायाँकार राजेश श्रेष्ठ हुन् । सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ ।