
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथलगत्तै निवर्तमान राष्ट्रपति जो बाइडेनका ७८ वटा निर्णयलाई उल्ट्याएका छन् । शपथपछि क्यापिटल वन एरिना पुगेका उनले बाइडेनका निर्णयहरू उल्टाउनेसहित धेरै कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन् ।
उनले पेरिस जलवायु सम्झौताबाट बाहिरिने घोषणा गरेका छन् । आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले अमेरिकालाई यस सम्झौताबाट बाहिर निकालेका थिए, जुन पछि बाइडेनले उल्टाएका थिए । यति मात्र होइन ट्रम्पले अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।
ट्रम्पले एलजीबीटीक्यु (तेस्रो) लिङ्गी समुदायलाई समानता दिने बाइडेनको आदेशलाई उल्ट्याएका छन् ।
उनले जनवरी ६ मा भएको हिंसाका दोषीहरूलाई माफी दिने र रिहा गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले जनवरी ६, २०२१ को हिंसाका दोषीहरूलाई माफी दिने वाचा गरेका थिए।
यसैगरी विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई निष्कासन गर्ने आदेशमा समेत उनले हस्ताक्षार गरेका छन् ।
ट्रम्पले फेब्रुअरी १ देखि क्यानडा र मेक्सिकोमा नयाँ कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले छिमेकीहरूमाथि २५ प्रतिशतसम्म कर लगाउने बताएका छन् ।
ट्रम्पले दक्षिणी अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका छन् । ट्रम्पले यहाँबाट अवैध प्रवेशमा प्रतिबन्ध लगाउने बताएका छन् । अपराध गर्ने विदेशीलाई आफ्नो देशमा फिर्ता पठाउने ट्रम्पको भनाइ छ । अधिकांश अवैध आप्रवासी यही सीमाबाट अमेरिका प्रवेश गर्छन् ।
ट्रम्पले यो सिमानामा पर्खाल बनाउने कुरा पनि गरेका थिए । अमेरिका–मेक्सिको सीमाबाट आउने अवैध आप्रवासीको बढ्दो संख्या अमेरिकामा ठूलो राजनीतिक मुद्दा बनेको छ ।
ट्रम्पले संघीय रोजगारीका लागि भर्तीमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका छन्। तर, सेना भर्तीलाई भने छुट दिइएको छ ।
ट्रम्पले सबै संघीय कर्मचारीहरूलाई कार्यालयमा आएर काम गर्न आदेश दिएका छन् । उनीहरूलाई घरबाट काम गर्न प्रतिबन्ध लगाइएको छ ।
उनले क्युबालाई फेरि आतंकवादलाई बढावा दिने देशहरूको सूचीमा राखेका छन् । बाइडेनले यसै महिना क्युबालाई यो सूचीबाट बाहिर राखेका थिए । ट्रम्पले औषधिको मूल्य घटाउने आदेश पनि उल्टाइदिएका छन् ।
ट्रम्पले मेक्सिकोको खाडीको नाम बदलेर गल्फ अफ अमेरिका गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन् ।
ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अमेरिकालाई फिर्ता लिने घोषणा गरेका छन् । ट्रम्पले कोभिड–१९ को समयदेखि नै डब्ल्यूएचओको आलोचना गर्दै आएका छन् । ट्रम्पले सन् २०२० को जुलाईमा अमेरिकालाई डब्ल्यूएचओबाट औपचारिक रूपमा बाहिर निकालेका थिए । उनले कोभिड–१९ को फैलावट रोक्न डब्लूएचओको असफलता नै यसको कारण भएको बताए ।
डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने कुरा गरेका छन् । ट्रम्पले आजदेखि अमेरिकी सरकारका लागि दुई लिंग मात्र हुने बताएका छन् ।
ट्रम्पले पानामा नहर फिर्ता लिने बताएका छन् । हाल चीनले पानामा नहर सञ्चालन गरिरहेको छ। ट्रम्पले आफ्नो सरकारले ग्रीन न्यू डिल अन्त्य गर्ने बताएका छन्। ग्रीन न्यू डीलले स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने कुरा गर्छ। ट्रम्पले विद्युतीय सवारी साधनको आवश्यकता हटाउने कुरा पनि गरेका छन् ।
ट्रम्पले मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने घोषणा गर्दै अमेरिकाले मंगल ग्रहमा पनि आफ्नो झण्डा फहराउने बताए । उनले मंगल ग्रहमा अमेरिकी ताराको झण्डा रोप्न अन्तरिक्ष यात्री पठाउने बताए । ट्रम्प समर्थक र स्पेसएक्सका मालिक एलोन मस्कले धेरै पटक पृथ्वीबाहिर नयाँ मानव बस्ती स्थापना गर्ने कुरा गरेका छन् ।
ट्रम्पले पुटिनसँग भेट्ने बताएका छन् । उनी युक्रेन युद्ध अन्त्य गर्न चाहन्छन् । राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने प्रक्रिया शुरू भइसकेको र कुराकानीको व्यवस्था भइरहेको बताए।
उम्मेदवारका रूपमा उनले पद सम्हालेको २४ घण्टाभित्र युक्रेन युद्ध समाप्त गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले अझै आधा दिन बाँकी रहेको बताए।
ट्रम्पले अमेरिकालाई फेरि महान् बनाउने बताए । आफ्नो पहिलो भाषणमा उनले भने, 'अमेरिकाको स्वर्ण युग भर्खरै शुरू भएको छ। अब हाम्रो देश फेरि समृद्ध र विश्वभर सम्मानित हुनेछ। म केवल अमेरिकालाई पहिलो स्थान दिनेछु। हाम्रो सुरक्षा पुनर्स्थापित हुनेछ। त्यसपछि न्यायको तराजु सन्तुलित हुनेछ। हामी अमेरिकालाई फेरि महान बनाउनेछौं।'
जेन्सीहरूको सहयोगमा