
पोखराको प्रमुख पर्यटकीयस्थलमध्येको एक पाताले छाँगोमा सिसाको पुललगायतका संरचना निर्माण गर्ने विषयको विवाद फेरि निम्तिएको छ । विवादका कारण १४ दिनदेखि छाँगो प्रवेशद्वारमा ताला झुण्डिएको छ । जसका कारण पोखरा घुम्न पुगेका आन्तरिक तथा बाह्य पर्यटकले यहाँ प्रवेश पाएका छैनन् ।
पोखरा महानगरपालिकाका निवर्तमान प्रमुख मानबहादुर जिसीले जाँदाजाँदै निजी क्षेत्रलाई ४० वर्षका लागि छाँगो क्षेत्र भाडामा दिने योजना अघि सारेपछि विवाद शुरू भएको थियो । २०७८ साउनमा महानगरले सार्वजनिक निजी साझेदारी (सनिसा) अन्तर्गत निजी कम्पनी सेती क्यानोनिङसँग सम्झौता गरेको थियो । तर, विवाद र विरोधकाबीच उक्त काम अघि बढ्न सकेन ।
महानगरका वर्तमान प्रमुख धनराज आचार्य नेतृत्वको १७औं कार्यपालिका बैठकले सोही योजनालाई पुनः अघि बढाउने निर्णय गर्यो । हाल पाताले छाँगोको आम्दानी छोरेपाटन माध्यामिक विद्यालयले लिँदै आएको छ । महानगरले आफ्नो मातहत छाँगो ल्याउन खोजेपछि परियोजनाको विषय फेरि एकपटक बाहिरिएको हो ।
छाँगोबाट भएको आम्दानीमा अपारदर्शिता, महालेखा परीक्षकको कार्यालयले देखाएको बेरुजू र प्राकृतिक स्रोतमा महानगरको अधिकारको विषय त छँदैछ । तर, महानगरले निजी क्षेत्रसँग सम्झौता गरेर अघि बढाउन खोजेको परियोजना कति सुरक्षित र व्यावहारिक छ भन्ने चाहिँ सोचनीय विषय बनेको सरोकारवालाहरू बताउँछन् ।
किनकी छोरेपाटन क्षेत्रको भौगर्भिक संवेदनशीलता संरचना निर्माणका लागि चुनौतीपूर्ण छ । यहाँ छाँगोमाथि सिसाको पुल, म्युजिकल फाउन्टेन, सेल्फीपोइन्ट, बगैँचा, कृत्रिम झरना, टनल र इलिभेटर, क्याफे तथा बालबालिका पार्क बनाउने योजना बनाएको छ । [हेर्नुहोस् परियोजना कम्पोनेन्ट]

के भन्छन् भूगर्भविद् ?
सन् १९९८ मा नेपाल खानी तथा भूगर्भ विभाग र जर्मनीको ‘फेडरल इन्स्टिच्यूट फर जियोसाइन्स एण्ड नेचुरल रिसोर्सेज’ले अध्ययन गरेको थियो । पोखरा उपत्यकाको इन्जिनियरिङ र वातावरणीय नक्साको सो प्रतिवेदनले निर्माणपूर्व अनुसन्धान र विचार गरिनुपर्ने र ठूला संरचना बनाउन नहुने सुझाव प्रस्तुत गरेको छ ।
‘पोखरा छोरेपाटन क्षेत्रको भौगर्भिक संवेदनशीलता र भूउपयोगसँग जोडिएका चिन्ताहरू’ अध्ययनले पनि उल्लेख गर्छ, ‘छोरेपाटनको समग्र क्षेत्र जो सेती नदीमार्फत निक्षेपित गेगरले पुरिएको भाग हो । त्यसको भौगोलिक संवेदनशीलता संरचना निर्माणका निमित्त जोखिमपूर्ण छ ।’
२०७१ मा प्रकाशित यो अध्ययनले सन् १९९८ को प्रतिवेदनको सुझावलाई दोहोर्याउँछ । छोरेपाटनको धेरै भूभाग गुफा र भूंगानहरूले भरिएको अध्ययनमा उल्लेख छ । नक्साको प्रतिवेदनमा यस क्षेत्रमा चार स्थानमा भूंगान रहेको देखाउँछ ।

‘घाचोक फर्मेसन’ भाग मानिने यो क्षेत्र भौगोलिक हिसाबले संवेदनशील छ । भूगर्भविद् कृष्ण केसी विस्तृत अध्ययन गरेर संरचना निर्माण गर्नुपर्ने सुझाउँछन् ।
‘संरचना बनाउँदा भौगर्भिक संवेदशीलतालाई मध्यनजर गरेर बनाउनु पर्यो । अध्ययन गरेको छ कि छैन ? सोएल टेष्टदेखि त्यसको रिपोर्ट छ कि छैन ? मानव निर्मित संरचना बनाउने भनेपछि विस्तृत भौगर्भिक नक्सा हुनुपर्यो,’ केसीले भने ।
यस्तै, द एटलास अफ ग्रेट केब्स अफ द वर्ल्डमा उल्लेख भए अनुसार गुप्तेश्वर गुफाको ६ वटा प्रवेशद्वार छन् । गुप्तेश्वर गुफा पाताले छाँगोको अघि रहेको छ । गुप्तेश्वर गुफामा पर्यटक पुग्दा दुई थरीको टिकट पाइन्छ । एक गुफाको बीच भाग मन्दिरसम्म । अर्को, त्यो भन्दा अझै तल जहाँबाट पाताले छाँगोबाट खसेको पानी गुप्तेश्वर गुफा नजिकै जमिनमुनि गएको देख्न सकिन्छ ।
भूगर्भविद् श्रीकमल द्विवेदी पनि यस क्षेत्रमा संरचना बन्नुअघि अध्ययन गर्नुपर्ने सुझाउँछन् । ‘पाताले छाँगोको तल सबै गुफा नै गुफा छ । मुनिपट्टि गुप्तेश्वरबाट जाँदा सबै खोक्रो छ । प्राविधिक अध्ययन गर्नुपर्छ’, उनले भने, ‘त्यो संवेदनशील क्षेत्र हो । हाम्रो आँखाले नै देखेको खोक्रो छ । माथि कतिसम्म लोड दिनुहुन्छ ? भोलिको दिनमा के हुन्छ ? गहन अध्ययन नगरिकन संरचना बनाउनु ठीक होइन ।’

विस्तृत अध्ययनमार्फत जमिनको भार क्षमताबारे जानकारी लिनुपर्ने द्विवेदी बताउँछन् । ‘गुप्तेश्वर गुफा जहाँबाट हामी छिर्छौं, वास्तवमा भन्ने हो भने त्यो नै एउटा सिंकहोल हो । त्यो खसेर पछि चुनढुंगा जमेर कडा भएर गएको हो । त्यो भूंगान अहिले होइन परापूर्वकालमा बनेको हो । त्यसको भारवान क्षमता कति छ विस्तृत अध्ययन चाहिँ हुनुपर्छ । लगानीको पनि सुरक्षा र मानवीय दुर्घटना नहुने अवस्था सिर्जना गर्नुपर्छ’, द्विवेदीले भने ।
महानगरसँग सम्झौता गरेको सेती क्यानोनिङ प्रालिका प्रमुख कर्केन गुरुङ पूर्व सम्भाव्यता अध्ययन भइसकेको बताउँछन् ।
‘हामीले माटो जाँच हाइड्रोलोजी, ढुंगाको जाँच सबै गरेका छौं । मिटिगेसनको दुई/तीन वटा अप्सन हामीले देखाएको छौँ । हाम्रो त्यो बेलाको अध्ययन अनुसार बन्नुपर्ने भन्ने छ । डिपिङ सर्भे नगरेको भएर बाँकी अझै प्रष्ट हुनेछ । संवेदनशील भन्दैमा त्यति साह्रै होइन । पाताले छाँगोको वरिपरि संरचना छ’, उनले भने ।
पूर्व सम्भाव्यताको अध्ययन गरेको दाबी गर्ने गुरुङले १९८९ को अध्ययन ‘गार्बेज’ भइसकेको बताउँछन् । उनले ‘गार्बेज’ बताउने सो अध्ययन एक मात्र प्रतिवेदन हो, जसमा विस्तृत रूपमा पोखराको जमिनबारे अध्ययन गरिएको छ ।
‘संसारमा असम्भव भन्ने छैन । १९९८ को रिपोर्ट त गार्बेज हो । संसार अहिले कहाँ पुगिसक्यो । संरचनागत म्याट्रिल यति विकास भइसक्यो । असम्भव भन्ने संसारमा केही छैन । गार्बेज रिपोर्ट होइन कि अब नयाँ टेक्नोलोजीले बनाउने हो’, लोकान्तरसँग भने ।