२६ असार २०८३, शुक्रबार
पोखरा महानगर–नागरिक विवाद

पाताले छाँगो क्षेत्रमा नयाँ संरचना बनाउने महानगरको तयारी, संवेदनशील क्षेत्र भन्दै शुरू भयो विरोध

प्रमुख पर्यटकीय गन्तव्यमा १४ दिनदेखि तालाबन्दी
माघ १४, २०८१
पाेखरा
पाताले छाँगो क्षेत्रमा नयाँ संरचना बनाउने महानगरको तयारी, संवेदनशील क्षेत्र भन्दै शुरू भयो विरोध

पोखराको प्रमुख पर्यटकीयस्थलमध्येको एक पाताले छाँगोमा सिसाको पुललगायतका संरचना निर्माण गर्ने विषयको विवाद फेरि निम्तिएको छ । विवादका कारण १४ दिनदेखि छाँगो प्रवेशद्वारमा ताला झुण्डिएको छ । जसका कारण पोखरा घुम्न पुगेका आन्तरिक तथा बाह्य पर्यटकले यहाँ प्रवेश पाएका छैनन् ।

पोखरा महानगरपालिकाका निवर्तमान प्रमुख मानबहादुर जिसीले जाँदाजाँदै निजी क्षेत्रलाई ४० वर्षका लागि छाँगो क्षेत्र भाडामा दिने योजना अघि सारेपछि विवाद शुरू भएको थियो । २०७८ साउनमा महानगरले सार्वजनिक निजी साझेदारी (सनिसा) अन्तर्गत निजी कम्पनी सेती क्यानोनिङसँग सम्झौता गरेको थियो । तर, विवाद र विरोधकाबीच उक्त काम अघि बढ्न सकेन । 

महानगरका वर्तमान प्रमुख धनराज आचार्य नेतृत्वको १७औं कार्यपालिका बैठकले सोही योजनालाई पुनः अघि बढाउने निर्णय गर्‍यो । हाल पाताले छाँगोको आम्दानी छोरेपाटन माध्यामिक विद्यालयले लिँदै आएको छ । महानगरले आफ्नो मातहत छाँगो ल्याउन खोजेपछि परियोजनाको विषय फेरि एकपटक बाहिरिएको हो । 

छाँगोबाट भएको आम्दानीमा अपारदर्शिता, महालेखा परीक्षकको कार्यालयले देखाएको बेरुजू र प्राकृतिक स्रोतमा महानगरको अधिकारको विषय त छँदैछ । तर, महानगरले निजी क्षेत्रसँग सम्झौता गरेर अघि बढाउन खोजेको परियोजना कति सुरक्षित र व्यावहारिक छ भन्ने चाहिँ सोचनीय विषय बनेको सरोकारवालाहरू बताउँछन् ।

किनकी छोरेपाटन क्षेत्रको भौगर्भिक संवेदनशीलता संरचना निर्माणका लागि चुनौतीपूर्ण छ । यहाँ छाँगोमाथि सिसाको पुल, म्युजिकल फाउन्टेन, सेल्फीपोइन्ट, बगैँचा, कृत्रिम झरना, टनल र इलिभेटर, क्याफे तथा बालबालिका पार्क बनाउने योजना बनाएको छ । [हेर्नुहोस् परियोजना कम्पोनेन्ट]

null

के भन्छन् भूगर्भविद् ? 
सन् १९९८ मा नेपाल खानी तथा भूगर्भ विभाग र जर्मनीको ‘फेडरल इन्स्टिच्यूट फर जियोसाइन्स एण्ड नेचुरल रिसोर्सेज’ले अध्ययन गरेको थियो । पोखरा उपत्यकाको इन्जिनियरिङ र वातावरणीय नक्साको सो प्रतिवेदनले निर्माणपूर्व अनुसन्धान र विचार गरिनुपर्ने र ठूला संरचना बनाउन नहुने सुझाव प्रस्तुत गरेको छ ।

‘पोखरा छोरेपाटन क्षेत्रको भौगर्भिक संवेदनशीलता र भूउपयोगसँग जोडिएका चिन्ताहरू’ अध्ययनले पनि उल्लेख गर्छ, ‘छोरेपाटनको समग्र क्षेत्र जो सेती नदीमार्फत निक्षेपित गेगरले पुरिएको भाग हो । त्यसको भौगोलिक संवेदनशीलता संरचना निर्माणका निमित्त जोखिमपूर्ण छ ।’

२०७१ मा प्रकाशित यो अध्ययनले सन् १९९८ को प्रतिवेदनको सुझावलाई दोहोर्‍याउँछ । छोरेपाटनको धेरै भूभाग गुफा र भूंगानहरूले भरिएको अध्ययनमा उल्लेख छ । नक्साको प्रतिवेदनमा यस क्षेत्रमा चार स्थानमा भूंगान रहेको देखाउँछ । 

तस्वीर : नेपाल खानी तथा भूगर्भ विभाग

‘घाचोक फर्मेसन’ भाग मानिने यो क्षेत्र भौगोलिक हिसाबले संवेदनशील छ । भूगर्भविद् कृष्ण केसी विस्तृत अध्ययन गरेर संरचना निर्माण गर्नुपर्ने सुझाउँछन् ।

‘संरचना बनाउँदा भौगर्भिक संवेदशीलतालाई मध्यनजर गरेर बनाउनु पर्‍यो । अध्ययन गरेको छ कि छैन ? सोएल टेष्टदेखि त्यसको रिपोर्ट छ कि छैन ? मानव निर्मित संरचना बनाउने भनेपछि विस्तृत भौगर्भिक नक्सा हुनुपर्‍यो,’  केसीले भने । 

यस्तै, द एटलास अफ ग्रेट केब्स अफ द वर्ल्डमा उल्लेख भए अनुसार  गुप्तेश्वर गुफाको ६ वटा प्रवेशद्वार छन् । गुप्तेश्वर गुफा पाताले छाँगोको अघि रहेको छ ।  गुप्तेश्वर गुफामा पर्यटक पुग्दा दुई थरीको टिकट पाइन्छ । एक गुफाको बीच भाग मन्दिरसम्म । अर्को, त्यो भन्दा अझै तल जहाँबाट पाताले छाँगोबाट खसेको पानी गुप्तेश्वर गुफा नजिकै जमिनमुनि गएको देख्न सकिन्छ । 

भूगर्भविद् श्रीकमल द्विवेदी पनि यस क्षेत्रमा संरचना बन्नुअघि अध्ययन गर्नुपर्ने सुझाउँछन् । ‘पाताले छाँगोको तल सबै गुफा नै गुफा छ । मुनिपट्टि गुप्तेश्वरबाट जाँदा सबै खोक्रो छ । प्राविधिक अध्ययन गर्नुपर्छ’, उनले भने, ‘त्यो संवेदनशील क्षेत्र हो । हाम्रो आँखाले नै देखेको खोक्रो छ । माथि कतिसम्म लोड दिनुहुन्छ ? भोलिको दिनमा के हुन्छ ? गहन अध्ययन नगरिकन संरचना बनाउनु ठीक होइन ।’

null

विस्तृत अध्ययनमार्फत जमिनको भार क्षमताबारे जानकारी लिनुपर्ने द्विवेदी बताउँछन् । ‘गुप्तेश्वर गुफा जहाँबाट हामी छिर्छौं, वास्तवमा भन्ने हो भने त्यो नै एउटा सिंकहोल हो । त्यो खसेर पछि चुनढुंगा जमेर कडा भएर गएको हो । त्यो भूंगान अहिले होइन परापूर्वकालमा बनेको हो । त्यसको भारवान क्षमता कति छ विस्तृत अध्ययन चाहिँ हुनुपर्छ । लगानीको पनि सुरक्षा र मानवीय दुर्घटना नहुने अवस्था सिर्जना गर्नुपर्छ’, द्विवेदीले भने । 

महानगरसँग सम्झौता गरेको सेती क्यानोनिङ प्रालिका प्रमुख कर्केन गुरुङ पूर्व सम्भाव्यता अध्ययन भइसकेको बताउँछन् । 

‘हामीले माटो जाँच हाइड्रोलोजी, ढुंगाको जाँच सबै गरेका छौं । मिटिगेसनको दुई/तीन वटा अप्सन हामीले देखाएको छौँ । हाम्रो त्यो बेलाको अध्ययन अनुसार बन्नुपर्ने भन्ने छ । डिपिङ सर्भे नगरेको भएर बाँकी अझै प्रष्ट हुनेछ । संवेदनशील भन्दैमा त्यति साह्रै होइन । पाताले छाँगोको वरिपरि संरचना छ’, उनले भने । 

पूर्व सम्भाव्यताको अध्ययन गरेको दाबी गर्ने गुरुङले १९८९ को अध्ययन ‘गार्बेज’ भइसकेको बताउँछन् । उनले ‘गार्बेज’ बताउने सो अध्ययन एक मात्र प्रतिवेदन हो, जसमा विस्तृत रूपमा पोखराको जमिनबारे अध्ययन गरिएको छ । 

‘संसारमा असम्भव भन्ने छैन । १९९८ को रिपोर्ट त गार्बेज हो । संसार अहिले कहाँ पुगिसक्यो । संरचनागत म्याट्रिल यति विकास भइसक्यो । असम्भव भन्ने संसारमा केही छैन । गार्बेज रिपोर्ट होइन कि अब नयाँ टेक्नोलोजीले बनाउने हो’, लोकान्तरसँग भने । 

salt training

कमेन्ट गर्नुहोस्