
नेपाली कांग्रेस संसदीय दलको बैठकमा नेताहरू ‘अनावश्यक घोचपेच’मा उत्रिएपछि आरोप-प्रत्यारोप चलेको छ । माघ १८ गतेदेखि शुरू हुने संसद् अधिवेशनअघि बसेको संसदीय दलको बैठकमा मन्त्रीको कार्यसम्पादन, सांसदको भूमिकादेखि पार्टी कामसम्मका विषयमा नेताहरूबीच आरोप-प्रत्यारोप चलेको हो ।
आइतबार अध्यादेशका विषयमा तीन विज्ञ, राजनीतिक संयन्त्रबारे महामन्त्री गगन थापा र सरकारका कामबारे गृहमन्त्री रमेश लेखकले बिफ्रिङ गरेका थिए । आइतबार सांसदले बोल्ने क्रम शुरू नभएपछि सोमबार उनीहरूको गुनासो सुन्नका लागि समय छुट्याइयो ।
सभापति एवं संसदीय दलका नेता शेबहादुर देउवाले रचनात्मक भएर आफ्ना कुरा राख्न सांसदलाई समय दिए । छुट्याइएको समयमा सोमबार कांग्रेसका झण्डै २० सांसदले बोले । पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीदेखि चन्द्र भण्डारी, विमलेन्द्र निधि, शंकर भण्डारी, राजेन्द्र केसी, हृयदराम थानी, सरिता प्रसाईं, दीपक गिरी, वीरबहादुर बलायर, सञ्जय गौतम, प्रतिमा गौतम, रामकृष्ण यादवसहितले बोले ।
तर, अधिकांश सांसदहरूले गुटगत, समूहगत कुरा राखे । मन्त्री नपाएको भन्दै बैठकमा असन्तुष्टि व्यक्त गरे । सरकारका कामलाई प्रभावकारी बनाउने, सदनमा रचनात्मक बन्नेभन्दा एक अर्काको कमजोरी देखाउने र आरोपित गर्नेमा बैठक केन्द्रित भएको एक नेताले जानकारी दिए ।
‘मन्त्री हुन नपाएकाले मन्त्रीको विरोध गर्ने, पार्टीको इतर पक्षले अध्यादेशदेखि एमालेसँगको समीकरणको विरोध गर्नेसम्मको स्थिति बैठकमा देखियो’, एक सांसदले भने, ‘कतिसम्म भने बिचौलियासँगै हरेक बखत उठबस गर्नेले मन्त्रीले घुस लिएको प्रमाण छ समेत भनेपछि बैठकमा चर्काचर्कीसम्म भएको छ ।’
बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले पनि बैठकमा अध्यादेश र समसामयिक विषयमा सांसदहरूले खुलेर कुरा राखेको जानकारी दिए ।
‘१८ सांसदले संसद् अधिवेशनमा प्रस्तुत हुने विषय, अध्यादेश, समसामयिक राजनीतिक विषयमा धारणा राख्ने र कतिपय विषयमा सांसदले प्रश्न उठाउनुभएको छ’, घिमिरेले भने, ‘माननीय सदस्यहरूबाट महत्त्वपूर्ण विचार आएका छन् । बाँकी सदस्यले संसद् अधिवेशन शुरू हुने दिनकै बिहान साढे ८ बजेको बैठकमा धारणा राख्नुहुन्छ ।’
सांसद रामहरि खतिवडाले मुस्कानसहितको नतिजा दिने भनिएपछि मन्त्रीहरूले काम नगरी सुख नपाउने बताए । ‘भन्नलाई मुस्कानसहितको सेवा भन्ने छ तर, मन्त्री मात्रै मुस्कुराउने सांसद ट्वाँ पर्ने हुनुभएन भनेर मैले कुरा उठाएँ’, खतिवडाले भने, ‘अरु सांसदले पनि संयुक्त सरकारमा भएपछि प्रभावकारी भएर काम गर्नुपर्छ भन्ने कुरा उठाउनुभयो ।’
बैठकमा संस्थापन इतर पक्षका नेताले मन्त्रीमाथि लाञ्छना लगाउनेसम्मको काम गरेको एक सांसदले जानकारी दिए । ‘केही मन्त्रीले काम गर्न खोजेको नदेखिएको होइन र तर, कतिपयले पपुलिष्ट हुने गरी मात्रै काम गरेको भनेर आरोप पनि खेपे’, तीन सांसदले भने, ‘मन्त्रीहरूले घुस लिएको प्रमाण छ भनेर राजेन्द्र बजगाईंले भनेपछि बैठकमा एकपटक सन्नाटासमेत छायो ।’
बजगाईंले मात्रै होइन अर्का सांसद चन्द्र भण्डारीले अध्यादेशबारे युवा नेताहरूले पढाउन खोजेको भन्दै महामन्त्री गगन थापालाई व्यंग्य गरे । ‘केही बाबुहरू अध्यादेशको प्रावधानबारे हामीलाई पढाउन आउनुभएको छ’, भण्डारीले गगन र उनको टिमप्रति व्यंग्य गर्दै भने, ‘हामीलाई यसरी पढाउने र सिकाउने नगरे हुन्छ ।’
जाइलागे बलायर
भण्डारी र अर्का नेता सञ्जय गौतमले समेत प्रमुख सचेत श्याम घिमिरेको कार्यसम्पादनमाथि प्रश्न उठाएका थिए । बैठकमा भण्डारी, बजगाईं र सुनिल शर्मासहितका सांसदले पार्टीको लाइन र नेतामाथि आधारहीन आरोप लगाएको भन्दै सांसद वीरबहादुर बलायर जाइलागेका थिए ।
‘प्रमुख सचेतकले स्वाभाविक हिसाबमा संसद् बैठक र समितिमा सांसदको उपस्थिति निराशाजनक भयो भनेर कुरा उठाउनुभयो । तर, हाम्रा माननीय सांसदहरू आफैं बैठकमा उपस्थित नहुने, समितिको बैठकमा भाग नलिने र भोटिङमा समेत अनुपस्थित हुने हर्कत गरिरहनु भएको छ’, बलायरले भने, ‘ठूलो पार्टी सरकारमा छ । सबैभन्दा धेरै सांसद र समितिमा सदस्य हुने पार्टीका सांसदको यही ताल हो ? विधेयकका छलफलमा भाग नलिने, हाजिर लगाएर हिँड्दिने अनि तलबभत्ता पचाइदिने ! समितिमा कोरम नपुग्ने स्थिति छ । चर्को स्वरले बतासे कुरा गर्ने कि आफैंलाई सुधार्ने ?’
अर्थतन्त्र चलायमान बनाएर केही नतिजा दिने गरी गरी सरकार लागेको विषयमा आपत्ति जनाउन नहुने बलायरले बताए ।
‘संसद् बैठकमा उपस्थित भएर कानून बनाउने, विधेयक पास गराउने कुरामा सांसदलाई रुचि छैन । कोरम पुग्ने गरी उहाँहरू आउनुहुन्न’, बलायरले भने, ‘सरकारले केही गरेन पनि भन्ने अनि अर्थतन्त्र चलायमान बनाउन र कानूनी झन्झट हटाउने गरी ल्याइएका अध्यादेशको विरोध गर्नु आफैंमा विरोधाभाष छ ।’
अध्यादेशमा केही कमजोरी भए छलफल गरेर हटाउन र सुधार गर्न सकिने उनले बताए । पार्टीको झण्डामुनि बसेपछि अर्को पार्टीका नेतालाई रिझाउने परिपाटी बन्द गर्न उनले चेतावनी नै दिए ।
‘हाम्रा नेता माओवादीसँग हामी हुँदा एमालेसँग सरकार बनाउनुपर्छ भनेर लागे । एमालेसँग सरकार बनेपछि फेरि आलोचना गर्न थालेका छन्’, बलायरले भने, ‘कुन नैतिकताले बोलेको मान्यहरू (माननीयहरू) ? यसरी राजनीति चल्छ ? तपाईंहरू कांग्रेस भएर बोलेको कि अर्को पार्टीलाई रिझाउन बोलेको ?’
बलायरले पार्टीको विरोध मात्रै गर्नुअघि आफ्नो क्षेत्रमा पार्टीको संगठन, सदस्यता वितरणको प्रक्रिया कति कमजोर छ त्यो हेर्न आग्रह गरेका थिए ।
केही सांसदले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि ज्यादती भयो भनेर बोल्दा सांसद रामहरि खतिवडाले प्रतिवाद गरे ।
‘हाम्रा सांसदले रविमाथि ज्यादती भयो, राज्यले पेल्यो भनेर समेत बोल्नुभयो’, खतिवडाले भने, ‘आफ्नो बचत फिर्ता नपाएर ज्यान गुमाउनेमाथि ज्यादती नहुने, सहकारी ठगलाई अनुसन्धान हुँदा के को मानव अधिकार हनन् हुन्छ ?’
बैठकमा सांसद विमलेन्द्र निधिले संविधान संशोधनको विषयलाई कांग्रेसले बहसमा ल्याउनुपर्ने बताएका थिए ।