
‘देशमा १६५ वटा निर्वाचन क्षेत्र छन् । तर, काठमाडौं ४ मा रहेको मेरो निर्वाचन क्षेत्रबाहेक अरू १६४ वटा क्षेत्रले क्रियाशील सदस्यता नवीकरणको विषय टुंग्याएका छैनन्,’ कांग्रेस महामन्त्री गगन थापाले केही समयअघि सार्वजनिक कार्यक्रममा व्यक्त गरेको यो भनाइले सदस्यताको विषय कति जटिल छ भन्ने बुझाउँछ ।
सामान्यतया महाधिवेशन घोषणापूर्व नै क्रियाशील सदस्यता वितरण र नवीकरण टुंग्याउनुपर्ने हो । तर, कांग्रेसमा अलमल देखिएको छ । महाधिवेशनको चटारोले सदस्यताको विवादलाई थाती राखेर समेत कांग्रेस अगाडि बढ्दै आएको स्थिति पटक–पटक बनेको छ । यसैले महाधिवेशनपूर्व सदस्यताको किचलो सकाउन खोजिएको छ ।
महाधिवेशन घोषणा नगरी सदस्यताको विषय टुंग्याउन महामन्त्री गगन थापासहितका टीम जुटेको पनि छ । तर, महाधिवेशनको शक्ति सन्तुलनमा प्रभाव पार्ने प्रारम्भिक सदस्यताको विषय फेरि पनि सहजै अगाडि बढ्न सक्ने स्थिति कांग्रेसमा नदेखिएको हो । अघिल्लोपटककै सदस्यता नवीकरण टुंग्याउन सकस नहुनुपर्ने हो । तर, सहजै यो विषय टुंगिने देखिएको छैन ।
सदस्यताको विषय टुंग्याउन कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा ३/४ सदस्यीय क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरेको थियो । जसमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, प्रकाश स्नेही रसाइली र योगेन्द्र चौधरी सदस्य छन् ।
४ भदौमा समितिले ७७ वटै जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै चैतभित्रै सदस्यता वितरण र नवीकरणको काम सक्न भन्यो । तर, तल्लो तहमा विवाद देखाएर सदस्यताको काम रोक्ने क्रम रोकिएको छैन । कहीँ अनुशासन समितिको कारबाही त कहीँ गुटगत विवादले सदस्यता नवीकरणको काम आशातीत हुन नसकेको हो ।
व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेहीले चैत २९ गतेभित्र ८ लाख ८९ हजार क्रियाशील सदस्यको नवीकरण टुंग्याउन परिपत्र गरिएको बताए ।
‘नवीकरणको हकमा चैत २९ गतेसम्मको समय दिएका छौं, जसमा ८ लाख ८९ हजारको नवीकरण गर्ने कुरा छ । विदेशको हकमा पनि फाराम पठाएर नवीकरण गर्ने तयारी गरेका छौं,’ स्नेहीले भने, ‘पुरानो क्रियाशील सदस्यको २५ प्रतिशतका लागि नयाँ फाराम पठाएर जनसंख्या, भूगोल, जातजाति, निर्वाचनको मतसंख्या जस्ता पक्षलाई आधार मानेर वितरण गर्न भनेका छौं ।’
तर, अपेक्षित रूपमा सदस्यको नवीकरण भएको संकेत नपाएको उनको आशय छ ।
‘हामीले केन्द्रबाट जिल्लालाई पठाउने हो । जिल्लाले क्षेत्र, पालिका, वडा हुँदै सदस्यताको नवीकरण र वितरणको काम गर्ने प्रक्रिया हो । तर, निर्वाचनपछि अनुशासन समितिको कारबाहीले अलमल भएको जानकारी आएको छ । कतिपय ठाउँमा गुटगत, प्रतिशोधजस्ता विषयले पनि अलमलमा परेको बुझेका छौं,’ स्नेहीले भने, ‘एक ठाउँमा रोकिँदा सबै प्रक्रिया रोकिन्छ । यसैले व्यक्तिगत कारण, प्रतिशोध, समूह नमिलेको खण्डमा केन्द्रबाट फुकुवा गर्ने सदस्यता टुंग्याउन पनि भनेका छौं ।’
यस्तो परिपत्रपछि केन्द्रबाट पत्राचार गर्नुपर्ने स्थिति नआएको समेत उनले बताए । जिल्लाले चैतको भाका राखेर सदस्यताको अपडेट नगरेको हुनसक्ने उनले बताए ।
‘म केही दिनअगाडि दाङ जाँदा ८० प्रतिशतको सदस्यता नवीकरण भएको थियो । अहिले त ९० प्रतिशत नाघ्यो होला । तर, चैतभित्रको भाका भएकाले अन्तिममा मात्रै शुल्क पठाउने र अपडेट गर्ने कतिपयको तयारी हुन सक्छ,’ स्नेहीले भने, ‘तर, जुन अपेक्षित गतिमा हुनुपर्ने हो, त्यो भने पाएका छैनौं ।’ पार्टीले कतिले सदस्यता नवीकरण गरे र पाए भन्ने तथ्यांक समेत संकलन गर्न सकेको छैन ।
क्रियाशील सदस्यताको सबै विषय हेर्ने जिम्मेवारी पाएका सचिव प्रदीप पराजुलीले सदस्यताबारे मिडियालाई जानकारी गराउन कुनै विषय नभएको बताए । पार्टीले गरेको परिपत्रअनुसार अबको डेढ महिनामा ७७ वटै जिल्लामा सदस्यता नवीकरण हुने स्थिति देखिएको छैन ।
अघिल्लो परिपत्रले नभएपछि फेरि माघ ४ गते पनि सदस्यताबारे कांग्रेसले फेरि जिल्लालाई परिपत्र गरेको छ । तर, उत्साह देखिने गरी सदस्यताको नवीकरण नभएको नेताहरू नै बताउँछन् ।
‘यसपटक महाधिवेशनको मिति घोषणा नभइकन सदस्यता टुंग्याउँदा सहज हुन्छ भनेर लागेका हौं । तर, उत्साह देखिने गरी नवीकरणमा जिल्ला र क्षेत्र जुटेको पाएका छैनौं,’ एक नेताले भने, ‘सहजै गर्न सक्ने कामका लागि पनि केन्द्रको समीकरण, समूह र नेताको अनुहार हेर्ने प्रवृत्तिले निर्धारित समयमा सदस्यताको नवीकरण र वितरण सकिने स्थिति देखिएको छैन ।’
नेतृत्वकै बेवास्ता
पार्टी नेतृत्वले चाहने हो भने बर्सेनि सदस्यता नवीकरण गर्न समस्या हुने देखिँदैन । तर, महाधिवेशन कहिले गर्ने, समूहगत प्रभावको लेखाजोखा के छ भन्ने हिसाब पार्टी नेतृत्वमा बस्नेले निकाल्दा सदस्यताको विषय पेचिलो बन्ने गरेको छ ।
‘केन्द्रीय सभापति एउटा समूहको हुँदा जिल्ला सभापति अर्को हुन्छ, यसैले उसले क्षेत्रलाई, क्षेत्रले पालिका र पालिकाले वडालाई क्रियाशील सदस्यताको फर्म पठाउनै ढिलाइ गरिदिन्छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘पार्टी हित होइन, माथिबाटै गुटगत रूपमा सदस्यतालाई लिने, महाधिवेशन प्रतिनिधि आफ्नो समूहमा आउने समीकरण बन्छ कि बन्दैन भन्ने स्वार्थ राख्दा यो विषय सधैँ बल्झिँदै आएको छ ।’
महामन्त्री थापाले मात्रै होइन, आइतबार बसेको संसदीय दलको बैठकमा सांसद वीरबहादुर बलायरले पनि सदस्यताको उस्तै टीठलाग्दो विषय सुनाएका थिए ।
‘आफ्नो क्षेत्रमा सदस्यतामा विवाद छ । समाधान गरेर वितरणमा साथीहरूको ध्यान छैन,’ बलायरले भनेका थिए, ‘तर, कांग्रेसका हाम्रा सांसदहरूकै क्षेत्रमा सदस्यता नवीकरण हुन नसक्ने स्थिति छ । साथीहरूलाई अरू दल र नेताको चिन्ता छ ।’
काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले १० क्षेत्रमध्ये ४ र ९ को मात्रै नवीकरण सकिएको जानकारी दिए । ‘कांग्रेस पार्टी नै अन्तिममा मात्रै काम गर्नुपर्छ भन्ने चिन्तनमा हुन्छ । काठमाडौंका १० क्षेत्रमध्ये ४ र ९ क्षेत्रीय समितिले मात्रै सदस्यता करिब–करिब टुंग्याएका छन् । कतिले आधामात्रै सकेका छन्,’ बानियाँले लोकान्तरसँग भने, ‘अघिपछि महाधिवेशनको बेला मात्रै सदस्यता टुंगो लाग्थ्यो, योपटक बीचमै गर भनेर पार्टीले भन्यो । तर, बाध्यकारी परिपत्र नपठाउँदा अलमल भइरहेको छ ।’
पर्सा सभापति जनार्दन क्षेत्रीले नवीकरण गर्नका लागि कुनै विवाद झिकिरहन आवश्यक नभएको बताए । ‘नवीकरणमा कुनै समस्या छैन । क्षेत्रीय सभापतिहरूले वडा–वडासम्मै नवीकरण फाराम पठाइसक्नुभएको छ । पर्सा २ मा फारम कम भएको गुनासोपछि थप पठाएका छौं,’ क्षेत्रीले लोकान्तरसँग भने, ‘मधेशमा शीतलहरको असरले केही ढिला भएको हो । तर, पार्टीले भनेको चैत मसान्तभित्र सदस्यता टुंग्याउँछौं । मैले बुधबारमात्रै पनि छिटो सदस्यताको काम सक्न जिल्लामा निर्देशन गरिसकेको छु ।’
१४औं महाधिवेशनसम्मै सदस्यताको विवाद भएपछि १५औंका लागि पनि थाती राखिएको छ ।
सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सभापति भीमबहादुर साउँदले चैतभित्रै सकाउने गरी सदस्यतामा काम भइरहेको जानकारी दिए । ‘बीचमा केही अलमलजस्तो भयो । तर, पछिल्लो समय सदस्यता नवीकरणको प्रक्रिया अगाडि बढेको छ,’ साउँदले भने, ‘पार्टीले दिएको चैतभित्रको समयसीमाभित्रै सदस्यताको विषय टुंग्याउँछौं ।’