
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा वर्षायामबाहेक अन्य समयमा सधैं खानेपानीको हाहाकार हुन्छ । झुप्रा र बोरी खोलाबाट ल्याइएको पानी पाउन उपभोक्ताले सातदिनसम्म कुर्नुपर्ने बाध्यता छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समितिले यी दुई खोलाबाट वीरेन्द्रनगरमा पानी सप्लाई गर्दै आएको छ ।
तर, अहिले वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्न भेरी पम्पिङ आयोजनाको निर्माण कार्य भैरहेको छ । निर्माण कम्पनीले ज्वाइन्ट सर्भेको कार्य सम्पन्न गरिसकेको छ भने क्रसर प्लान्ट, ब्याचिङ्ग प्लान्ट र निर्माण सामग्रीको परीक्षण गर्न ल्याब स्थापना गरिसकेको हो ।
२८ अगस्ट २०२४ मा चीनको झेजियांग टिम्स इन्टरनेश्नल इकोनोमी एण्ड टेक्निकल कर्पोरेशन कम्पनी लिमिटेडसँग तीन अर्ब ५ कोड ८ लाख १५ हजार २८० रुपैंया ६१ पैसामा भेरी पम्पिङ आयोजनाको निर्माणको सम्झौता भएको थियो । कम्पनीले पहिलो पेस्कीस्वरूप २६ करोड ३० लाख रुपैंया भुक्तानी लिइसकेको छ । उपआयोजनाको वित्तीय प्रगति हालसम्मको ८.६२ प्रतिशत भएको छ ।
वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाई वीरेन्द्रनगर नगरपालिकाका आयोजना व्यवस्थापक संजिव कुमार साहका अनुसार भेरी पम्पिङ उपआयोजना प्याकेज–२ वितरण प्रणालीको सर्भे भइ डिजाइनको काम भैरहेको हो ।
‘सुर्खेत उपत्यका खानेपानी क्षेत्रगत सुधार विस्तार आयोजनाको कामको सर्भे डिजाइन लागत इष्टिमेट पूरा भइ ठेक्का हुने प्रक्रियामा रहेको छ,’ उनले भने, ‘भेरी पम्पिङ उपआयोजनाले नसमेटिएको वडा नं १३ को बाँकी भाग र वडा न १४ ,१५ ,१६ को सर्भे भई डिजाइनको काम भइरहेको छ ।’ यो क्षेत्रका पाइपलाइन विस्तारका लागि टेण्डर हुने प्रक्रियामा रहेको उनले बताए ।
यस्तै, सार्वजनिक शौचालयको लागत इष्टिमेट तयार भएको छ भने कम्पोनेन्ट ३ अन्तर्गत जलाधार व्यवस्थापनको अध्ययन कार्य भइरहेको उनको भनाइ छ ।
आयोजना शुरू भएको ६ महिनामा निर्माण कम्पनिले धारापानी र खोर्केमा ४५० घनमिटरको पानीपोखरी निर्माण कार्य शुरू गरिसकेको छ । कम्पनीले डीआई पाइप र फिटिङ्गहरू अर्डर गरिसकेको जनाएको छ ।
आयोजनाको कूल लागत १०० मिलियन अमेरिकी डलर रहेको छ । विश्व बैँकबाट ऋण लिएर आयोजनाको लागत अनुमानको ८० प्रतिशत नेपाल सरकारबाट र सात प्रतिशत स्थानीय सरकारबाट तथा १३ प्रतिशत प्रदेश सरकारबाट लागत अनुमानगरी कूल २० प्रतिशत बजेट व्यहोर्ने छ ।
खानेपानी तथा सरसफाइ क्षेत्रको सुशासन तथा संस्थागत क्षमताको सुधारतर्फ १८ मिलियन, जलवायु परिवर्तनका जोखिम बहन गर्न सक्ने क्षमता अनुकुलको सुरक्षित खानेपानी आपूर्ति तथा सरसफाइका सुविधामा पहुँच एवं अभिवृद्धि गर्नेतर्फ ७७ मिलियन र एकीकृत जलाधार व्यवस्थापनमार्फत् अनुकुलन क्षमताको विकास गर्नेतर्फ ५ मिलियन बजेट लाग्ने अनुमान आयोजनाको छ ।
आर्थिक वर्ष २०८१/०८२ का लागि यो योजना कार्यान्वयन गर्न संघीय सरकार सशर्त अनुदानबाट १ अर्ब ६ करोड ५९ लाख ९८ हजार बजेट विनियोजन भएको छ । यस्तै, प्रदेश सरकारले प्रदेश सशर्त अनुदानमार्फत् ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले दश करोड रुपैंया विनियोजन गरेको छ । आयोजना कार्यान्वयनका लागि प्रदेश सरकारले सशर्त अनुदानमार्फत् नौ करोड ५० लाख रकम अपुग भएको सीडीई साहले बताए
सीडीई साहका अनुसार योजना कार्यान्वयनमा मुख्यगरी दुईवटा चुनौती देखिएका छन् । ‘हालसम्म जग्गा प्राप्ति र रुख कटानको कार्य हुन सकेको छैन,’ उनले भने, ‘झुप्राखोलामा हालसम्म पुल नबनेकोले पहुँच मार्गमा कठिनाइ देखिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सम्झौता भएको तीन वर्षमा वीरेन्द्रनगरमा पानी झर्ने बताइन् । ‘आयोजनाका कामहरू तीव्र रूपमा अघि बढिरहेका छन् । सम्झौताको तीन वर्षमा वीरेन्द्रनगरमा भेरीको पानी झर्छ,’ उनले भनिन, ‘मुहान निर्माण स्थलमा विद्युत र रुख कटानको आवश्यकता देखिएको छ । संघीय सरकारको क्याबिनेटबाट एक/दुई दिनमा निर्णय भएर आउनेछ ।’ उनले संघीयताको मर्मअनुसार तीनै सरकार आयोजनाको काम भइरहेको बताइन् ।