
इलेक्ट्रिक पसलेलाई ‘हनीट्र्याप’मा पारेको आरोपमा एक युवती प्रहरी हिरासतमा छिन् । आचार्य थरकी ती युवतीलाई मधेशी मूलका एक पसलेलाई ‘हनीट्र्याप’मा पारेको अभियोगमा पक्राउ गरिएको हो ।
चितवनको रत्ननगर नगरपालिका– ८ की २८ वर्षीया आचार्य विगत ४ वर्षदेखि कुलेश्वरमा बस्दै आएकी थिइन् । विवाहिता आचार्यका श्रीमान अस्ट्रेलियामा छन् ।
आफ्नो राइसकूकर बिग्रिएको भन्दै उनी त्यसलाई बनाउन नजिकैको इलेक्ट्रिक पसलमा पुगिन् । पसलमै राइस कुकर छाडेर आउँदा आचार्य र पसल सञ्चालकबीच फोन नम्बर साटासाट भयो ।
राइस कुकर बनेपछि पसलले फोन गरेर लिन बोलाए । आचार्य पसल पुगेर कुरा गर्न लगिन् । पसले र उनीबीचको वार्तालाप टुंगिएन । आचार्य पटक–पटक पसलमा पुग्न थालिन् ।
पसले आफूतिर आकर्षित हुन थालेको सुईंको पाएपछि आचार्यले कफी पिउने प्रस्ताव राखिन् । पसले राजी भए ।
पटक–पटक कफी पिउन दरबार मार्ग पुग्थे । उनीहरूको सम्बन्ध कफीबाट खाजासम्म पुग्यो । समय बित्दै गएपछि उनीहरू प्रेम सम्बन्धजस्तै गरी नजिकिए ।
पसल सञ्चालक विवाहित भन्ने जान्दाजान्दै आचार्य नजिकिन छाडिनन् । १४ दिनअघि आचार्यले होटलमा बस्ने भन्दै प्रस्ताव राखिन् । पसले राजी भए ।
सिनामंगलस्थित एक होटलमा खाजा खाएर उनीहरू निस्किए । त्यतिबेलासम्म आचार्यले पसले पैसावाल रहेको र आवश्यक परे १०/१५ लाख जुटाउन सक्ने थाहा पाइसकेकी थिइन् ।

शुरूमा आचार्यले पसल सञ्चालकको छोरालाई फोन गरेर ‘तिम्रो बुवाले मलाई होटलमा लगेर बलात्कार गर्यो, यो घटना लिएर प्रहरीमा जान्छु, सेटल गर्ने हो भने १० लाख रुपैयाँ दिनुपर्छ,’ भनिन् ।
आचार्यको कुराले पसल सञ्चालकको घरमा बबन्डर मच्चियो । ‘नखाएको विष लाग्ने भयो’ भन्दै पसलले पैसा दिन राजी भए । युवतीले ‘क्यास’ मागिन् । तर, पसल सञ्चालकले चेकमा दिने बताए ।
त्यति नै बेला आफू हनिट्रयापमा पारेको भन्दै पसल सञ्चालक टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगे । प्रहरीले चेकमार्फत पैसा दिन भन्यो । त्यतिबेलै गत मंगलबार आचार्य रंगेहात पक्राउ परिन् ।
प्रहरीको सोधपुछमा आचार्यले आफ्नो श्रीमान अस्ट्रेलियामा रहेको र आफू पनि त्यतै जान पैसा जुटाउन उक्त काम गरेको स्वीकार गरिन् । उनले आफूहरूबीच शारीरिक सम्बन्ध नभएको पनि बयानमा खुलाइन् ।
अनुसन्धान कार्यालयमा बयान दिने क्रममा आचार्यले आफूले सफ्टवेरिका कलेजबाट बीएससी सीएसआईटी पास गरेको बताएकी थिइन् । तर, प्रहरीले अनुसन्धान गर्दा उक्त कलेजमा उनको नाम दर्ता भएको भेटिएन ।
आचार्यको बयान अनुसार सिनामंगलस्थित होटलमा पुगेपछि इलेक्ट्रिक पसल सञ्चालकले यौन सम्पर्कका लागि प्रस्ताव गरेका थिए । तर, उनले नमानेको र प्रहरीमा खबर गर्छु भनेपछि पसले पैसा दिन तयार भएको उनले बयानमा उल्लेख गरेकी छिन् ।
अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार उनीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।
परिसरले जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।