
परिवारको काखमा हुँदा घर व्यवहारको टाउको दुखाई थिएन पर्वतकी जसमाया पुनलाई । एक हिसाबले भन्ने हो भने जिन्दगी फुक्काफाल । दुई/चार पैसाको कमी महसुस भएन । आफ्नै घर व्यवहार भएपछि भने उनलाई जिम्मेवारीले सताउन थाल्यो । बिरामी पर्दा एक/दुई सय कसैले नपत्याउने अवस्था थियो । त्यसले उनलाई बिमारले भन्दा धेरै पोल्थ्यो ।
त्यस्तैमा गाउँमा बुनाइको तालिम खुल्यो । २०५६ सालमा खुलेको उक्त तालिममा जसमाया सहभागी भइन् । त्यसको एक वर्षपछि गाउँकै महिलाको समूहले अल्लोको कपडा उत्पादन गर्ने उद्योग खोले । त्यहीँबाट शुरू भयो, जसमायाको व्यावसायिक जीवन ।
‘शुरूमा आमाबाबाले कमाउँदा पैसाको खासै दु:ख हुँदैनथ्यो । त्यसपछि व्यवसाय गर्ने सोच पनि थिएन । विवाह गरिसकेपछि जिम्मेवारी भइन्छ नि त्यतिखेर मसँग पैसा थिएन । बिरामी पर्दा एक/दुई सय पैसा कसैले पनि नपत्याउने’, उनले भनिन्, ‘धेरै पढेको भए केही जागिर गरिन्थ्यो होला । पढ्दा पनि नपढेको परेँ । घर व्यवहार कसरी चलाउने भन्ने चिन्ता मात्रै हुन्थ्यो ।’
घरेलु र लघुउद्यम विकास कार्यक्रमको साझेदारीमा लिएको तालिमले उनका दिन फिरे । अल्लोको कपडा बनाउने, धागो बनाउने सीपले उनलाई स्वरोजगार बनायो । २०५७ सालमा घरेलु लगायत अन्य संस्थाले सहयोग गरेर गाउँमा भवन बन्यो । महिलाहरूको समूह मिलेर उद्योग खोले । सबैले आम्दानीको बाटो तय गरे । यसले रैथाने सीपलाई पनि जीवन्त राखिराख्यो ।
‘शुरूमा त हाम्रो जिजुबा-बज्यैहरूले बांग्रा थैलोहरू घरमा नै बनाउनुहुन्थ्यो रे । बजारबाट झिलिमिली कपडाहरू आइसकेपछि त्यो खेर जान्थ्यो । हामीले तालिम गरेपछि खेर जान दिएको छैन’, उनले भनिन् ।
आफ्नै उद्योगमा जसमाया
जसमाया गाउँमा मात्र सीमित भइनन् । तालिम लिएर सीप सिकेकी उनी अरूलाई सिकाउन थालिन् । विभिन्न संस्थाको सहकार्यमा जिल्ला बाहिर गएर बुनाइका तालिम दिन थालिन् । यसले उनको सीपलाई मात्र होइन, आत्मविश्वासलाई निखारेको छ ।
पर्वतको जलजला गाउँमा बसेर पाँच वर्ष काम गरिन् । काखमा छोरी हुर्किरहेकी थिइन् । छोरीलाई पढाउन सदरमुकाम कुश्मा बजार झरिन् । त्यसपछि २०६२ सालमा आफ्नै उद्योग दर्ता गरिन्- हम्पाल अल्लो तथा कपडा बुनाइ उद्योग । उनको व्यवसायमा श्रीमानले सघाइरहेका छन् । व्यवसायले खुशी दिएको छ । श्रीमानको साथले सन्तुष्टि ।

‘व्यवसाय गरेर आफूले भोगेका दु:खहरू आफैंले हटाउँदै जाने चाहिँ भएको छ’, जसमायाले भनिन् ।
गाउँमा भन्दा सदरमुकामबाट व्यापार व्यवसाय राम्रो हुँदै गयो । उनलाई अवसर थप आउन थाल्यो । विभिन्न स्थानमा तालिम दिन पुग्न थालिन् । गाउँको समूहमा समेत बेलाबेला गएर हेर्छिन् पनि ।
‘माथि (गाउँ) भन्दा तल (सदरमुकाम)मा बिक्री धेरै हुने भयो । तालिमहरू मैले धेरै ठाउँमा दिएँ । यता,समूहमा पनि आबद्ध भइरहेँ । त्यहाँ बेलाबेला जाने, तल आफ्नो उद्योग पनि जाने गर्न थालेँ’, उनले भनिन् ।
मासिक आम्दानी कहिले पचास हजार बढी हुन्छ । कहिलेकसो महिनामा बिक्री नै हुँदैन । कोरोना अगाडि विदेशीले सधैँ लगिराख्ने व्यापारिक सम्बन्ध थियो । तर, कोरोनापछि सम्पर्क भएको छैन ।
‘बुझेकोहरूले लैजानुहुन्छ । विदेशतिर जान्छ । दिइराख्ने कोरोना अगाडि थियो । कोरोनापछि उहाँसँग सम्पर्क भएन । विदेशीहरू पनि कहिले एकदम धेरै अर्डर गर्नुहुन्छ र लगिहाल्नुहुन्छ । कहिले नलगिदिएर ठप्प हुन्छ’, जसमाया व्यवसायका सजिला अप्ठ्यारा सुनाउँछिन् ।
अल्लोबाट कपडा बनाउँदा हातकै प्रयोग हुन्छ । त्यसैले पनि श्रम र मिहिनेत बढी पर्न जान्छ । सामानको मूल्य स्वतः बढ्छ । तर, अधिकांश नेपालीले महँगो भएको गुनासो गर्दै सामान मन परे पनि खरिद नगर्ने उनको अनुभव छ ।
‘हामीलाई दिन त ग्राहकहरूलाई सस्तो दिन मन लाग्छ तर, हातले बनाउनुपर्छ । पकाउनेदेखि धागो बनाउने सबै हातले नै बनाउनुपर्छ । त्यो हातले बनाएको हुँदा महँगो हुन्छ । हामी पनि बाध्य भइन्छ’, उनले सुनाइन् ।

यसका लागि सरकारले आधुनिक खालको मेसिन औजार उद्यमीलाई उपलब्ध गराउन सके मूल्यमा केही कमी आउने उनको बुझाइ छ । यस्तै, सरकारले अल्लो मात्र होइन भाँगोबाट समेत कपडा बनाउने नीति लागू गर्नुपर्ने उनी बताउँछन् । जसबाट नेपालमै गुणस्तरीय धागो उत्पादन हुने उनको दाबी छ ।
यस्तै, उद्यमीलाई प्रोत्साहन गर्न सरकारी कर्मचारीले निश्चित बारमा ढाका वा अल्लोबाट बनेका कपडा लगाउने नियम बनाउन सुझाउँछिन् उनी । सरकारले अल्लोबाट बन्ने कपडामा नीति लिन सक्यो भने यसले उद्यमीको मात्र नभई सरकारलाई नै फाइदा हुने उनको भनाइ छ ।
अहिले उनको गाउँको समूहमा १२ जना महिलाले उद्यममा काम गरिरहेका छन् । उनको व्यक्तिगत उद्योगमा करिब चार जना छन् । उनी सन्तुष्ट छिन्, आफ्नो व्यवसायसँग । यसले उनलाई आत्मनिर्भर बनाएको छ । आफ्नो सीपका कारण आफूजस्तै महिलालाई स्वरोजगार बन्न तालिम दिने अवसर समेत प्रदान गरेको छ ।