०५ साउन २०८३, मंगलबार

एमाले मोरङको अधिवेशनमा केपी र विद्याका नाममा प्यानल !

फागुन १८, २०८१
विराटनगर
एमाले मोरङको अधिवेशनमा केपी र विद्याका नाममा प्यानल !

नेकपा एमाले मोरङको १०औं जिल्ला अधिवेशनको बन्दसत्र विराटनगरमा शुरु भएको छ । 

भावी नेतृत्वका लागि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा प्यानल खडा भएका छन् । 

संस्थापन पक्षबाट आधिकारिक उम्मेदवार आफू भएको राजकुमार ओझाले बताए । अध्यक्षका अर्का उम्मेदवार अजम्बर राई हुन् । उनी आफू एमालेको उम्मेदवार भएको बताउँछन् । राई नेता विनोद ढकाल पक्षका हुन् । ढकाल विद्या भण्डारी पक्षमा छन् । खुलेर भण्डारी प्यानल नभने पनि राईले आन्तरिकरूपमा भण्डारी प्यानल भनेर भोट मागिरहेका छन् । 

पार्टीको आधिकारिक उम्मेदवार आफू भएको ओझाले बताए । 

‘नेतृत्वमा बसेर पार्टीलाई अगाडि बढाउनुपर्छ भनेर मलाई अगाडि बढाइएको छ,’ उनले भने ‘आमयुवा मतदाता प्रतिनिधिहरूको पनि त्यो धारणा देखिन्छ ।’ 

एकताबद्ध भएर सबैलाई मिलाएर जाने कुरामा आफू बाधक नबन्ने उनले बताए ।

‘नेतृत्वले तँ अध्यक्षको उम्मेदवार होइनस् भन्यो भने मान्न तयार छु । सहमति भए सहमतिमा जाऊँ भन्ने हो,’ उनले भने । 

ओझाले प्यानल नबने पनि पार्टीले आधिकारिक उम्मेदवार तयार पारेको बताए । 

ओझाका अनुसार उनको प्यानलबाट उपाध्यक्षमा शान्तिकुमारी लिम्बू, सचिवमा रविन थापा उपसचिवमा मधेशी समुदायबाट एर्जालाल राजवंशी छन् ।

एकजना उपसचिवको नाम भने टुंग्याइनसकेको उनले बताए । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीलाई उक्त पोस्ट राखिएको चर्चा छ । उनलाई ‘मेजर पोस्ट’मै राख्ने तयारी रहेको एक नेताले बताए ।

‘शिल्पाले उपाध्यक्षमा दाबी गर्नुभएको छ,’ एक नेताले भने, ‘पहिलादेखि  शान्ति लिम्बू भनेर प्रचारमा आएको छ । बेलुकासम्ममा बसेर मिलाउने कुरा छ ।’ 

यसअगडिसम्म शिल्पा ढकाल समूहमा थिइन् । ढकाल समूहमा फाटो ल्याउन शिल्पालाई अगाडि सारिएको नेताहरू बताउँछन् । 

राईले पनि आफू अध्यक्षको दाबेदार भएको बताए । 

सहमति गरौँ भन्दा आफू बाधक नबन्ने उनको भनाइ छ । प्यानल बनाउनुभएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘आकांक्षी साथीहरू धेरै छन् । त्यो आफसेआफ प्यानल बनिहाल्छ ।’ 

पार्टीभित्रको आन्तरिक चुनाव भएकाले आधिकारिक र अनधिकृत भन्ने विषय नै नआउने उनले बताए । ‘कसैले आफू आधिकारिक भन्नु गलत छ । पार्टीभित्रको अधिवेशनमा पनि आफ्नो मत राख्न नपाउने भन्ने हुँदैन । संसदीय मोर्चामा जाँदा पो पार्टीले तोकेको आधिकारिक हुन्छ । जित्ने र हार्ने नै आधिकारिक हुन्,’ उनले भने । 

स्रोतका अनुसार उनको प्यानलबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, मधेशी उपसचिवमा उषा झा र खुला उपसचिवमा सन्तोष बान्तवा रहेका छन् । उनीहरू सबैजनाले भोट मागिरहेका छन् । 

पूर्वराष्ट्रपति भण्डारी एक हप्ता मोरङ बसेर फर्किएकी थिइन् । 

दुवै पक्षका नेताहरू आफ्नो प्यानललाई जिताउन लागिपरेका छन् । 

उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, लेखा समिति सभापति ऋषिकेश पोखरेल, प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतका नेताहरू ओझा प्यानलको पक्षमा देखिएका छन् भने राईको पक्षमा पूर्व केन्द्रीय सदस्य विनोद ढकाल, केन्द्रीय सदस्यहरू रामलाल साह, यज्ञराज बाँस्कोटा, नैनकला ओझालगायत छन् । 

सबैभन्दा धेरै प्रतिनिधि विराटनगरका छन् । विराटनगरमा ढकाल पक्षको अत्यधिक बहुमत रहेको चर्चा छ । विराटनगरमा भएका १ सय २६ प्रतिनिधिमध्ये ७० प्रतिशत आफ्नो पक्षमा रहेको त्यो समूहको दाबी छ । केही समयअगाडि महानगर कमिटीका अध्यक्ष सागर थापालाई कारबाही गरिएपछि ढकाल समूह आक्रामक बनेको थियो । 

मोरङको भूगोलबाट आउने ६ सय ७६ र जनवर्गीय संगठनबाट १ सय ८८ जना प्रतिनिधि आएका छन् । एमाले मोरङको अधिवेशनमा ९ सय १४ जना प्रतिनिधिहरू सहभागी भएका छन्  । 

दुवै पक्षले चुनाव जित्ने दाबीसहित भोट मागिरहेका छन् ।  संस्थापन पक्षले चुनावमा जाँदा कमजोर अवस्था बने माथि आएका नाम परिवर्तन गर्न सक्ने संकेत समेत गरेको छ । 

ओझा प्रदेशका पूर्व राज्यमन्त्री हुन भने राई जिल्ला समन्वय समिति मोरङका प्रमुख हुन् । ओझा मन्त्री हुँदा पक्षपात गरेको आरोप लाग्दै आएको छ । 

उनी निकटका नेताहरू नै ओझाको विपक्षमा छन् । राई भने सरल स्वभावका भए पनि लोसो (ढिला) भएको आरोप लाग्ने गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्