
सडकबत्तीको बक्यौता भुक्तानी गर्ने लुम्बिनी प्रदेशका स्थानीय तहलाई नेपाल विद्युत प्राधिकरणले सम्मान गरेको छ ।
बक्यौता महसुल संकलन पेचिलो बन्दै गइरहेको बेला लुम्बिनी प्रदेशका १५ वटा गाउँपालिका/नगरपालिकालाई प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले सम्मान गरेको छ ।
बर्दघाट नगरपालिकाले १ करोड, रामग्राम नगरपालिकाले ३५ लाख, सिद्धार्थनगर नगरपालिकाले ६२ लाख, तिलोत्तमा नगरपालिकाले ४७ लाख, सियारी गाउँपालिका ४६ लाख र ओमसतिया गाउँपालिकाले ४० रूपैयाँ भुक्तानी गरेको प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय प्रमुख हरि प्रसाद पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार कपिलवस्तु नगरपालिकाले १९ लाख, सन्धीखर्क नगरपालिकाले ५ लाख, भूमिकास्थान नगरपालिकाले ४ लाख, रेसुङ्गा नगरपालिकाले २० लाख, प्रतापपुर गाउँपालिकाले २५ लाख, सरावल गाउँपालिकाले १५ लाख र सुस्ता गाउँपालिका ३२ लाख बक्यौता तिरेपछि सम्मान गरिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार ती स्थानीय तहलाई सम्मान गरे । कार्यक्रममा घिसिङले विद्युतमा देखिएका समस्या समाधान गर्दै बक्यौता रकम उठाउन प्राधिकरण लागिरहेको बताए ।
इलेक्ट्रिक भेइकलका लागि प्राधिकरणले सस्तो शुल्कमा विद्युत उपलब्ध गराउँदै आएको बताउँदै उनले विद्युतको चुहावट नियन्त्रणका लागि नि:शुल्क मिटर समेत वितरण गरिएको बताए ।
सो अवसरमा पालिका प्रमुखहरूले कृषि क्षेत्रका लागि सस्तो शुल्कमा विद्युत दिन आग्रह गरे ।