३१ असार २०८३, बुधबार
साताको शेयर समीक्षा

शेयर बजारमा कहिलेसम्म रहला ‘ब्रेकआउट’पछिको करेक्सन ?

फागुन २३, २०८१
काठमाडौं
शेयर बजारमा कहिलेसम्म रहला ‘ब्रेकआउट’पछिको करेक्सन ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस साता (फागुन १८ गतेदेखि २२ गतेसम्म) ३.३९ अंकले बढेर बन्द भएको छ । गत साता मात्रै ६ महिनापछि २८०० को बिन्दुमाथि पुगेको नेप्से यस साता ०.१२ प्रतिशतले बढेको हो । गत साता (फागुन ११ देखि फागुन १५ गतेसम्म) परिसूचक ७१.३० अंकले बढेको थियो ।  

उच्चतम २९२९.२१ देखि न्यूनतम् २८०८.७५ को बिन्दुबीच उतारचढावमा नेप्से २८१८.४३ को बिन्दुमा बन्द भएको छ । साताभर कुल ६२ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ । 

गत भदौ १८ गते अन्तिमपटक परिसूचक २८३०.१६ को बिन्दुमा बन्द भएको थियो । त्यसयता झन्डै ६ महिनापछि गत साता मात्र नेप्सेले २८०० को अवरोधलाई पार गरेको थियो ।

साताको अन्त्यमा सुटिङ स्टार प्रकृतिको क्यान्डल बनेको छ, जसले बजार आगामी साता पनि प्रेसरमा रहने संकेत गर्छ । तर, अन्य इन्डिकेटरबाट हेर्दा भने बजार माथि नै जाने सम्भावना देखिन्छ । बोलिन्जर ब्याडमा सूचकले माथिल्लो ब्यान्ड छाडेको छैन, जुन सकारात्मक कुरा हो । 

विक्ली आरएसआई ट्रेन्डिङ जोन (६२.५७ बिन्दु)मा छ । अर्कोतर्फ, २३ हप्तापछि विक्ली म्याकडीमा बुलिस क्रसओभर देखिएको छ । गएको असोजको पहिलो साता म्याकडीमा आएको सेल सिग्नल अघिल्लो सातासम्म भ्यालिड नै थियो । 

शेयर बजारका जानकार तथा विश्लेषक केशव श्रेष्ठ बजारमा साइवेज मुभमेन्ट अझै कायम रहेको बताउँछन् । नेप्सेले ३२०० को बिन्दु पार नगरेसम्म नयाँ फेज आएको वा नयाँ मुभमेन्ट आएको भन्न नमिल्ने उनको तर्क छ ।

‘अझै बजार सइडवेज मुभमेन्टमा चलिरहेको छ । १००/२०० अंक बढ्दैमा नयाँ मुभमेन्ट आउने र घट्दैमा मा बजार डाउन ट्रेन्डमा जाने हुँदैन’, उनले भने, ‘साइडवेजमै बजार चलिरहेको छ । ३२०० को बिन्दु पार नगरेसम्म नयाँ फेज आएको भन्न मिल्दैन ।’ 

शेयर बजारका अर्का जानकार एवं विश्लेषक राजन लम्सालले ९ दिन लगातार बढेको बजारमा यस साता सामान्य करेक्सन देखिएको बताए । बजार पुनः बढ्ने उनको आकलन छ । 

‘यस साता सामान्य करेक्सन देखिएको हो । निरन्तर ९ कारोबारसम्म बढिरहेको थियो, जुन यस साता घट्यो’, उनले भने, ‘करेक्सन आवश्यक नै थियो ।

यसलाई स्वाभाविक नै मान्न सकिन्छ । अब करेक्सन फेज समाप्त भइसकेको छ । आइतबारदेखि बजार पुनः माथि जान्छ ।’ 

कस्तो रह्यो साताको कारोबार ?

उच्च अंकले बढेर शुरूआत भएको साताको कारोबार लगभग त्यही अनुपातमा घटेर बन्द भयो । 

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ७५.२४ अंकले बढेको थियो । आइतबार बजारमा १४ अर्ब २५ करोड रुपैयाँ बढीको कारोबार भयो । 

साताको दोस्रो कारोबार दिन १३.६२ अंकले घटेको नेप्से २८७६.६६ को बिन्दुमा बन्द भएको थियो । सोमबार १४ अर्ब २८ करोड रुपैयाँ बढीको कारोबार भयो ।

साताको तेस्रो दिन पनि बजारमा दोहोरो अंकको गिरावट आयो । मंगलवार ३०.३६ अंकले घटेर परिसूचक २८४६.४३ को बिन्दुमा कायम भयो । यस दिन बजारमा १२ अर्ब ९४ करोड रुपैयाँको कारोबार भयो । 

साताको चौथो कारोबार दिन पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आयो ।

बुधवार परिसूचक २५.१७ अंकले घटेर २८२१.१३ को बिन्दुमा बन्द भयो । यस दिन बजारमा १० अर्ब ९७ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । र, सातको अन्तिम कारोबार दिन बजारमा सामान्य अंकको गिरावट देखियो ।

बिहीबार नेप्से २.७० अंकले घटेर २८१८.४३ को बिन्दुमा बन्द भयो । यस दिन बजारमा १० अर्ब १० करोड रुपैयाँ बढीको कारोबार भयो । 

अघिल्लो साता ७१ अंकले बढेको बजारमा ४३ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको थियो । यस साता भने बजारमा ३.३९ अंकको सामान्य वृद्धि मात्र देखियो । कारोबार रकम भने निकै बढेर ६२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्