पोखराबाट काठमाडौं फर्किने तयारीमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने तयारी भएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ ।

कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन विमानस्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
हवाई टिकट भएका यात्रु र स्टाफबाहेक अरूलाई एयरपोर्टभित्र छिर्न निषेध गरिएको छ ।
विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटबाटै सडक एक तर्फी बनाइएको छ । जानको लागि गोल्डेन गेटको प्रयोग गर्न दिइएको छ भने बाहिर निस्कन एराइभरबाट पठाइएको छ ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगन्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा राजावादीहरूले भव्य स्वागत गर्ने तयारी गरेका छन् । राप्रपा र राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनको तयारी गरेका हुन् ।

पोखरामा एक साता बसाइपछि पूर्वराजा शाह आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिंदै छन् ।
राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने छन् । शाह विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास जानेछन् । राजावादीहरू पनि उनलाई पुर्याउन र्यालीसहित निर्मल निवाससम्म पुग्ने छन् ।



