१० साउन २०८३, आइतबार
राजावादीको सल्बलाहट

राजावादीको गतिविधिविरुद्ध सत्ता र प्रमुख प्रतिपक्ष एक ठाउँ, के हो रास्वपाको मत ?

फागुन २५, २०८१
काठमाडौं
राजावादीको गतिविधिविरुद्ध सत्ता र प्रमुख प्रतिपक्ष एक ठाउँ, के हो रास्वपाको मत ?

पूर्वराजाको सन्देशपछि राजावादीले सक्रियता देखाइरहेका बेला गणतन्त्रवादी दलका नेताहरू आक्रामक देखिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसमा दिएको सन्देशपछि उत्साहित राजावादीले सोमबार उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दैछन् । र्‍यालीसहित ज्ञानेन्द्रलाई निर्मलनिवास लैजाने कार्यक्रम छ । 

एकाएक राजतन्त्रको पक्षमा माहोल बनेको देखाउन राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कम्मर कसेर लागेको छ । अन्य दलको साथ नभए पनि उगराष्ट्रवादको एजेण्डा लिएर अभियान थालेका दुर्गा प्रसाईंको टीम पनि समर्थनमा छ । 

तर, यस्तो सक्रियताप्रति प्रमुख दलका नेताले भने आपत्ति जनाएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका हुन् । गणतन्त्र, संघीयता, समावेशिताजस्ता परिवर्तनका मुद्दामा आँखा लगाए पूर्वराजाको सुविधा खोस्नेसम्मको चेतावनी दलका नेताहरूले दिइरहेका छन् । 

देशमा गणतन्त्रवादीविरुद्ध राजतन्त्रवादीहरू सक्रिय भइरहेका बेला पछिल्लो चुनावबाट उदाएको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने मौन देखिएको छ । दलहरूले कित्ता ‘क्लियर’ गरिरहेका बेला लोकप्रियताकै नाराका आधारमा उदाएको कान्छो दल रास्वपा तत्काल कतै पनि नखुलेको हो । 

दुईपक्ष एकातिर भिडिरहँदा रास्वपाले आफूलाई फरक देखाउन खोजेको छ । रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झा परम्परागत दलले नागरिकलाई डेलिभरी दिन नसकेको ‘फ्रस्टेसनको एजेण्डा’लाई राजावादीले बोकेको बताउँछन् ।

‘८ महिनामा शक्तिशाली सरकार भनियो । रवि लामिछाने, बालेन साह, कुलमान घिसिङलाई तह लगाउने, स्टेडियममा मान्छे कुट्नेसम्मका काम भए । नागरिकलाई डेलिभरी दिने काम भएनन्,’ झाले लोकान्तरसँग भने, ‘दुईतिहाइको दम्भ मात्रै भयो । सबैतिर फ्रस्ट्रेसन देखिएको छ । फ्रस्ट्रेसन सेतो कागज होइन, केही एजेण्डा लिएर कोही आउँछन् । यो एजेण्डामा राजावादी आए । रास्वपाले यसरी नै बुझेका छ ।’

पूर्वराजाको पक्षमा प्रदर्शन गर्न पाइने भए पनि आफूहरू अहिलेको व्यवस्थाविरोधी नभएको झा बताउँछन् । 

‘पूर्वराजाको समर्थक हुन पाइन्छ । पूर्वराजालाई नेता मान्न पाइन्छ । राजाले हजारौं, लाखौं र करोडौं मान्छे सडकमा उतार्न सक्छन् । तर, यो सबै संविधान र कानूनको परिधिभित्र रहेर हुनुपर्छ । राजेन्द्र लिङ्देन र कमल थापाहरूले मिलेर निर्वाचनमा दुईतिहाइ ल्याउने र संविधान संशोधन गर्ने क्षमता हासिल गरेर देखाए हुन्छ,’ झाले भने, ‘तर, रास्वपा संविधान, कानून तथा लोकतन्त्रको विरोधमा छैन । हामीलाई अहिलेको दलको कार्यशैली मन परेको छैन । तर, पनि हामी अहिलेको व्यवस्थाविरोधी होइनौं ।’ 

रास्वपाले पूर्वराजा टेस्ट भइसकेको पात्र भएको पनि जनाएको छ । अहिलेको सरकारले डेलिभरी दिएन भन्ने आक्रोश भएपनि पूर्वराजाको कार्यकाल सुखद् नभएको कार्यवाहक प्रवक्ता झा बताउँछन् । 

‘अहिलेको सरकारले नागरिकको अपेक्षाबमोजिम डेलिभरी नदिएको हो । हामी यसमा प्रस्ट छौं,’ झाले भने, ‘तर, हिजो शक्तिशाली स्थितिमा रहँदा पूर्वराजाले प्रशस्त मौका र राज्य चलाउने सबै म्यान्डेन्ट पाए पनि उत्कृष्ट काम गर्न नसकेका हुन् ।’

पूर्वराजा शाह

राजाको समयमा पनि उत्तिकै बेथिति र भद्रगोल रहेको भन्दै उनले कमजोरीलाई नस्वीकारेको बताए ।

‘आफ्ना लागि सबै अनुकूलता हुँदैहुँदै पनि पूर्वराजाले न राम्रो काम गरे, न पहिले भएको गलत कुरालाई स्वीकारे,’ झाले भने, ‘पूर्वराजाको सबै कुरा उत्कृष्ट थिए भनेर रवीन्द्र मिश्रले भनिरहेका छन्, तर पुरानो इतिहासलाई हेर्दा, अनि अहिलेको टीम र अपिल हेर्दा पूर्वराजालाई हामीले सिरियसली लिएका छैनौं ।’

पूर्वराजा नै सबैथोक हो भन्ने लागे २०८४ मा बहुमत ल्याउने गरी लाग्न उनले राजावादी शक्तिहरूलाई चुनौती दिएका छन् । ‘यदि राजा नै अन्तिम विकल्प हो भन्ने लाग्छ भने २०८४ मा निर्वाचन हुँदैछ । त्यही निर्वाचनमा राजासमर्थित दललाई मत हालेर जिताए हुन्छ,’ झाले भने, ‘चुनावपछि अहिलेको संसद् आएको छ । २७ महिना भयो । ६० महिनाको म्यान्डेट भएको संसद्लाई २७ महिनामा परिवर्तन गर्छु भनेर हुँदैन ।’

आफूलाई अग्रणी देखाउने माओवादीको सुर 

पूर्वराजा र राजावादीको सक्रियतापछि सबैभन्दा बढी प्रतिक्रिया जनाउनेमा माओवादी केन्द्र देखिएको छ । महोत्तरीबाट माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजालाई ‘इतिहास पछाडि फर्किँदैन, राजतन्त्र फर्काउने सपना नदेख्नू’ भनेर चेतावनी दिएका थिए । राजावादीको सक्रियतापछि प्रमुख प्रतिपक्षी दल माओवादीले मधेशको हुलाकी राजमार्गमा गरिरहेको ‘जनतासँग माओवादी’ अभियान स्थगित गरेको छ । 

अभियान स्थगित गरेको दिन शनिबार रौतहटबाट माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजाले मूर्खता देखाए अहिले पाएको सेवासुविधा पनि खोस्ने चेतावनी दिएका थिए । ‘मैले पहिले पनि भेनेको थिएँ, ज्ञानेन्द्रले विगतमा पनि मुर्खता गरेका हुन् । फेरि पनि अर्को मुर्खता गरेर पाएको पनि सबै सखाप नपारुन भन्ने चाहन्छु’, प्रचण्डले भनेका थिए, ‘कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएर हामी उदार बनेका थियौं । जबर्जस्ती गर्न खोजिए नेपाली जनतालाई मान्य हुँदैन । पूर्वराजालाई राजनीति गर्न मन लागेको हो भने पार्टी खोले हुन्छ ।’

अभियान स्थगित गरेपछि माओवादीले सबै शीर्ष नेतालाई काठमाडौं उतारेको छ । शीर्ष नेताहरू काठमाडौं फर्किएर बैठक गरेका छन् । राजावादीले दबाब बढाइरहेका बेला माओवादीले पनि आफूलाई परिवर्तनकोवाहकको रूपमा उभ्याउने नीति लिएको छ । मुद्दाका रूपमा गणतन्त्रको पक्षमा खरो उत्रिए पनि सरकारलाई थप रक्षात्मक बनाउने नीतिमा माओवादी देखिएको छ ।  

‘हामीले अरू कुराभन्दा पनि सदन र प्रतिपक्षीलाई बलियो बनाउन खोजेका हौं । राजावादीको विरोधतिर धेरै ध्यान दिएका छैनौं । हाम्रो अभियान स्थगित हुनुमा राजावादीको विरोधको कुनै साइनो छैन’ माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले लोकान्तरसँग भने, ‘तर, हामीलाई राजतन्त्र फर्किन्छ भन्ने लाग्दैन ।’ 

गणतन्त्र र परिवर्तनको मुद्दामा माओवादीले आफूलाई सबैभन्दा माथि राख्न खोजेको छ । तर, सँगै सरकारमाथि दबाब बढोस् भन्ने चाहना पनि राखेको छ । माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले राजावादीको उदण्डता नियन्त्रण गर्न जरुरी रहेको बताए । ‘ठ्याक्कै राजावादीलाई जवाफ भन्ने होइन, तर उनीहरूमा जसरी उदण्डपना आएको छ, यसलाई नियन्त्रण गर्नुपर्छ,’ पोखरेलले भने, ‘संविधानको विरोधमा भइरहेको कामको विरोध हो । बैठक बसेर विरोध र प्रदर्शनको कार्यक्रम राख्छौं ।’

अर्का नेता देवेन्द्र पौडेलले राजावादीहरूले चलखेल गर्न खोजेकाले गणतन्त्रवादीहरूसँग छलफल गर्न खोजेको बताए । ‘पूर्वराजावादीहरूले चलखेल बढी गर्न खोजे । यसैलाई मध्यनजर गर्दै हामीले अभियान पनि स्थगित गरेका हौं,’ पौडेलले भने, ‘हामीले यतिखेर गणतन्त्रवादीसँग छलफल गर्ने र विरोधका कार्यक्रम राख्नेबारे छलफल गरिरहेको छौं ।’

सोमबार बिहान पदाधिकारी बैठक बसेर गणतन्त्रका पक्षमा प्रदर्शन गर्ने तयारी माओवादीले गरेको छ । प्रतिपक्षमा भएका बेला माओवादीले कांग्रेस र एमालेभन्दा आफूलाई खाटी गणतन्त्रवादीका रूपमा देखाउन खोजेको छ । 

salt training

कमेन्ट गर्नुहोस्