
चुनावी गठबन्धन नगर्ने दाबी पटक–पटक गरे पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्ववियु चुनावमा भागबण्डा गरेका छन् ।
चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले उपयत्यकासहित बाहिरका विभिन्न क्याम्पसमा फरक–फरक हिसाबले तालमेल गरेका हुन् ।
काभ्रेमा १५ वटा क्याम्पसमा कांग्रेस, एमाले र माओवादीका भ्रातृ संगठनबीच भागबण्डा भएको छ । उम्मेदवारी मनोनयन मंगलबार मात्रै थियो । तर, सोमबार नै काभ्रेमा प्रमुख ३ दलका संगठनबीच भागबण्डा भएको हो ।
कतै सत्तामा रहेका कांग्रेस–एमालेका संगठन मिलेका छन् । कतै नेविसंघसँग क्रान्तिकारी, कतै तिनै संगठन मिलेर उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिँदा नै मिलाएपछि केही क्याम्पसको विद्यार्थी नेतृत्वमा निर्विरोध चुनिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका १५ क्याम्पसमध्ये नेविसंघ र अनेरास्ववियुले ६/६ र अखिल क्रान्तिकारीले ३ वटा भाग पाएका छन् । मनोनयनको एक दिनअगाडि नै तीनैवटा संगठनले लिखित सहमति गरेर भागबण्डा गरेका हुन् । सहमतिअनुसार बनेपाको चैतन्य क्याम्पसको सभापतिमा नेविसंघका राजु लामा निर्विरोध भएका छन् ।
बझाङको सेती क्याम्पसमा पनि अनेरास्ववियु र नेविसंघबीच तालमेल भएको छ । सभापतिमा अनेरास्ववियुका दीपेन्द्र दौल्यानको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् । उपसभापतिमा नेविसंघका रुपेश खड्का र सचिवमा अनेरास्ववियुका विमला उपाध्याय निर्विरोध भएका छन् ।
त्यस्तै, बझाङको आदर्श बहुमुखी क्याम्पसमा तीनै संगठनबीच तालमेल भएको छ । सभापतिमा क्रान्तिकारीका बम धामी निर्विरोध भएका छन् । उपसभापतिमा नेविसंघका वविन सिंह र सचिवमा अनेरास्ववियुकी शान्ति बोहोराको नाममा सर्वसम्मति जुटेको छ ।
कोषाध्यक्षमा एकीकृत समाजवादीको अनेरास्ववियुका शमशेर जाग्री र उपसचिवमा अनेरास्ववियुका मनीषा खवासको नाममा सहमति भएको छ ।
अछामको त्रिपुरा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघमा कमल कुँवर निर्विरोध भएका छन् । त्रिपुरामा नेविसंघ र अखिल क्रान्तिकारीबीच तालमेल भएको हो ।
यस्तै, पाल्पाको माण्डव्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सौगात कोइरालाको प्यानल विजयी भएको छ ।
अनेरास्ववियुविरुद्ध अन्य कुनै पनि संगठनले उम्मेदवारी नदिएपछि सभापतिमा कोइराला र उनको प्यानल निर्विरोध भएको हो ।
गुल्मीका ११ वटै क्याम्पसमा अनेरास्ववियु र नेविसंघबीच तालमेल भएको छ । दुवै संगठनका जिल्ला अध्यक्षले विज्ञप्ति नै जारी गरेर सोमबार क्याम्पसमा संयुक्त प्यानलको सहमति गरेका थिए । जसमा नेविसंघले ६ र अनेरास्ववियुले ५ क्याम्पस लिएका छन् ।
धरानको महेन्द्र मोरङ क्याम्पसमा नेविसंघले सभापति र अनेरास्ववियुले सचिव लिएका छन् ।
त्यस्तै, भक्तपुरको सानोठिमी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच गठबन्धन भएको छ । स्ववियु सभापति क्रान्तिकारी र सचिव नेविसंघले लिने गरी समझदारी भएको हो ।
सिन्धुपाल्चोकमा भने नेविसंघ र अनेरास्ववियुबीच भागबण्डा भएको छ । दुवैले ६/६ वटा क्याम्पस भागबण्डा गरेका छन् ।
केन्द्रले घोषणा नगरे पनि जिल्लामा तालमेल गर्ने विकल्पलाई संगठनहरूले खुला राखेका थिए । आंगिकभन्दा सम्बन्धनप्राप्त क्याम्पसमा प्रमुख संगठनले तालमेल गरेका हुन् ।
अझै प्रमुख क्याम्पसमा मनोनयन गर्न बाँकी छ ।
अन्तिमसम्मै विवाद
चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि उम्मेदवारी मनोनयनका लागि मंगलबार ११ देखि २ बजेसम्मको समय तोकिएको थियो ।
तर, विवादका कारण धेरै ठाउँमा उम्मेदवारी मनोनयन हुन नसकेको हो । विद्यार्थी संगठनमध्ये नेविसंघभित्र सबैभन्दा बढी विवाद भएको छ ।
उम्मेदवारी मनोनयनमा ढिलाइ भएपछि संगठनहरूकै आग्रहमा केही कलेजमा समय बढाएर ५ बजेसम्म पुर्याइएको थियो ।
नेविसंघलाई त्रिचन्द्र, त्रिभुवन विश्वविद्यालय, पद्मकन्या, शंकरदेव र मीनभवन क्याम्पसमा उम्मेदवार चयन गर्न सकस परेको हो ।
पिपुल्स, पब्लिक युथ र विश्वभाषामा विद्यार्थी संगठनले ताला लगाएका छन् । पब्लिक युथमा स्ववियु सभापतिले ताला लगाएपछि क्याम्पस चिफले उम्मेदवारी मनोनयन स्थगित भएको सूचना निकालेका थिए । उम्मेदवारसहितको विवादले पद्यकन्या क्याम्पसमा नेविसंघले प्रदर्शन गरेको छ ।
पब्लिक युथमा नेविसंघबाट शेखर कोइराला पक्षका उज्ज्वल अधिकारी सभापतिको उम्मेदवार बनेका छन् । काठमाडौंका शंकरदेव क्याम्पसमा बुधबार मात्रै मनोनयन हुने भएको छ । क्रान्तिकारी बहुमतले तालाबन्दी गरेपछि पद्मकन्या क्याम्पसमा पनि भोलि नोमिनेसन फाराम दिइँदैछ । मीन भवनमा पनि मंगलबार उम्मेदवारी मनोनयन भएन ।
५ चैतमा ६२ आंगिक र १०४० सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियुको चुनाव हुँदैछ । स्ववियुमा २८ वर्षे उमेरहद लगाएर मिश्रित निर्वाचन प्रणालीको व्यवस्था छ ।
त्रिचन्द्रमा नेविसंघको रस्साकस्सी
चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघबाट ४ जनाको उम्मेदवारी परेको छ ।
नेविसंघमा सर्वसम्मति गर्न खोजिए पनि ४ जनाले उम्मेदवारी दर्ता गराएको नेविसंघका नेता भुवन भट्टले जानकारी दिए ।
त्रिचन्द्रमा गोविन्द कोइराला, सागर न्यौपाने, विवेक बानियाँ र श्रीधर श्रेष्ठले उम्मेदवारी दिएका हुन् । कोइरालाले आफूलाई आधिकारिक उम्मेदवारका रूपमा दाबी गरेका छन् ।
अन्य तीनले पनि दाबी नछाडेका हुन् । त्रिचन्द्रमा अनेरास्ववियुले प्रमित श्रेष्ठलाई सभापतिको उम्मेदवार बनाएको छ ।