२६ जेठ २०८३, मंगलबार
संकटमा सनातन धर्मसंस्कृति

धर्म सम्मेलन किन र कसरी

चैत ९, २०८१
काठमाडौं
धर्म सम्मेलन किन र कसरी

वैदिक सनातन धर्मसंस्कृति संसारकै प्राचीनतम् धर्मसंस्कृति हो । मानव समाजलाई सर्वप्रथम मानवीय धरातलमा ताते गर्न सिकाउने कुनै धर्मसंस्कृति छ भने त्यो वैदिक सनातन धर्मसंस्कृति नै हो तर, हाल त्यही धर्मसंस्कृतिले इतिहासमा कहिल्यै भोग्नु नपरेको सङ्कट र समस्यामा भोग्नु परिरहेको छ । 

यसो त विगत लामो समयदेखि नै परधर्मीहरूले यसमाथि आँखा लगाउने प्रयास गर्दै नआएका होइनन् । बम र बारुद लिएर पनि आएकै हुन, बाइबल लिएर पनि आएकै हुन् तर, मुलुकलाई बलात् धर्मनिरपेक्ष राष्ट्र बनाइएपछि जसरी यसको ग्राफ ह्वात्तै बढेको छ त्यो निकै चिन्ताको विषय हुन पुगेको छ । 

वर्ष दिनमा शायदै कुनै दिन होला झोलामा बाइबल र हातमा मिठाइको पुडिया लिएर घरगाउँमा सक्रिय हुनेहरूको झुण्ड भेटिने गरेको नहोस् । यस्तो अवस्थामा पनि मुलुकका राजनीति दलहरू बेखबर देखिनु बिडम्बनाको कुरा हो । यस किसिमको परिप्रेक्षमा गण्डकी कोटीहोम शतकुण्डीय गायत्री महायज्ञमा धर्म सम्मेलनको आयोजना तथा धार्मिक पुस्तक प्रदर्शनीको कार्यक्रम राखिएको पाइनुलाई सह्रानीय मान्नुपर्छ । 

प्राचीनकालदेखि नै धार्मिक सद्भाव र धर्म सहिष्णुताको अनुपम नमूना प्रस्तुत गर्दै आएको मुलुकमा हाल जुन मात्रामा धर्म परिवर्तनको चलखेल बढ्दै गएको पाइएको छ यस्तै, अवस्था रहेमा आगामी १०० वर्षभित्रमा यहाँको धर्मसंस्कृति र संस्कारको नाम खोज्न इतिहासको पाना पल्टाउनुपर्ने अवस्था नआउला भन्न सकिन्न । 

कामना गरौं त्यो दिन न आओस् कदाचित आयो भने त्यतिबेला पनि देश पाटी सिष्टमले नै चल्नेछ र पाटीको नाम जे पनि हुन सक्छ । स्वदेशी माटोकै पनि हुन सक्छ, स्वदेशी माटोले जन्माएको पनि हुन सक्छ तर, शासनसत्ता भने परधर्मीहरूले सञ्चालन गर्नेछन् । 

जब यस्तो अवस्था आउनेछ तब विस्तारै उनीहरूको सङ्ख्या बढ्दै जानेछ, बढाउँदै गइनेछ, बढ्ने वातावरण बनाउँदै गइनेछ । त्यसपछि यही माटोको धर्मसंस्कार तथा संस्कृतिका अनुयायीलाई सके त समाप्त नै पारिनेछ नभए पनि सीमान्तकृत बनाएर अछुतको कित्तामा सीमित गरिनेछ । त्यसैले शरीरमा घाऊ लागेपछि ऐय्याआत्थु भन्नैपर्छ र मलमपट्टीको जो हो पनि गर्नैैपर्छ होइन भने एक दिन अफगानिस्थानको नियति नदोहोरिएला भन्न सकिन्न ।  

एकताका अफगानिस्थानमा बुद्धधर्मावलम्बी जनताको बाहुल्य थियो भन्ने कुरा बामियानको बुद्धिमूर्तिबाट अनुमान लगाउन सकिन्छ, जसलाई तालिवान सरकारले तोडफोड तथा तहसनसह र छिन्नभिन्न बनाएको थियो । 

देशका शान्तिप्रिय बुद्धधर्मावलम्बी जनता शान्ति, शान्ति भनिरहे मुलुकमा तरवारधारी परधर्मीहरूले बरबर आक्रमण चलिरह्यो । फलतः विस्तारै त्यहाँको शासनसत्ता तरवारधारी परधर्मीको हातमा गयो र बुद्धधर्मावलम्बी जनता अल्पमतमा पर्दै गए । हुँदाहुँदै एक दिन यस्तो समय पनि आयो तिनै तरवारधारीको हातबाट ऐतिहासिक बुद्धमूर्ति एकएक गरी ढल्न पुगे ।

त्यसैले समय छँदै सबैले जाग्नु पनि जरूरी छ र होष्टेहैँसे गर्दै अघि बढ्नु पनि जरूरी छ । यस अर्थमा पनि गण्डकी कोटीहोमले पोखरामा गर्न लागेको धर्मसम्मेलन र धार्मिक पुस्तक प्रदर्शनी थप महत्वपूर्ण हुन पुगेको छ तर, धर्मसम्मेलन र धार्मिक पुस्तक प्रदर्शनी गर्नुलाई मात्र सबै थोक ठान्ने भूल गर्नु भने हुँदैन ।  

धर्मसम्मेलनमा यहाँका धर्मसंस्कार र संस्कृतिलाई कसरी बचाउने भन्ने कुरा पनि उठ्नुपर्छ र त्यसका लागि कार्यक्रमको मूर्त खाका प्रस्तुत पनि गर्नुपर्छ । यसमा एउटा कुरा त विधिवतरूपमै भरपर्दो व्यक्तिको नेतृत्वमा धर्मसभा गठन गर्नु हुन सक्छ भने अर्को कुरा यस्तो काम एक पटकमात्र गरेर पुग्दैन । 

त्यसैले बरोबर गर्दै जानेतर्फ ध्यान दिनु पनि उत्तिकै जरूरी हुन्छ । तेस्रो कुरा हामी आफैंले पनि आत्ममूल्याङ्कन गर्नु आवश्यक हुन्छ । किनभने मुलुकमा धर्मपरिवर्तनको क्रम बढ्दै जानुको एउटा कारण हामीभित्रै विद्यमान उचनिच, छुवाछुतजस्ता अमानीय व्यवहार पनि हो । 

यद्यपि कतिलाई यस्तो कुरा मन नपर्ला तर, मन नपरेर के गर्ने ? यथार्थ यही हो । त्यसैले यसलाई हटाउनै पर्छ । मानिस जन्मले कोही पनि ठूलो र सानो हुँदैन । यदि हुन्छ भने उसले गरेको कर्मले नै हुन्छ । वैदिक सनातनाधर्मको मान्यता पनि यही हो । ‘जन्मनाज्जायते शूद्र संस्कारात्द्विज उच्यते’ भन्ने त नीतिमै उल्लेख छ ।  

नेपाल अहिले पनि मठमन्दिर तथा गुम्बाको देश भनेर चिनिन्छ । यहाँका असङ्ख्या मठमन्दिर र गुम्बाहरू नै यसको प्रमाण हो, जसलाई बचाउने दायित्व हाम्रै हो । त्यसैले धर्मसम्मेलन र धार्मिक पुस्तक प्रदर्शनीले यतातिर पनि ध्यान दिनुपर्ने देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्