०५ साउन २०८३, मंगलबार
सदस्यता नवीकरण गर्नै मुस्किल

कांग्रेस महाधिवेशनको अन्योलले क्रियाशील सदस्यता नवीकरणमा बेवास्ता

चैत १३, २०८१
काठमाडौं
कांग्रेस महाधिवेशनको अन्योलले क्रियाशील सदस्यता नवीकरणमा बेवास्ता

महाधिवेशनका लागि आधारस्तम्भको रूपमा रहेको क्रियाशील सदस्यता नवीकरणमा नेपाली कांग्रेसभित्र अपेक्षित प्रगति देखिएको छैन । 

महाधिवेशन गर्नुअघि चैतभित्रै झण्डै ९ लाख क्रियाशील सदस्यको सदस्यता नवीकरण टुंग्याउने गरी केन्द्रले जिल्ला कार्यसमितिलाई परिपत्र गरेको थियो ।

गुटगत विवाद, अनुशासनको कारवाही र जिम्मेवार नेताको बेवास्ताका कारण पछिल्लो भाकामा पनि सदस्यता टुंगो लाग्ने स्थिति नदेखिएको हो । 

यसअघि कांग्रेसले महाधिवेशनको वर्ष मात्रै नवीकरणमा काम गर्ने गरेको थियो, जसले विवाद पनि निम्त्याउँथ्यो । तर, यसपटकदेखि प्रत्येक वर्ष नवीकरण गर्ने कार्यक्रम ल्याएको छ ।

यसका लागि महामन्त्री गगन थापाको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको थियो । समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, प्रकाश स्नेही रसाइली र योगेन्द्र चौधरी सदस्य छन् । 

समितिले गत भदौ ४ मा समितिले ७७ वटै जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै चैत २९ गतेको भाका दिएको थियो । तल्लो तहमा अझै विवाद भएको, अनुशासन समितिको कारबाही र गुटगत विवादले समस्या भएको सदस्य रसाइली बताउँछन् ।

उनका अनुसार यही चैत २९ गते दिउँसो तीन बजेसम्म ८ लाख ८९ हजार क्रियाशील सदस्यको नवीकरण टुंग्याउने गरी परिपत्र गरिएको हो । 

‘हामी झण्डै ९ लाख सदस्यको नवीकरण गर्ने तयारी गरेर अलि अगाडि काम गरौं भनेर लाग्यौं । तर, ठूलो पार्टी गठबन्धन, तीनवटै चुनावमा भएका विद्रोह, त्यसका उजुरीपछि अनुशासन समितिले कारवाहीको प्रक्रिया नटुंग्याउँदा समस्या देखिएको छ,’ रसाइलीले भने, ‘फरक गुटलाई रोक्ने, आफू अनुकूलको हिसाबकिताब गरेर मात्रै नवीकरण गर्न खोज्ने प्रवृत्तिले पनि केही ढिलाइ भएको छ । तर, हामीले यो महिनाको अन्तिमसम्म सदस्यता टुंग्याउनुस्, नत्र अप्ठ्यारो पर्छ भनेर पटक–पटक भनेका छौं ।’

पार्टीभित्रको प्रतिस्पर्धा र गुटबन्दीले मधेश प्रदेशमा नवीकरणमा सबैभन्दा समस्या भएको स्नेही बताउँछन् । ‘प्रादेशिक हिसाबले मधेश प्रदेशमा पार्टीभित्रको प्रतिस्पर्धा, इगो र समूहको प्रभावले ढिला भएको छ,’ स्नेहीले भने, ‘अनुशासन समितिको मापदण्ड, कारवाही प्रक्रियाले पनि ढिलाइ भएको छ । यस्ता कुरा सहजीकरण गर्न हामीले ताकेता गरेका छौं ।’

सर्लाहीमा जिल्ला सभापति सुरेन्द्रकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा बर्खास्त गर्न माग गर्दै अर्को पक्ष विरोधमा रहँदै आएको छ । यसैले जिल्लामा नवीकरणको काम अपेक्षित नभएको नेताहरू बताउँछन् । 

null

महोत्तरी कांग्रेसका सभापति नागेश्वर यादवले चैत १५ गतेभित्रै सदस्यता नवीकरण गरेर जिल्लामा पठाइसक्न निर्देशन दिएको बताए । 

‘पार्टीले चैत मसान्तसम्म भनेको छ । तर, हामीले चैत १५ गतेभित्रै क्षेत्रबाट जिल्लामा सदस्यता नवीकरण गरेर पठाइसक्न भनेका छौं । केही विवाद भए त्यतिखेर थाहा हुन्छ । संख्या पनि अहिले भन्न सक्ने स्थिति छैन,’ यादवले भने, ‘अरू जिल्लामा के हो थाहा छैन, तर हाम्रोमा सदस्यताको विषयले विवाद हुँदैन भन्ने लागेको छ ।’

पदाधिकारी र केन्द्रीय सदस्यमा दाबी गर्ने नेताहरूले नै आफ्नो जिल्ला र प्रभाव भएका क्षेत्रमा सदस्यता टुंग्याउन चासो नदिएको स्नेही बताउँछन् । 

‘सदस्यताको कतिपय विवाद १४औं (महाधिवेशन) बाट १५औंका लागि समेत सारिएको थियो । तैपनि हामी पहिलेजस्तो विवाद नआओस् भनेर सचेत छौं । चैत मसान्तसम्म नवीकरण सक्छौं । छुटका हकमा केही समय लिए पनि छिट्टै महाधिवेशन गर्न सम्भव हुन्छ,’ स्नेहीले भने, ‘नेताहरूले पदाधिकारी, केन्द्रीय सदस्यको आकांक्षा राखेका छन् । तर, उनीहरूकै जिल्लामा ढिला भएको छ । समयमा महाधिवेशन गर्नका लागि दबाब बढाउन आफ्ना जिल्ला, क्षेत्र र प्रभाव भएका क्षेत्रमा सदस्यता छिटो टुंग्याउन पहल गर्नुपर्ने हो । नेताहरूले त्यस्तो गरिरहनुभएको छैन ।’ 

महाधिवेशनको आधारस्तम्भ नै क्रियाशील सदस्य भए पनि जिम्मेवार नेताहरूले चासो नदिएको स्नेही बताउँछन् । ‘समितिले समूहभन्दा माथि उठेर अनि विधान र नियमावलीमा टेकेर दिनरात नभनी काम गरिरहेको छ । क्रियाशील सदस्य भनेको महाधिवेशनको आधारस्तम्भ हो । ७७ वटै जिल्लामा सदस्यता नटुंगी महाधिवेशन हुँदैन,’ स्नेही भन्छन्, ‘समयमा महाधिवेशन गर भनेर हरेक सार्वजनिक मञ्च तताउने तर, आफ्नै ठाउँमा सदस्यता टुंग्याइदिन सहजीकरण नगर्ने भएपछि महाधिवेशन कसरी समयमा होला ?’

नवीकरण सकिएपछि पुरानो क्रियाशील सदस्यको २५ प्रतिशतका लागि नयाँ फाराम पठाएर  जनसंख्या, भूगोल, जातजाति, निर्वाचनको मतसंख्या जस्ता पक्षलाई आधार मानेर नयाँ फर्म भराउने तयारी कांग्रेसको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले चैत मसान्तभित्र नवीकरण सकिएर आउने दाबी गरे ।

नियमित स्थितिमा भए कांग्रेसको महाधिवेशन २०८२ मंसिरभित्रै गर्नुपर्ने हुन्छ । तर, डेढ वर्षसम्म समय घर्काउने सुविधा पार्टी नेतृत्वलाई रहेका कारण पनि सदस्यता नवीकरणमा आकर्षण देखिएको छैन ।

‘हामीले चैत मसान्तभित्र नवीकरण सक्न निर्देशन दिएका छौं । साथीहरूले वडादेखि पालिका, क्षेत्र हुँदै जिल्लामा नवीकरणको फर्म बटुलिरहनुभएको छ,’ पराजुलीले लोकान्तरसँग भने, ‘उहाँहरूले बटुलेपछि हामीले केन्द्रबाट अपडेट गर्ने फरम्याट पठाउँछौं । त्यसैमा उहाँहरूले अपडेट गर्नुहुन्छ ।’ 

तर, अहिले नै कति सदस्यले नवीकरण भर्छन् भन्ने टुंगो नभएको उनी बताउँछन् । 

उदयपुर कांग्रेसका सभापति हिमाल कार्कीले पार्टीले दिएको भाकाभित्र नवीकरण सकाउने गरी काम भइरहेको बताए । 

‘पार्टीले गरेको ताकेताअनुसार पालिकाहरूले नवीकरणको काम गरिरहेका छन् । चैत २५ भित्रै नवीकरण गरिसक्न मैले पनि निर्देशन दिएको छु । यो महिनाभरि जिल्लामा आउँछ,’ कार्कीले लोकान्तरसँग भने, ‘नयाँको फर्म क्षेत्रमा पुगिसकेको छ । त्यहाँबाट पालिकामा पठाएर नयाँ पनि शुरू हुन्छ ।’ 

ललितपुर कांग्रेसका सभापति जितेन्द्रकुमार श्रेष्ठ पार्टीले दिएको अवधिमा ८० प्रतिशत सदस्यता नवीकरण गर्ने गरी काम भइरहेको बताउँछन् । 

‘कांग्रेसमा पहिले महाधिवेशनको वर्ष मात्रै नवीकरण गर्ने हुँदा अधिवेशनको लोभले पनि साथीहरूले गर्ने रहेछन् । यसपटकपट वार्षिकरूपमा नवीकरण गर्नेगरी पार्टी अगाडि बढेको छ । तर, पनि पार्टीले दिएको चैत मसान्तको भाकाभित्र हामी धेरै नवीकरणको विषय टुंग्याउने प्रयत्नमा छौं,’ श्रेष्ठले भने, ‘अहिलेसम्म पालिकाबाट ६० प्रतिशत नवीकरण भएर आइसक्यो । पार्टीले दिएको चैत मसान्तभित्र थप २० प्रतिशत पनि सक्छौं ।’ 

null

कास्की कांग्रेस सभापति किशोरदत्त बरालले महाधिवेशनको वर्ष र पहिले–पहिलेजसरी सबै सदस्यले नवीकरण गर्ने रिपोर्टिङ नआएको बताए । 

‘नवीकरणका लागि सबै वडामा सदस्यताको फर्म पुर्‍याइएको छ । वडाबाट पालिका, क्षेत्र हुँदै माथि आउने प्रक्रियामा छ,’ बरालले लोकान्तरसँग भने, ‘तर, महाधिवेशनको वर्षजस्तो धेरै सदस्यले नवीकरण गर्ने देखेका छैनौं । महाधिवेशनको वर्ष नहुँदा उत्साह कम छ । फाइनल नै भएको छैन । तर, साथीहरूको कुरा सुन्दा ५० प्रतिशत हाराहारीमा नवीकरण हुनेजस्तो लागेको छ । यो फाइनल भएर आउँदा केही बढ्न पनि सक्छ ।’ 

निर्धारित २ सय रुपैयाँ नवीकरण शुल्क पनि कतिलाई महंगो लागेको र कतिपय वडाले त्योभन्दा बढी शुल्क उठाएको समेत उनी बताउँछन् । 

नियमित स्थितिमा भए कांग्रेसको महाधिवेशन २०८२ मंसिरभित्रै गर्नुपर्ने हुन्छ । तर, डेढ वर्षसम्म समय घर्काउने सुविधा पार्टी नेतृत्वलाई रहेका कारण पनि सदस्यता नवीकरणमा आकर्षण देखिएको छैन ।

काभ्रे कांग्रेसका सभापति तीर्थ लामाले वडामा सदस्यता फर्म पठाएको बताए । 

‘जिल्लाका सबै पालिकाका वडामा क्रियाशील सदस्यता नवीकरण फर्म पठाइएको छ । वडादेखि पालिका तह हुँदै जिल्लामा आउने क्रममै छ,’ लामाले भने, ‘पार्टीले चैत मसान्तसम्म टुंग्याउन भनेको छ । हामी कोशिशमा छौं ।’

salt training

कमेन्ट गर्नुहोस्