०३ साउन २०८३, आइतबार
राजावादीको हिंसात्मक प्रदर्शन

तीनकुने घटनाका अनुत्तरित प्रश्नको जवाफ खोज्दै प्रहरी, विशेष समिति बनाएर अनुसन्धान

चैत २०, २०८१
काठमाडौं
तीनकुने घटनाका अनुत्तरित प्रश्नको जवाफ खोज्दै प्रहरी, विशेष समिति बनाएर अनुसन्धान

काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका विभिन्न ‘भिडियो क्लीप’ सार्वजनिक गरेर सामाजिक सञ्जालमा अनेक खालका अड्कलबाजी चलिरहेका छन् ।

भए/नभएका दाबी सामाजिक सञ्जालमा गरिएको छ । प्रदर्शनकारीहरू एकत्रित नहुँदै प्रहरीले हस्तक्षेप गर्‍यो, सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवनको छतमा पुगेर प्रहरीले अश्रुग्यास फाल्यो, प्रहरीले ज्यान लिने उद्देश्यले नै गोली चलायो, पत्रकार सुरेश रजकलाई पहिला प्रदर्शनकारीले नै कुटपिट गरेर मारे, भिडियो खिच्दाखिज्दै आगोको लप्कामा परेर रजकको मृत्यु भयो, रजकको भिडियो खिच्ने महिला र मुख छोप्ने अर्का एकजनाले भवनमा आगो लागिसक्दा पनि रजकलाई किन सजग गराएनन् ? यी र यस्ता प्रश्नले अहिले सामाजिक सञ्जाल भरिएका छन् ।

सबैले आ–आफ्नो विश्लेषण गरिरहेका छन् । तर, भएको के हो ? घटनाले किन उग्र रूप लियो ? प्रदर्शनकारी किन संयमित भएनन् ? प्रहरी कहाँ चुक्यो ? जस्ता प्रश्नको जवाफ आएको छैन ।

सहकारीको भवनमा पहिल्यै केही युवा पसेर प्रदर्शनस्थलतिर ढुंगा हानेको प्रहरीको आन्तरिक रिपोर्टमा उल्लेख छ । त्यसपछि घरबाट ‘प्रहरीले ढुंगा हान्यो’ भन्दै प्रदर्शनकारीले घरमा लगातार ढुंगा हानेका थिए ।

भिडियोमा ‘क्लियर’ नदेखिएका ती युवा को थिए ? उनीहरू घरभित्र कसरी छिरे ? उक्त घरमा पहिल्यै ढुंगा लगिएको थियो वा थिएन ? यसको खोजीमा प्रहरी जुटेको छ । 

पत्रकार रजकको भिडियो खिच्ने व्यक्तिसहित शंकास्पदहरूको खोजी शुरू भएको छ ।

फिल्डबाट उपल्लो तहका प्रहरीलाई गरिएको रिपोर्टिङमा केही प्रदर्शनकारी चौरमा बनाइएको मञ्चमा थिए भने केहीले शुरूदेखि नै निषेधित क्षेत्र तोड्न खोज्दै प्रहरीमाथि जाइलागेका थिए । 

त्यसैक्रममा कार्यक्रम शुरू हुनुअगावै प्रहरीले मञ्चमै पुग्ने गरी अश्रुग्यास फालेको थियो । त्यसपछि प्रदर्शनकारी झन् उत्तेजित हुन पुगेका थिए । 

छानबिन गर्न एसएसपीको संयोजकत्वमा विशेष समिति गठन

शुक्रबारको प्रदर्शनमा भएको विध्‍वंसमा राजावादीको मात्रै संलग्नता थियो/थिएन ?, पत्रकार रजकको मृत्यु अकस्मात् थियो कि योजनाबद्ध ?, सहकारीको भवनमा आगो लगाउनुपर्ने परिस्थिति कसरी सिर्जना भयो ? त्यहाँ पुगेर सामान झ्यालबाट फाल्ने युवा साँच्चिकै प्रदर्शनकारी थिए वा अरू ? प्रदर्शनमा घुसपैठ कसले गर्‍यो ? जस्ता विषयमा छानबिन गर्न विशेष समिति बनाएर अनुसन्धान थालिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालको अध्यक्षतामा बनाइएको समितिमा काठमाडौं प्रहरीका एसपी अपिल बोहरा, अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टलगायतलाई समावेश गरिएको छ । 

यो समितिलाई घटनाको सत्य–तथ्य जाँच गर्न, प्रदर्शनस्थलमा प्रहरीका कमीकमजोरी, पत्रकारमाथि भएको दुर्व्यवहार लगायतमा अनुसन्धान गरी प्रतिवेदन पेश गर्न भनिएको छ । समितिले घटनास्थलका सीसीटीभी, सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोको सम्बन्धमा समेत मिहिन ढंगले विश्लेषण गर्नेछ ।  

‘रेडियो सेट’ मा निर्देशनको ओइरो !

त्यो दिन प्रहरीको ‘रेडियो सेट’मा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेकबहादुर तामाङ (कल साइन– भिक्टर वान) जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी (कलसाइन– किलो वान), एसपी अपिल बोहरा (कलसाइन– किलो टु), नगर प्रहरी प्रमुख (ओस्कर वान), डीएसपी सुन्दर तिवारी (किलो फोर)बीच दर्जनौंपटक संवाद भएको छ । प्रहरी महानिरीक्षक दीपक थापा (कल साइन पिटर वान)ले चारपटक सेटमा बोलेका छन् । 

उनले भीड आक्रोशित हुन थालेपछि कोटेश्वरतर्फ लखेट्न, प्रहरीलाई संयमित हुन, व्यक्तिगत सम्पत्ति नोक्सान हुन नदिन र आवश्यकताअनुसार बल प्रयोग गर्न रेडियो सेटबाट निर्देशन दिएका थिए ।

फिल्डको अपरेसन कमान्ड किलो टु अर्थात् एसपी बोहराले गरेका थिए । तर, सेटमा उनकै आवाज कम सुनिएको थियो । उनलाई सहयोग गर्न एसपी सुन्दर तिवारी पुगेका थिए । 

रेडियो सेटलाई नजिकबाट नियालिरहेका र फिल्ड खटिएका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘प्रदर्शनकारीलाई कसरी ट्याकल गर्ने र क्षति न्यूनीकरणमा कसरी प्रहरी परिचालन गर्ने भन्दा पनि फिल्डमा खटिएका कमान्डरहरूलाई निर्देशनमाथि निर्देशन दिएर कन्फ्युज पारिएको थियो ।’ 

ती अधिकृतका अनुसार रेडियो सेटमा आईजीपी समेत बोल्दा फिल्डमा निर्देशन दिने प्रहरी अधिकारीहरूमा द्विविधा उत्पन्न भएको थियो । 

उच्च स्रोतका अनुसार प्रहरीलाई गोली चलाउने आदेश पनि फिल्डमा खटिएका कमान्डरलाई रेडियो सेटमार्फत नै दिइएको थियो । त्यसपछि प्रहरीले गोली चलाएका थिए । सेटमा ‘तीनकुने’ शब्दमात्रै प्रयोग गरेपछि केहीबेर फिल्डमा खटिएका र निर्देशन दिने अधिकारीबीच ‘नोकझोक’ समेत भएको थियो ।

एसएसपी विश्व अधिकारी यसअघि कहिल्यै काठमाडौंको लाइन (वृत्त, प्रभाग) मा काम नगरेको र अनुभवविहीन प्रहरी अधिकृत भएकाले पनि त्यहाँ कमान्ड कन्ट्रोल कमजोर भएको रिपोर्टिङ प्रहरी महानिरीक्षक दीपक थापासमक्ष पुगिसकेको छ । 

तर, गृहमन्त्री रमेश लेखकद्वारा रुचाइएका एसएसपी अधिकारी ‘टसमस’ भएका छैनन् । 

एआईजी तामाङ भन्छन्– 'अनुत्तरित प्रश्नको जवाफ बाहिर ल्याउँछौं'

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेकबहादुर तामाङले छानबिन समिति बनाएरै अनुसन्धान थालिएको बताए । 

‘त्यो दिन प्रदर्शनकारीले मञ्चमा गएर कार्यक्रममा सहभागी हुनुको साटो शुरूदेखि नै निषेधित क्षेत्र तोड्ने, प्रहरीमाथि जाइलाग्ने काम गरेपछि झडपको अवस्था सिर्जना भएको हो,’ तामाङले लोकान्तरसँग भने, ‘पत्रकार रजकको मृत्युका पछाडि लुकेका पाटाहरू केलाउँछौं, विस्तृत अनुसन्धान भइरहेको छ ।’ 

उनले प्रदर्शनकारीहरू पूर्वयोजनामै प्रदर्शनस्थलमा आएको बताए । 

‘कतिपय अनुत्तरित प्रश्न अगाडि आएका छन्, त्यसको जवाफ दिनैपर्छ’, उनले भने, ‘शान्तिपूर्ण प्रदर्शन भनियो, तर हिंसात्मक प्रदर्शन गरियो, यस्ता क्रियाकलाप गर्न निर्देशन दिने र काम गर्नेमाथि निर्मम भएर कारबाही हुन्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्