राष्ट्रिय गौरवको बेनी–जोमसोम-कोरला सडक सहज हुँदै जान थालेपछि पोखरा-जोमसोम हवाई उडानको संख्या दुई तिहाइले घटेको छ ।
पर्यटकीय यामका बेला निकै चहलपहल हुने जोमसोममा विमानस्थलमा हवाई यात्रुको चहलपहल पहिलेको जस्तो देखिँदैन । हिमाली जिल्ला मुस्ताङमा बिहानको समयमा मात्रै साना ट्वीनअटर जहाजले पोखरा-जोमसोम हवाई सेवाको उडान भर्ने गर्दथे । तर, बिहानको समयमा जोमसोम विमानस्थल पुग्ने हो भने सीमित हवाई यात्रु बाहेक अन्य कोही हुँदैनन् ।
राष्ट्रिय राजमार्ग शुरू हुनुअघि पोखरा–जोमसाम हवाई यात्रा गर्दै दैनिक तीन सय बढी पर्यटक मुस्ताङ आउने गरेका थिए । अहिले त्यो संख्या घटेर आधा पनि पुग्दैन । यसको कारण हो स्तरोन्नति हुँदै गरेको कोरला सडक । म्याग्दीको बेनीदेखि मुस्ताङको मुक्तिनाथसम्म दुई तिहाइभन्दा बढी कच्ची सडक कालोपत्र भइसकेको छ ।
सडक कालोपत्र भएकै कारण हवाई यात्रुको संख्या विगतका वर्षभन्दा यसपालि हवाई उडान घट्न पुगेको जोमसोम नागरिक उड्यान कार्यालयका प्रमुख केशव लम्सालले जानकारी दिए । ‘कोरला सडक स्तरोन्नति हुनु अगावै यहाँ १८ वटासम्म हवाई उडान हुने गरेको हाम्रो रेकर्डमा छ’, उनले भने, ‘अहिले हवाई यात्रा गर्ने कतिपय पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउजाउ गर्छन् ।’
हिउँदयामको समाप्ति र वसन्त ऋतुको आगमनसँगै यो समय मुस्ताङ घुम्ने उपयुक्त अनुकूल समय हो । यद्यपि योसमयमा पोखराबाट हवाईमार्ग हुँदै मुस्ताङ आउने पर्यटक सडकमार्गबाट आउँने गर्दा उडान घटेको तारा एअरलाइन्सका जोमसोम व्यवस्थापक सुजन लालचनले उल्लेख गरे ।
‘पहिला हामीलाई यात्रुवर्गलाई टिकट उपलब्ध गराउनै हम्मेहम्मे पर्ने गर्थ्यो, पोखरा जोमसोम टुवेकै टिकट काटेर आउने हवाई यात्रुले गर्दा नेपाली पर्यटकसहित स्थानीय र कर्मचारीलाई हवाई टिकट छैन भन्नुपर्थ्यो, उनले भने, ‘अहिले पोखराबाट आतेजातेको टिकट लिएर नआएमा यहाँबाट जहाज नै खाली पठाउनु अवस्था भइरहेको छ, पछिल्लो वर्षमा झनै यस्तो समस्य थपिएर उडान क्रमशः घट्ने अवस्था देखिएको छ ।’
पोखराबाट भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी भोलिपल्टै फर्किने गरी दुईतर्फी हवाई टिकट लिने गरेको भए पनि अन्य मुलुकका पर्यटकले भने एकतर्फी टिकट लिएर हवाईयात्रा गर्ने भएकाले जोमसोमबाट प्रायः जहाज खालीखाली पठाउनुपर्ने अवस्था रहेको समिट एअरलाइन्सका जोमसोमका व्यवस्थापक सुमन थकालीको भनाइ छ ।
‘पहिला पहिला यहाँबाट स्थानीय र कर्मचारी लगायतमा यात्रु पनि जहाजको यात्रा गर्न खोज्थे’, उनले भने, ‘अहिले सडक बाटो राम्रो भएकाले यहाँबाट अधिकांश यात्रु सडकमार्गबाटै पोखरा झर्ने गर्छन् ।’
पोखरा-जोमसोम हवाई उडान घट्नुको अर्को कारण पछिल्लो समय सुरक्षित हवाई यात्रामा चुनौती थपिनु पनि हो । पोखरा-जोमसोम हवाई मार्गमा आधादर्जन जति हवाई दुर्घटना भइसकेको छ ।