
कालिदास सुवेदीको घरमा सुख्खा पातपतिंगरहरू पशुचौपायालाई ओछ्याउन तथा मलका लागि प्रयोग गरिन्छ।
वनबाट सुकेका स्याउला, सोत्तर संकलन गरी गाईवस्तुको ओछ्यान बनाउन, पिँडालु, अदुवा, हलेदोको छापो तयार गर्न र मल उत्पादन गर्न प्रयोग हुने गरेको छ । जहाँ यसरी स्याउला–सोत्तर सोहोरिएको हुन्छ, त्यहाँ डढेलोको प्रभाव कम देखिएको गण्डकी प्रदेश सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षसमेत रहेका सुवेदीको अनुभव छ।
भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेहरूलाई पुरस्कार दिने घोषणा गरेको छ। वनको डढेलो र सुख्खा पातपतिंगरबीच के सम्बन्ध छ त? वैज्ञानिक रूपमा डढेलोका लागि इन्धन, अक्सिजन र ताप मुख्य तत्व हुन्। सुख्खा याममा थुप्रिने पात र दाउराले इन्धनको काम गर्छन्। यिनको व्यवस्थापनले डढेलोको तीव्रता र क्षति कम गर्न सहयोग पुर्याउँछ।
कृषिसँग जोडिएका ग्रामीण समुदायले दैनिक जीवनमा यस्ता सामग्री प्रयोग गर्छन्। परम्परागत सीप प्रयोग गरी पातपतिंगर उपयोग गर्दा डढेलो न्यूनीकरणमा भूमिका खेलेको देखिन्छ। वैज्ञानिक दृष्टिले पनि यो उपाय प्रभावकारी मानिएको छ।
अध्यक्ष सुवेदी भन्छन्, 'हामीले पिँडालु, अदुवा, हलेदो लगाएका छौं, प्रयोग गर्छौं। वनको स्याउला–सोत्तर सोहोरेर छापो हालेका छौं, गाईवस्तुलाई ओछ्याउन प्रयोग गरेका छौँ। त्यसबाट मल पनि हुन्छ।'
पछिल्ला वर्षहरूमा डढेलो नेपालका लागि गम्भीर समस्या बन्दै गएको छ। चैतको शुरूदेखि नै देशका विभिन्न भागमा डढेलो लागिरहेको छ।
जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा डढेलोको जोखिम पनि बढेको छ। सुख्खा पात व्यवस्थापन नभएमा क्षति झनै भयावह बन्न सक्छ। तर, सामुदायिक परम्परागत अभ्यासले वन डढेलो न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
परम्परागत अभ्यासअनुसार सुकेका पात र दाउरा घरेलु प्रयोजन, पशुको ओछ्यान तथा मलको रूपमा प्रयोग हुँदा डढेलोको जोखिम घट्छ। यस्ता अभ्यासले सुख्खा मौसममा डढेलोको सम्भावना घटाउँछन्। यद्यपि, पछिल्लो समय विविध कारणले यस्ता रैथाने अभ्यास घट्दै गएका छन्, जसले आगलागीको जोखिम बढाएको अध्यक्ष सुवेदीको अनुभव छ।
'पहिला पनि वनमा आगो लाग्थ्यो, तर त्यस्तो धेरै हुँदैनथ्यो,' सुवेदी सम्झन्छन्, 'खोरिया प्रणाली चलाउँदा मान्छेहरू वन जान्थे, स्याउला–सोत्तर सोहोर्थे। त्यसले गर्दा आगलागी भएपनि निभाउन सजिलो हुन्थ्यो। अहिले यस्तो गतिविधि घटेको छ, जसले आगलागी बढाएको छ।'
उनको विचारमा सहमत छन्, पोखरा वन विज्ञान क्याम्पसका उप–प्राध्यापक विकास अधिकारी। उनले परम्परागत ज्ञानमा आधारित वनसँग जोडिएको जीविकोपार्जनलाई वैज्ञानिक मानेका छन्। तापक्रम वृद्धिले डढेलोको समस्या बढाइरहेको उनले बताए। साथसाथै, परम्परागत ज्ञानमा आएको ह्रासले यो चुनौती झनै जटिल बनाएको उनको बुझाइ छ।
'ग्रामीण जनसंख्या घट्दैछ,' अधिकारी भन्छन्, 'पहिले मानिसहरू वनमा निर्भर थिए। घाँस, दाउरा, पात संकलन गर्थे। अहिले धेरै शहरतिर सरे, वनमा सुख्खा पात थुप्रिएको छ। तापक्रमको असर त छँदैछ।'
उनले समस्या समाधानका लागि परम्परागत ज्ञानको पुनः प्रयोगमा जोड दिए।
'समुदायमा आधारित वन व्यवस्थापन वैज्ञानिक थियो, कानूनी मात्र होइन, त्यहाँ ज्ञान र अभ्यास दुवै थियो, अहिले त्यो अभाव छ,' उनले स्पष्ट पारे।
उप–प्राध्यापक अधिकारीको भनाइसँग नरेन्द्र जीटी पनि सहमत छन्।
गत वर्ष स्याङ्जाको आले सामुदायिक वनमा डढेलो लाग्दा वननजिकको बस्ती मुस्किलले जोगिएको थियो। यस वर्ष स्थानीयवासी मिलेर अग्निरेखा निर्माण गरिरहेका छन्।
'पहिला सुकेका पातहरूको प्रयोग हुन्थ्यो, अहिले आवश्यकता नपरेपछि संकलन कम भएको छ,' जीटीले भने, 'तर, हामीले अगुवाइ गरेर अग्नि–रेखा कोर्ने, पातपतिंगर सोहोर्ने काम गरिरहेका छौँ।'
मादी–१ का ज्ञानराज जैसीले आफ्ना फर्मका लागि पातपतिंगर संकलन गर्छन्। नयाँ गाउँ एकीकृत कृषि तथा पशुपन्छी फर्ममा तरकारीमा छापो हाल्न र मलको रूपमा प्रयोग गर्न सुक्खा पात प्रयोग गरिन्छ।
'हल्का उठाएर ल्याइन्छ, तरकारीमा छापो हाल्न। त्यसले झारपात कम आउँछ र मल पनि बन्छ। अहिले उठाएर राखिएको छ, पछि प्रयोग गरिन्छ,' जैसीले भने।