०६ साउन २०८३, बुधबार

सुर्खेतमा गजल जगाइरहेका धिरेन अनुपम

चैत ३०, २०८१
सुर्खेत
सुर्खेतमा गजल जगाइरहेका धिरेन अनुपम

मन्दिरको मूर्ति दलालको आँखामा परेको छ 
हेर्नुस् त भगवान पनि  समस्यामा  परेको छ 

राजनीतिमा हस्तक्षेप यतिसम्म बढेर गयो 
बलात्कारी पनि सहिदको कोटामा परेको छ

अनुहारै नहुनेले कसरी देखाउला अनुहार 
आज मुर्कट्टाको अनुहार ऐनामा  परेको छ

खोलिदे ए हावा बादलका काला पर्दाहरू
हेरौं जुनकीरी  कस्को कोठामा परेको छ 

सिमानाको धागो तानेर स्विटर कसले बुन्यो ?
देशको अस्तित्व संकटको दायरामा परेको छ

यो गजलका रचयिता हुन् सुर्खेतका धिरेन अनुपम । उनले गजल लेख्न थालेको २४ वर्षभन्दा बढी भएको छ । उनका गजलमा राजनीति, श्रृंगारिकता र मौलिकता भेटिन्छ । हरेक शेरले सन्देश दिन्छन्, चोटिलो प्रहार हान्छन् । उनी कुनै महफिलमा प्रस्तुत भए भने गजलका दर्शक/श्रोतालाई ‘वान्स मोर’ भन्न बाध्य बनाइदिन्छन् ।

उनका गजलले देशका समस्या बोल्छन्, कथा व्यथा बोल्छन् । देशका आशा र अपेक्षा बोल्छन् । 

यिनै गजलकार धिरेन अनुपम (धिरेन थापा) सुर्खेतको पश्चिममा पर्ने अति विकट गुटुमा जन्मिएका हुन् । २०३७ सालमा जन्मेका धिरेन साविकको गुटु गाविस, हालको चौकुने गाउँपालिका वडा नम्बर ६ मा बस्दै आइरहेका छन् ।

‘हामी सानो हुँदा गुटुमा खानेपानीको समस्या त थियो नै, त्यसबाहेक सडक थिएन । विद्युत थिएन । फोन थिएन । अर्थात् अहिलेको जस्तो विकास नै थिएन’, उनी स्मरण गर्छन, ‘उतिबेला गुटु भएर कैलालीको चिसापानी, राजापुर हाट जाने चलन थियो । सोही चलन अनुसार कर्णालीका अधिकांश जिल्लाका हटारू, अछामदेखि बाजुरासम्मका हटारूले यो बाटो नुनदेखि सुनसम्म ल्याउन प्रयोग गर्थे ।’ तर, अहिले भने अवस्था फेरिएको उनको भनाइ छ ।

मध्यपश्चिम विश्वविद्यालयमा हाल आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक अध्ययन गर्दै गरेका धिरेन, मध्यपश्चिमाञ्चल गजल मञ्चका अध्यक्ष छन् । 

दुई दाइ र चार दिदीपछि (माइली दिदी दिवंगत भइसकेकी) कान्छो सन्तानको रूपमा जन्मेका धिरेनले गुटुमा रहेको जीवनज्योति माविमा कक्षा आठसम्म अध्ययन गरे । 

त्यसपछि कक्षा नौ र दश पढ्न भनेर पञ्चपुरी नगरपालिकाको विद्यापुरस्थित जनता उच्च माध्यमिक विद्यालयमा भर्ना भए । त्यहाँबाट उनले २०५४ सालमा एसएलसी दिए तर, उत्तीर्ण भने हुन सकेनन् । पूरक परे । 

पूरक परीक्षा नहुँदै उनी तत्कालीन दंगा प्रहरीमा भर्ना भए । यता परीक्षा छुट्यो । उनी नेपालगञ्जको व्यायमशालामा एक वर्ष तालिममा समेत बसे । तर, तालिम सकिँदा उनले जागिर नै छोडिदिए ।

बीचमा पढाइ ९/१० वर्ष ग्याप भयो । त्यसपछि उनी अछामको तुर्माखाँदमा रहेको कालिकेश्वरी माविमा भर्ना भई एसएलसी र कक्षा १२ त्यहीँबाट उत्तीर्ण भए । एसएलसी र प्लसटु प्रथम श्रेणीमै उत्तीर्ण गरे । 

‘त्यतिबेला प्रहरीमा प्रहरीजस्तो व्यवहार मैले देखिनँ । ठूला बडाकहाँ जानुपर्ने, उनीहरूको घरको काम गर्नुपर्ने नभए कारबाही भोग्नुपर्ने अवस्था थियो’, उनी भन्छन्, ‘त्यस्तो अवस्था देखेपछि मलाई प्रहरीको जागिर खानै मन लागेन । म जागिर छोडेर २०५६ मा भारतको गुजरातस्थित सुरत शहरतिर हिरा कम्पनीमा काम गर्न भनेर लागेँ ।’

उनले त्यहाँ काम पनि पाए । शुरूमा दुई हजार दिने भनिएको भएपनि दुई दिन आफ्नो काम हेरेर कम्पनीले २७०० तलब दिने निर्णय गरेको उनको दाबी छ । 

उनी भन्छन्, ‘त्यहाँ मैले दुई वर्ष काम गरेँ । त्यहीँ मैले गजल लेखन शुरू गरेको थिएँ । साहित्यमा रुचि त्यहीँबाट पलाएको हो । कम्पनीले बेलाबेला क्रिकेट प्रतियोगिता आयोजना गर्ने गर्थ्यो । मैले त्यहाँ क्रिकेट पनि सिकेँ ।’

उनले साहित्य क्षेत्रमा कलम चलाउन आफ्नो माइला दाइ रतनसिंह थापाबाट प्रभावित भएको बताए । ‘मेरो माल्दाइ अहिले स्थायी शिक्षक हुनुहुन्छ । उहाँले मुनामदनलाई म सानै हुँदा भाका मिलाएर वाचन गर्नुहुन्थ्यो’, उनी भन्छन्, ‘त्यो वाचन म ध्यान दिएर सुन्थेँ । त्यसबाट प्रभावित बनेको थिएँ ।  भारतमा रहँदा त्यहाँ नेपाल न्यूज दैनिक, नेपाली एकता बुलेटिन आदिमा गजल लेख्न थालेँ ।’

उनी भारतमा रहँदा राजनीतिमा पनि जोडिए । राष्ट्रिय जनमोर्चा नेपालको त्यहाँ संगठन थियो, अखिल भारत नेपाली एकता समाज भन्ने । त्यसको उनी नगर सचिवको रूपमा काम गर्न थाले । ‘२०५४ सालमा मेरो ठूलो दाजु मोहनसिंह थापा गाविस अध्यक्ष बन्नु भएको थियो । मेरो घरमा सबै कांग्रेस नै थिए । म त्यहाँबाट वामपन्थी बनेर निस्किएँ’, उनी स्मरण गर्छन् ।

निस्केको छु सफरमा एक हौसला लिएर 
बाटोमा बसेका छन् आफन्त ढुंगा लिएर

छालहरूको नखरा हेरेर बसेको वर्षौं भयो 
त्यसैमा रमाइरहेछ किनार मजा लिएर 

जब लासमाथि राजनीतिको गन्ध आयो
नेताहरू आर्यघाटसम्म पुगे झण्डा लिएर

मन्दिरले अपराधीको पहिचान बदलिदियो 
अचेल दैलोमा उभिरहन्छ ऊ टीका लिएर 

आमा नभएदेखि घर बिरानो लाग्न थाल्यो 
मन खाली डुलिरहन्छ उदास आँखा लिएर 

२०५९ सालमा उनी गाउँ फर्किए । त्यसताका माओवादी द्वन्द्व चरम उत्कर्षमा । उनी गाउँ आएको थाहा पाएपछि उनलाई माओवादीले अपहरण गर्ने योजना बनाएका रहेछन् । तर, उनी माओवादीले नभेटाउँदै माओवादीकै खोजीमा गएर आफ्ना कुरा राखेर फर्किएछन् । त्यसपछि उनलाई माओवादीले खोज्न छाडेछन् ।

पछिल्लो समयमा गजल भन्दै फजल लेख्नेहरूको जमात बढिरहेको उनको भनाइ छ । ‘श्रृंगारिक गजलका नाममा छाडापन भित्रिएको छ । काफिया र रदिफ मिलाएको भन्दैमा गजल भइहाल्यो, म गजलकार बनिहालेँ भन्नेहरूको जत्था बढिरहेको छ । यसले नेपाली गजल क्षेत्रलाई नै गिज्याइरहेको हो कि जस्तो लाग्न थालेको छ’, उनी भन्छन्, ‘गजल गुणस्तरीय हुनुपर्छ भन्ने मेरो धारणा हो ।’

उनी अहिले एक गजल संग्रह प्रकाशित गर्ने अन्तिम तयारीमा पुगेका छन् । पाण्डुलिपि तयार भइसकेको उनको ‘प्रच्छाया’ गजल संग्रहमा ६१ वटा गजल समावेश हुनेछन् ।

उनी गजल मञ्चको अध्यक्षको रूपमा रहेदेखि हालसम्म महिनाको कम्तीमा एक दिन साहित्यसँग सम्बन्धित कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् । ‘साहित्यक पुस्तकको समीक्षा गर्ने, गजलकारहरूलाई मञ्च उपलब्ध गराउने, लेखकहरूलाई बोलाउनेदेखि गजल संरक्षणका लागि आवश्यक योजना बनाउने काम गर्दै आइरहेको छु’, उनले थपे, ‘यसका अलवा चौकुने  साहित्य महोत्सव २०७९ मा गुटुमा आयोजना गरेँ । त्यसको सिको अहिले देशैभरि गर्दै आइरहेका छन् । यस्तै २०८० मा कर्णाली साहित्य उत्सव वीरेन्द्रनगरमा गरेका थियौं ।’

उनले साहित्य क्षेत्रमा कलम चलाएवापत कयौं सम्मान तथा पुरस्कार पाइसकेका छन् भने उनका गजल विभिन्न पत्रपत्रिका, बुलेटिन र संयुक्त गजलसंग्रहमा पनि प्रकाशित भइसकेका छन् ।

तिमी आँखामै बस आँखाको पानी भएर 
सुखदुःखमा बग्न सजिलो हुन्छ नदी भएर 
 
जुङ्गाहरूले देशको तस्वीरमा कालो रंग दले
आऊ जुङ्गाकै विरुद्ध युद्ध लडौं बागी भएर

मृत्युको च्यादर ओढेर काल कहिले आउला
समय पनि पर्खिरहेछ भित्ताको घडी भएर 

कुनैबेला तिमीले फालेको त्यही औंठी थिएँ 
दाग भई बसेको छु औंलामा भाग्यमानी भएर

आँसु माटोमा खस्यो भने माटो बग्ने रहेछ
उनी आँखामा बसिन् म बगे कर्नाली भएर

धिरेन गजल साहित्यको रक्षा गर्न व्यक्ति लागेर मात्रै सम्भव नहुने टिप्पणी गर्छन् । ‘नेपाली गजललाई पछिल्लो प्रविधिसँग जोड्दै,यसका विकृति र विसंगतिलाई नियमन गर्नेदेखि गजल सिक्न चाहनेहरूका लागि आवश्यक कक्षाको व्यवस्थापन राज्यले गर्नुपर्छ जस्तो लाग्छ’, उनी भन्छन्, ‘त्यसका अलवा गजल क्षेत्रमा राम्रो दख्खल राख्ने धेरै युवा भएपनि उनीहरू आर्थिक समस्याका कारण गजल संग्रह प्रकाशित गर्न नसकिरहेको अवस्था छ । यसमा राज्यबाट केही सहयोग भएको खण्डमा नेपाली गजल क्षेत्र चम्किन्थ्यो जस्तो लाग्छ ।’

salt training

कमेन्ट गर्नुहोस्