
यही चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गराएर फरार भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं १७ दिनपछि शुक्रबार समातिए ।
शुक्रबार बिहान झापाको भद्रपुरबाट नियन्त्रणमा लिएका प्रसाईंलाई प्रहरीले दिउँसो काठमाडौं ल्याएर अदालत पेस गर्यो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले अनुसन्धानका लागि १२ दिनको म्याद दिएपछि उनी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
उनीसँगै पक्राउ गरेका उनका अंगरक्षक दीपक खड्कालाई पनि अदालतले १२ दिनकै म्याद दिएको छ । खड्का पनि काठमाडौं प्रहरीको हिरासतमा छन् ।
परिसरका एक अधिकृतका अनुसार दुर्गामा तीनकुने घटनाबारे कुनै पश्चाताप छैन । उनी सबैसँग हाँसेर बोलिरहेका छन् । आफूमाथि ֹ‘राज्य लागेको’ बताइरहेका छन् ।
‘हिरासतमा जसलाई देखे पनि हात उठाएर के छ ? ठीक छ ? भन्छन् । प्रहरीलाई देखेपछि कसैलाई सर, कसैलाई भाइ भन्छन्’, परिसरका ती अधिकृतले लोकान्तरलाई भने ।
प्रसाईं तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शनका ‘जनकमान्डर’ हुन् । उनी त्यही दिनै भागेका थिए । भागेर भारत पुगेका उनलाई प्रहरीको विशेष ब्यूरोको टोलीले आसाम प्रहरीसँगको समन्वयमा झापाबाट नियन्त्रणमा लिएको हो । प्रसाईंको सचिवालयले भने उनी आफैंले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका बताएको छ ।
प्रसाईंले आफूले कसैलाई नमारेको दाबी गरिरहेका छन् । ‘मुद्दा त जे लगाएपनि भइहाल्छ’ भन्ने गरेका छन् । जिल्ला प्रहरी परिसरका एक अनुसन्धान अधिकृतका अनुसार प्रसाईंलाई उनका परिवार र कानून व्यवसायीसँग मात्र भेट्न दिइएको छ ।
परिसरका एसपी अपिलराज बोहोराले प्रसाईं र अन्य थुनुवालाई समान व्यवहार गरिएको बताए । सेवा सुविधा पनि सबैलाई बराबर दिइएको उनले बताए ।
‘उनी र अन्य थुनुवालाई समान व्यवहार छ । उनले हिरासतमै अन्य थुनुवालाई खुवाउँदै आएको नियमित खाना खाए । अरु कुनै कुरा डिमान्ड गरेका छैनन्’, एसपी बोहोराले भने ।
यही मुद्दामा प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणासँग भने उनको भेट भएको छैन । प्रहरीले उनीहरूको भेट नहुनेगरी बसाइँ व्यवस्थापन गरेको छ । उनीहरूलाई छुट्टाछुट्टै ब्लकमा राखिएको परिसरका एसपी बोहोराले जानकारी दिए ।
अनुसन्धान अधिकृतका अनुसार प्रसाईंले आफू नभागेको समेत दाबी गरिरहेका छन् । ‘म भागेको होइन, आइहाल्थेँ । ज्यानको सुरक्षाको प्रत्याभूति हुने ग्यारेन्टी भएको भए धेरै अगाडि प्रहरीमा हाजिर हुन्थेँ भनेर भन्छन्’, ती अनुसन्धान अधिकृतले भने ।
प्रसाईंले आफू क्यान्सको बिरामी भएको भन्दै अस्पताल बस्न पाउनुपर्ने समेत बताएका छन् । ‘रोगी मान्छे हो, हस्पिटलमा बस्नुपर्छ । म क्यान्सरको रोगी भएकोले तलमाथि पर्यो भने राज्यले बेहोर्नुपर्छ भन्ने गरेका छन्’, परिसरका ती प्रहरी अधिकारीले भने ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले पनि अदालतले प्रसाईंको उपचारको समेत प्रबन्ध गर्न अनुसन्धानरत निकायलाई आदेश गरेको बताएका छन् ।
राजावादी आन्दोलनका जनकमान्डर तोकिएका प्रसाईंलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ ।
प्रसाईंलाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाउने प्रहरी तयारी छ । यसै शीर्षकमा अदालतबाट म्याद थप भइसकेको छ । उनीविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड लगायत कसुरमा समेत प्रहरीले अनुसन्धान गर्नेछ ।
राजसंस्था फर्काउने भन्दै तीनकुने क्षेत्रमा चैत १५ गते गरिएको प्रदर्शनका क्रममा भएको आन्दोलनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले आगो लगाएको घरभित्र जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । प्रहरीले यी सबै घटनाको जिम्मेवार उनी प्रसाईंलाई बनाउने तयारी गरेको छ ।