०२ साउन २०८३, शनिबार

दैलेखको आठबीसमा प्रमुख प्रशासकीय अधिकृतको निर्णय कार्यपालिकाले उल्ट्यायो

तीन सय ४४ कर्मचारीको तीन महिना म्याद थप
बैशाख ४, २०८२
सुर्खेत
दैलेखको आठबीसमा प्रमुख प्रशासकीय अधिकृतको निर्णय कार्यपालिकाले उल्ट्यायो

दैलेखको आठबीस नगरपालिकाले करार, ज्यालादारी र शिक्षक कर्मचारीको म्याद आगामी असार मसान्तसम्मका लागि भन्दै थप गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बुधबार बसेको बैठकले नगरपालिकाले राखेका ती कर्मचारीहरूको म्याद थप गर्ने निर्णय गरेको हो । नगरपालिकाको आन्तरिक स्रोत नभएको भन्दै आगामी दिनमा करार कर्मचारीहरूलाई तलब खुवाउन नसकिने भनेर प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले चैत २१ गते सूचना जारी गरेका थिए । 

उनका अनुसार वैशाख १ गतेदेखि लागू हुने गरि करार, दैनिक ज्यालादारी र शिक्षक कर्मचारीहरूको म्याद थप नगरिने बताएका थिए । तर, बुधबार बसेको कार्यपालिका बैठक प्रमुख प्रशासकीय अधिकृतको निर्णय उल्ट्याएको हो । 

आठबीस नगरपालिकामा बालविकास बाहेक कूल ५९ विद्यालय छन् । ती विद्यालयमा २०८ जना शिक्षक नगर कोटाबाट अध्यापन गराइरहेका छन् । यस्तै, ३३ जना बालविकास सहजकर्ता छन् भने लेखा सहायक, कार्यालय सहयोगी र संघीय बालविकास सहजकर्ताले पनि पालिकाबाट थप तलब भत्ता पाइरहेका छन् ।

नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कूल ४३ जना स्वास्थ्यकर्मी करारमा काम गर्दै आइरहेका छन् भने वडा सचिव, कार्यालय सहयोगी, ज्यालादारी कर्मचारी गरी थप ७० जना नगरपालिकामा कार्यरत छन् ।

यसरी कार्यरत कर्मचारीहरूले मात्रै हरेक वर्ष तीन करोड सत्तरी लाख रूपैयाँ तलबभत्ता बुझ्दै आएका थिए । नगरपालिकाले यी तीनवटै शीर्षकमा हरेक वर्ष ८ करोड १८ लाख भन्दा बढी रकम खर्च गर्दै आएको थियो ।

यो पनि पढ्नुहोस्- आर्थिक चपेटामा ‘गाउँको सिंहदरबार’ : आठबीसमा सयौं शिक्षक-कर्मचारीको सम्झौता नवीकरण नहुने

२०७९ देखि नै पालिकाले संघीय तथा प्रदेश सरकारलाई सर्शत अनुदानबाट आएको बजेटको अन्य योजनामा भुक्तानी दिएको र फिर्ता पठाउनुपर्ने बजेट नपठाएको भन्दै महालेखा परीक्षकको कार्यालयले आठ करोड ७२ लाख रूपैयाँ नगरपालिकाले फिर्ता गर्नुपर्ने बताएको थियो । 

सोही कारण गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा नगरपालिकाले तीन करोडका दरले संघ र प्रदेश सरकारलाई उक्त रकम तिर्दै आइरहेको छ ।

नगरपालिकाको आन्तरिक आय ५० लाख पनि नभएको आठबीस नगरपालिकामा शिक्षक दरबन्दी न्यून छन् भने स्वास्थ्य दरबन्दी त झनै कम छन् । लोकसेवा आयोगले कर्मचारी आवश्यक छ कि छैन भनेर सोध्दा कर्मचारी आवश्यक छैन भनेर परिपत्र गर्ने नगरपालिकाले अहिले ऋण तिर्ने कि कर्मचारीलाई जागिर खुवाउने  ? संकट आइलागेको छ ।

प्रमुख प्रशासकीय अधिकृत शाहीले कर्णाली प्रदेश सरकारको परिपत्र र ऐन अनुसार करारका कर्मचारी कटौती गर्दै मितव्ययिता अपनाउनुपर्ने, नगरपालिकाको स्रोत नै नभएका कारण चैतसम्मको तलब खुवाउन सकिए पनि अब नसकिने भन्दै उक्त पत्र सार्वजनिक गरेको बताए ।

‘कर्मचारी र शिक्षकलाई तलब दिने स्रोत नै छैन । बजेट नै नभएपछि कसरी काम गर्न लगाउने ?’ लोकान्तरसँग उनले भने, ‘म एक्लैले तलब खुवाउने जिम्मा लिन नसक्ने भएको हुँदा हिजो बसेको कार्यपालिका बैठकले उक्त कार्यको जिम्मेवारी लिएको छ । बजेट व्यवस्थापन गर्ने, कर्मचारीलाई कसरी तलब खुवाउने भन्ने कुरा अब कार्यपालिकाको जिम्मामा गएको छ । त्यही निर्णयका आधारमा मैले म्याद थपको सूचना जारी गरेको हो ।’

नगरप्रमुख तर्कबहादुर बडुवालले प्रमुख प्रशासकीय अधिकृतले सल्लाह नै नगरी सूचना जारी गरेको बताए । ‘उहाँले सल्लाह नै नगरी हतारमा पत्र सार्वजनिक गर्नुभयो’, उनले भने, ‘नगरपालिकामा स्रोतको अभाव छ । सरकारलाई नै ऋण तिर्नुपर्ने बाध्यता आइलागेको छ । यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्ने कुरा समस्याको प्रमुख जड बनेको छ ।’ 

उनले कर्मचारी राख्दा तलब खुवाउन नसकिने, सरकारको ऋण नतिर्दा खाता रोक्का हुने अवस्थामा नगरपालिका रहेको बताउँदै त्यसको समाधानका लागि आवश्यक पहल गर्न संघ तथा प्रदेश सरकारलाई आह्वान गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्