![तीन दिनभित्र विद्यालय फर्किन आन्दोलित शिक्षकलाई सर्वोच्चको आदेश [आदेशसहित]](https://lktcdn2.prixacdn.net/media/Teachers_protest.-1972_JcXPTHWgR3.jpg)
सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएको छ।
न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार अन्तरिम आदेश जारी गर्दै शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्किन भनेको हो ।
‘आदेश प्राप्त भएको मितिले तीन दिनभित्र विद्यालय फर्किसक्न आदेश भएको छ’, सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले लोकान्तरलाई भने, ‘हामीले (अदालतले) आज आदेश पठाउन पाएका छैनौं, भोलि पठाउँछौं ।’
अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमा न्यायाधीश सुवेदीको इजलासले यस्तो आदेश गरेको हो ।
सर्वोच्चले शिक्षकका जायज र संविधानसम्मत माग सम्बोधन तत्काल सम्बोधन गर्ने वातावरण मिलाउन सरकारलाई समेत भनेको छ ।
‘विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू’, सर्वोच्चको आदेशमा भनिएको छ।
अधिवक्ता चौधरीले विद्यार्थीहरूलाई पठनपाठनको वातावरण मिलाइदिन भन्दै अन्तरिम आदेशको माग गरेर रिट दायर गरेका थिए ।
देशभरका सामुदायिक विद्यालयका शिक्षक चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् । शिक्षक आन्दोलनले विद्यार्थीको भविष्यमा असर परेको, नयाँ शैक्षिक सत्रको भर्ना अभियान प्रभावित भएको र कक्षा १२ को परीक्षामा समेत असर परेको भन्दै रिट दायर भएको थियो ।
‘देशभरका बालबालिकालाई नियमत रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नु/नगराउनू । तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) बोर्डको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्थाको सृजना हुन नदिनू’, आदेशमा भनिएको छ, ‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिँदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने ।’



