
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल शिक्षक आन्दोलनमा सहभागी भएका छन् ।
माइतीघर–बानेश्वर सडकमा जारी शिक्षकहरूको आन्दोलनमा उनीहरू सोमबार दिउँसो सहभागी भएका हुन् । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन उनीहरू प्रदर्शनस्थलमै पुगेका हुन् ।
शिक्षक आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन र सरकारले गरेको हेलचेक्य्राइँ, अपमान र दमनको विरोधमा नेताहरू प्रदर्शनस्थलमा पुगेको नेता जगन्नाथ खतिवडाले बताए ।
तर, माहोल सहज नभएपछि नेताहरू केहीबेरमै निस्किएका छन् । नेता खनालले भने आन्दोलनलाई सम्बोधन गरेका थिए । शिक्षकहरूको नाराबाजी कायमै रहेपछि अध्यक्ष नेपालले भने सम्बोधन गर्न पाएनन् ।
नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने उनीहरूको माग छ । प्रदर्शनका क्रममा आइतबार शिक्षक र प्रहरीबीच झडप समेत भएको थियो ।