१७ असार २०८३, बुधबार
बजेट बहस

बजेट निर्माणको तीव्र तयारीमा सरकार– कर संरचनामा पुनरवलोकन हुने, आयकर स्ल्याब फेरबदलको तयारी

बैशाख १८, २०८२
काठमाडौं
बजेट निर्माणको तीव्र तयारीमा सरकार– कर संरचनामा पुनरवलोकन हुने, आयकर स्ल्याब फेरबदलको तयारी

सरकार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणमा जुटिरहेको छ । माघ १५ गतेबाट शुरू भएको बजेट निर्माण प्रक्रिया अहिले मन्त्रालयगत छलफलको अन्तिम चरणमा पुगेको छ ।

यो क्रममा बजेटका प्राथमिकता निर्धारण, आयोजना छनोट, कर संरचनामा सुधार र राजस्व वृद्धिसँगै वित्तीय अनुशासन कायम गर्ने विषयमा बहस भइरहेको छ ।

अर्थ मन्त्रालयले बजेट निर्माण तीव्र गतिमा अगाडि बढिरहेको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री विष्णु पौडेललाई यसपटक कनिका छर्ने शैलीको बजेटभन्दा दीर्घकालीन र रणनीतिगत आयोजनालाई प्राथमिकता दिन निर्देशन दिइसकेका छन् ।

बजेट तर्जुमा मार्गदर्शनमा पनि स्रोतको अधिकतम उपयोग, क्षेत्रगत रणनीति र पूर्वतयारी सम्पन्न आयोजनालाई प्राथमिकता दिने भनिएको छ ।

यही सन्दर्भमा स्थानीय तहका प्रतिनिधिहरू सिंहदरबार धाइरहेका छन् । वडाध्यक्षदेखि नगर प्रमुखसम्म मन्त्रालयहरूमा आफ्ना निर्वाचन क्षेत्रका लागि योजना माग राख्दै उपस्थित हुन थालेका छन् ।

विशेषगरी भौतिक पूर्वाधार, खानेपानी र शहरी विकास मन्त्रालयमा योजना दर्ता गराउनेको भीड देखिएको छ ।

कर संरचनामा पुनरवलोकन र आयकर स्ल्याब फेरबदलको तयारी

यसैबीच, सरकार व्यक्तिगत आयकरको स्ल्याब फेरबदल गर्ने तयारीमा पनि जुटेको छ । राजस्व परामर्श समितिमा मध्यमवर्ग माथिको करको बोझ घटाउनुपर्ने सुझाव आएपछि आयकर स्ल्याब पुनरवलोकनको प्रक्रिया अगाडि बढाइएको हो ।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार छिमेकी मुलुक भारतको कर नीतिलाई समेत हेरेर नेपालमा पनि तल्लो आय भएका वर्गलाई राहत दिनेगरी नयाँ नीति बनाउने तयारी भइरहेको छ ।

‘तल्लो स्ल्याब हटाएर माथि समायोजन गर्ने कि भन्नेबारे छलफल भइरहेको छ,’ उनले भने, ‘संस्थागत छुट कटौती गर्ने र व्यक्तिगतमा न्यून आय भएकालाई कर छुट दिने नीतिबारे परामर्श भइरहेको छ ।’

भारतमा हाल वार्षिक १२ लाख भारुसम्म आम्दानी गर्नेले आयकर तिर्नु पर्दैन । सन् २०१४ मा २ लाख ५० हजार, २०१९ मा ५ लाख र २०२३ मा ७ लाखसम्मको आम्दानीलाई करमुक्त क्षेत्र बनाएको भारतले चालु वर्षको बजेटमा उक्त सीमा १२ लाख पुर्‍याएको हो । नेपालमा भने ५ लाख आम्दानी गर्नेले १ प्रतिशत सामाजिक सुरक्षा कर तिर्नुपर्छ, विवाहितको हकमा यो सीमा ६ लाख छ ।

अहिले नेपालमा ६ वटा स्ल्याबमा कर उठाइन्छ, जसमा १० देखि २० लाखसम्म आम्दानी हुनेले ३० प्रतिशत कर तिर्नुपर्छ । यति उच्च दरले निम्न र मध्यम आय भएका वर्गलाई प्रत्यक्ष असर पारिरहेको विश्लेषण छ ।

राजस्व परामर्श समितिले आयकरको स्ल्याब समायोजनसँगै ई–कमर्स, डिजिटल प्लेटफर्म र गिग इकोनोमीजस्ता नयाँ क्षेत्रलाई करको दायरामा ल्याउने प्रस्ताव पनि अघि सारेको छ ।

मन्त्रालयले प्रारम्भिक छलफल गरिसकेको छ भने नयाँ कर नीति पारदर्शी, औचित्यपूर्ण र समतामूलक बनाउने अर्थमन्त्रालयको प्रतिबद्धता छ ।

बजेटमा नीति तथा कार्यक्रमसँग समन्वयको चुनौती

अर्थ मन्त्रालयले बजेट तर्जुमाका लागि अन्तिम तयारी गरिरहँदा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने मिति पनि नजिकिएको छ ।

भोलि जेठ १९ गते शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम वाचन गर्नेछन् ।

यसपटक सरकारको ठूलो चुनौती नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन मिलाउनु हो । विगतमा नीति तथा कार्यक्रममा जे उल्लेख भए पनि बजेटमा त्यसको पर्याप्त प्रतिविम्ब नपरेको आलोचना हुँदै आएको छ ।

त्यसैले, राष्ट्रिय योजना आयोगले यसपटक नीति प्रतिवेदनमार्फत प्राथमिक क्षेत्र, स्रोत अनुमान र क्षेत्रगत नीति स्पष्ट रूपमा प्रस्तुत गरेको छ ।

आयोगले नीति प्रतिवेदन बुझाइसकेको छ । आयोगले बजेट नीति प्रतिवेदनमा पूर्वतयारी सकिएका आयोजना, स्रोतको सुनिश्चितता र रणनीतिगत प्राथमिकतामा आधारित बजेट बनाउने सिफारिस गरेको हो ।

ईभीमा कर छुट हटाउने तयारी

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विद्युतीय सवारीसाधन (ईभी) मा दिँदै आएको कर छुट हटाउने तयारी गरेको छ । अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार अब पेट्रोलियम र विद्युतीय गाडीमा समान कर दर लागू गर्ने प्रस्ताव अन्तिम चरणमा पुगेको छ । यो विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने अहिलेसम्मको सरकारी नीतिसँग विरोधाभासपूर्ण देखिन्छ ।

हालै यातायात व्यवस्था विभागले विद्युतीय गाडीका लागि मापदण्ड बनाउने समिति गठन गरेसँगै कर समायोजन प्रक्रिया अघि बढाइएको हो । श्रीकान्त यादवको नेतृत्वमा बनेको सो समितिमा निजी क्षेत्रको प्रतिनिधित्वसमेत छ । समितिलाई एक महिनाभित्र मस्यौदा तयार पार्ने कार्यादेश दिइएको छ ।

विकेन्द्रित विकास र समग्र सुधारको अपेक्षा

आगामी बजेटले आत्मनिर्भरता, आर्थिक पुनरुत्थान र सामाजिक सुरक्षा विस्तारलाई प्राथमिकतामा राख्ने अनुमान गरिएको छ । यद्यपि, नीति, कार्यक्रम र बजेटबीच समन्वयको अभाव, परियोजना छनोटमा अनावश्यक राजनीतिक दबाब, तथा केन्द्रमै थुप्रिएका खुद्रे योजनाले समग्र सुधारमा चुनौती थप्ने देखिन्छ ।

स्थानीय सरकारका प्रतिनिधिहरू सिंहदरबार धाइरहँदा दीर्घकालीन सोचमा आधारित आयोजना ओझेलमा पर्ने अवस्था विगतमा देखिँदै आएको हो । यसले नीति निर्माणमै अलमल ल्याउने, रणनीतिविपरीत स्रोत विनियोजन हुने र विकासको समग्र गतिमा अवरोध गर्ने अवस्था दोहोरिन सक्ने खतरा छ ।

बजेट निर्माण प्रक्रियामा सरोकारवाला, निजी क्षेत्र, कर विज्ञ, योजनाविद्हरूसँग निरन्तर परामर्श भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।​

अन्य सम्भावित नीति: सामाजिक सुरक्षा र उद्योगमा जोड

बजेटमार्फत सरकार सामाजिक सुरक्षा विस्तार र उद्योग प्रवर्द्धनमा विशेष ध्यान केन्द्रित गर्ने तयारीमा रहेको छ । स्रोतका अनुसार, निम्न आय भएका वर्गलाई राहत दिने गरी सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने प्रस्ताव तयारी अवस्थामा छ ।

यससँगै न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी कर छुटको व्यवस्था गरिनेबारे पनि अर्थ मन्त्रालयमा छलफल चलिरहेको छ ।

उद्योग क्षेत्रको सन्दर्भमा साना तथा मझौला उद्योगहरूलाई कर सहुलियत दिने, स्वरोजगार र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति अगाडि सारिने सम्भावना छ ।

त्यस्तै, कृषि क्षेत्रमा रासायनिक मल कारखाना स्थापनाको योजना यथावत राख्ने तथा कृषि उपकरण आयातमा कर छुटलाई निरन्तरता दिने सम्भावना रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

पर्यटन, सूचना प्रविधि तथा निर्यातमुखी उद्योगहरूमा लगानी भित्र्याउन विशेष प्रोत्साहन प्याकेज र कर छुट प्रस्ताव गर्ने गृहकार्य भएको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्