
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको नारायणी अस्पताल विरगञ्जका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजयकुमार ठाकुरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अस्पतालको आकस्मिक कक्ष भवन निर्माणमा अनियमितता गरेको अभियोगमा उनीहरूसहित लुम्बिनी-मिसन जेभीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कुल लागतको ३.५ प्रतिशत मात्र पर्ने इन्टरलक ब्लक बिछ्याउने सहायक कार्यलाई मुख्य आधार मानेर बोलपत्र अस्वीकृत गरिएको र मिलेमतोमा प्रतिस्पर्धा सीमित गरी राज्यलाई हानि पुर्याइएको आयोगमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा आकस्मिक कक्ष निर्माण ठेक्कामा सार्वजनिक खरिद ऐनविपरीत इन्टरलकिङ टाइललाई मुख्य आइटमको रूपमा समावेश गरिएको पाइएको थियो ।
शिवाको/विकास एन्ड ब्रदर्स/वीजी जेभीले साधारण काम देखाए पनि बोलपत्रमा बदनियतपूर्वक ‘ग्रेड नखुलेको’ र ‘मल्टिब्लेन्डेड रंग नभएको’ भन्दै अन्य प्रस्ताव असफल गराएको पाइएको आयोगको दाबी छ ।
यस्तै, स्वीकृत लागत अनुमान बाहिरका आइटम थप गरी लक्षित ठेकेदारलाई सफल बनाइ प्रतिस्पर्धा सीमित बनाइएको थियो ।
यसरी ठेक्का सम्झौता गराई रु. १८ करोड ४३ लाखभन्दा बढीको हानि राज्यलाई पुर्याएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।