२२ असार २०८३, सोमबार

सबइन्जिनियर पौड्यालविरुद्ध ३ करोड ६३ लाखको भ्रष्टाचार मुद्दा, श्रीमती पनि प्रतिवादी

बैशाख ३०, २०८२
काठमाडौं
सबइन्जिनियर पौड्यालविरुद्ध ३ करोड ६३ लाखको भ्रष्टाचार मुद्दा, श्रीमती पनि प्रतिवादी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सबइन्जिनियर कुमार पौड्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले ३ करोड ६३ लाख २१ हजार २ सय ७ रुपैयाँ बिगो मागदाबी गर्दै  मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।​​

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार​ पौड्यालले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।​

अनुसन्धानका क्रममा उनले आर्थिक वर्ष २०५१/०१/०९ देखि २०८०/०३/३१ सम्मको अवधिमा आर्जन गरेको कुल वैध आय २ करोड ५८ लाख ९७ हजार ३२४ रुपैयाँ ७५ पैसा देखिएको छ । सो अवधिमा उनले गरेको कुल खर्च ६ करोड २२ लाख १८ हजार ५३२ रुपैयाँ २५ पैसा रहेको आयोगले जनाएको छ ।

आय र खर्चको फरक ३ लाख ६३ हजार २१ हजार २०७ रुपैयाँ ५० पैसा देखिएकाले उक्त रकम गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति भएको आयोगको ठहर छ।​

पौड्यालले पदीय मर्यादाविपरीत कार्य गर्दै अवैध सम्पत्ति आर्जन गरेको पाइएपछि साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दण्डनीय ठहरिएको प्रवक्ता पौडेलले जानकारी दिए । 

त्यस्तै, पौड्यालले गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति श्रीमती विष्णुमैया पौड्यालको नाममा राखिएको पुष्टि भएको आयोगले जनाएको छ। त्यसैले सम्पत्ति जफत गर्न उनीलाई समेत प्रतिवादी बनाई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

आयोगले पौड्याल दम्पतीविरुद्ध कैद, जरिवाना र सम्पत्ति जफतको माग दाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्