१० साउन २०८३, आइतबार
गभर्नर नियुक्ति प्रक्रिया

राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेलसहित ३ जनाको नाम सिफारिस

जेठ ६, २०८२
काठमाडौं
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेलसहित ३ जनाको नाम सिफारिस

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्व पौडलसहित ३ जनाको नाम सिफारिस भएको छ ।

अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिले मंगलबार पहिलो नम्बरमा विश्व पौडेललाई राखेर ३ जनाको नाम सिफारिस गरेको हो ।

दोस्रो नम्बरमा राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना तिमिल्सिना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराईको नाम रहेको समितिका एक सदस्यले लोकान्तरलाई जानकारी दिए ।

मन्त्रिपरिषद्को आजै बस्ने बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना छ । सिफारिस भएकामध्ये पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् ।

उनलाई गभर्नर बनाउने सहमति प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भइसकेको छ ।

पौडेल २०७९ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए ।

सिफारिस समितिको बैठक बस्नुअघि बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो ।

भेटमा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

त्यसलगत्तै सिफारिस समितिको बैठक बसेको हो । समितिमा अर्थमन्त्री पौडेलका अलावा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।  

salt training

कमेन्ट गर्नुहोस्