
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका रास्वपा सभापति लामिछानेको हकमा उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
मंगलबार सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटको सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
निकिताले गत वैशाख ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रुपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुरको बुटवल इजलास, जिल्ला प्रहरी परिसर काठमाडौं, कारागार कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई विपक्षी बनाएर रिट दर्ता गराएकी थिइन् ।
गत वैशाख ९ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । अन्य ६ वटा इजलासले हेर्न नमिल्ने भएपछि मंगलबार न्यायाधीशद्वय डा. सुवेदी र ढकालको इजलासमा परेर सुनुवाइ भएको थियो ।