३२ असार २०८३, बिहीबार

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

जेठ १०, २०८२
बुटवल
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेशसभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । छैठौं अधिवेशनको आठौं बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रममाथि २ दिन छलफल चेको थियो ।

प्रदेश सरकारले प्रदेशको समग्र विकास गर्ने गरी कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

जेठ ५ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई सांसदहरूले प्रदेशको विकासका लागि उत्कृष्ट भन्दै त्यसलाई बजेटमार्फत सम्बोधन गर्न सुझाव दिएका थिए ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

शनिबारको बैठकलाई सम्बोधन गर्दै उनले कार्यान्वयनको लागि प्रभावकारी अनुगमन व्यवस्था मिलाइने जानकारी पनि दिए । ‘रचनात्मक सुझाव प्राप्त भएको छ । छलफलमा सहभागी हुने सबै माननीयज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यहाँहरूले दिएका सुझावलाई भोलिका दिनमा क्रमिक रूपमा अघि बढाउन सकिने सुझावलाई सरकारको तर्फबाट, विषयगत मन्त्रालयमार्फत सम्बोधन गर्ने कोशिश गर्नेछौं,’ मुख्यमन्त्री आचार्यले भने, ‘नीति तथा कार्यक्रम सरकारको दिशा निर्देशन गर्ने कार्यक्रम हो । आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रमगत र आयोजनागत रूपमा सम्बोधनको विनियोजन विधेयक ल्याइनेछ ।’

उनले यसपटकको नीति तथा कार्यक्रम वास्तविक धरातलमा आधारित, कार्यान्वयन योग्य रहेको र विगतका योजनाहरूको विश्लेषण, साधन स्रोतको सीमा, अन्तरसम्बन्ध तथा तीन तहका सरकारबीचको समन्वय र साझेदारीको संवैधानिक दायरा मनन गरेर तयार पारिएको जानकारी दिए ।

सरकारले वस्तुनिष्ठ र कार्यान्वयन योग्य बजेट बनाउने तयारी गरिरहेको पनि मुख्यमन्त्री आचार्यले स्पष्ट पारे ।

दुई दिनसम्म चलेको छलफलमा ४० जना प्रदेशसभा सदस्यले सुझावसहित धारणा व्यक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्