२३ असार २०८३, मंगलबार
फैसला कार्यान्वयनमा सुस्तता

अदालतबाट दोषी ठहर भएका डेढ लाखजना अझै फरार, २९ अर्ब जरिवाना उठ्न बाँकी

जेठ १४, २०८२
काठमाडौं
अदालतबाट दोषी ठहर भएका डेढ लाखजना अझै फरार, २९ अर्ब जरिवाना उठ्न बाँकी

अदालतबाट दोषी ठहर भएका करिब डेढ लाख अभियुक्त फरार रहेको पाइएको छ । झण्डै २९ अर्ब जरिवाना उठ्न बाँकी नै छ ।

न्यायिक सिद्धान्तअनुसार अदालतको फैसला कार्यान्वयन नभई पीडितले न्याय प्राप्त गरेको मान्न सकिँदैन । अदालतले फैसला गर्नेबित्तिकै त्यसको तत्काल कार्यान्वयन हुनुपर्छ । 

तर, सर्वोच्च र विशेष अदालतसँगै देशभरका अदालतले विभिन्न मुद्दामा गरेको फैसलाको तथ्यांक हेर्दा कार्यान्वयन पक्ष ज्यादै फितलो देखिन्छ । 

विभिन्न मुद्दामा कसुर ठहर भएर सजाय तोकिएका १ लाख ५७ हजार ६ सय ३४ जना अभियुक्त अझै फरार छन् । यीमध्ये २ हजार ५ सय ४३ जना विदेशी नागरिक छन् । 

अदालतको फैसला कार्यान्वयन (फरार अभियुक्त पक्राउ) गर्ने काम नेपाल प्रहरीको हो । ७७ वटा जिल्ला प्रहरी कार्यालय र मातहतले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको पत्रका आधारमा फरार अभियुक्त पक्राउ गर्दै आएका छन् । 

फरार अभियुक्तको संख्या र पक्राउ संख्यालाई आधार मान्ने हो भने कार्यान्वयन पक्ष निकै फितलो देखिन्छ । 

निर्देशनालयका सूचना अधिकारी नुनेत्रहरि पौडेलका अनुसार २०८१/०८२ को चैत महिनासम्मको अभिलेख हेर्दा पुरानो र नयाँ गरी १ लाख १५ हजार ३ सय १८ वर्ष १० महिना १३ दिन कैद असुल गर्न बाँकी छ । 

पौडेलका अनुसार २९ अर्ब ९९ करोड ८६ लाख १७ हजार ९ सय ५ रुपैयाँ जरिवाना अभियुक्तहरूबाट असुलउपर गर्न बाँकी छ । 

सरकारी बिगोतर्फ हेर्दा २ अर्ब १६ करोड ९२ लाख ८३ हजार ९६ रुपैयाँ उठाउन बाँकी रहेको निर्देशनालयले जनाएको छ । अदालतले विभिन्न मुद्दाको फैसला गर्दा पीडितलाई क्षतिपूर्ति भराउन समेत आदेश गरेको हुन्छ । 

तथ्यांकअनुसार २०८१/०८२ चैतसम्म पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने रकम १ अर्ब १९ करोड ९३ लाख ४७ हजार ४ सय ८४ रुपैयाँ उठ्न बाँकी छ ।

फैसला कार्यान्वयनका लागि ३८ हजार ७ सय ७४ वटा निवेदन परेका छन् । 

निर्देशनालयका सूचना अधिकारी पौडेलका अनुसार व्यक्तिगत तथा सार्वजनिक सरोकारका निवेदन समेत पर्दै आएका छन् । व्यक्तिगततर्फ परेका ४ सय ७८ वटा निवेदनमध्ये ५२ वटा मात्रै फर्स्यौट भएका छन् । 

त्यस्तै, सार्वजनिक सरोकारतर्फ २ सय ३ वटा निवेदन परेकोमा ५९ वटा मात्रै फर्स्यौट भएका छन् । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा मात्रै देशभरका प्रहरी युनिटबाट १४ हजार ७ सय ६४ जना फरार अभियुक्तलाई पक्राउ गरिएको थियो । 

उक्त आर्थिक वर्षमा मात्रै प्रहरीका विभिन्न युनिटबाट ५९ हजार २ सय ३ वटा मुद्दा दर्ता भएका थिए । 

यसआधारमा प्रतिदिन १६२ वटा मुद्दा दर्ता हुने गरेको देखिन्छ । सबैभन्दा बढी मुद्दा दर्ता बैंकिङ कसुरका छन् । बैंकिङ कसुरका १३ हजार २६३, सार्वजनिक अपराधका १० हजार ७५६, आत्महत्याका ७ हजार १९४ र लागुऔषधका ४ हजार ४९८ मुद्दा दर्ता भएका थिए । 

त्यस्तै, चोरीका ३ हजार ७५८, जबरजस्ती करणीका २ हजार ५०७, ठगी र आपराधिक लाभका १ हजार ८७४, सवारी ज्यानका १ हजार ७७५ र ज्यान मार्ने उद्योगका १ हजार १९ वटा मुद्दा दर्ता भएका थिए ।

‘फैसला कार्यान्वयन निर्देशनालयको पत्रानुसार हामीले फरार अभियुक्त पक्राउ गर्नेतर्फ पनि विशेष ध्यान दिँदै आएका छौं,’ एसएसपी थापाले लोकान्तरसँग भने, ‘मुद्दा चल्ने प्रहरी युनिटहरूमा मुद्दाको चाप बढ्दो छ । दैनिक घटनाक्रम र जाहेरीमाथि अनुसन्धान गर्नुपर्ने चापका कारण पनि फरार अभियुक्त पक्राउ अझै प्रभावकारी हुन सकेको छैन ।’ 

कहिले पक्राउ पर्छन् जीबी राई र जीवन चलाउने ? 

फरार अभियुक्तको सूचीमा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका तत्कालीन बिजनेस पार्टनर गितेन्द्रबाबु (जीबी) राईदेखि 'ब्रेक शु'भित्र लुकाएर तस्करी भएको ६० किलोभन्दा बढी सुनमा जोडिएका जीवन चलाउनेसम्म छन् । 

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको अभियोग लागेका ग्यालेक्सी टेलिभिजनका तत्कालीन अध्यक्ष राई मलेसियामा लुकेर बसेको भनिएको छ । 

प्रहरी प्रधान कार्यालयले एसपीको कमान्डमा २ प्रहरी अधिकृतलाई मलेसिया पनि पठायो । तर, पक्राउ गरेर ल्याउन सकेन । 

प्रहरीले राईविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन र रेड नोटिस समेत जारी गरिसकेको छ । त्यसो त चलाउनेविरुद्ध पनि डिफ्युजन नोटिस जारी भइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्