०५ साउन २०८३, मंगलबार

काम गरेर थाकेको बेला किताब लेख्ने मान्छे

जेठ १७, २०८२
काठमाडौं
काम गरेर थाकेको बेला किताब लेख्ने मान्छे

विदेश बस्नेहरूले घर किन्ने, गाडी किन्ने, होटल, रेस्टुरेन्ट खोल्नेबारे धेरै सोच्छन्। तर, दशकौंदेखि विदेशमा बसिरहेका पञ्चम अधिकारी प्रायः किताब लेख्न बारे सोच्छन्। किताब लेखनले उनको जीवनमा कति नाफा–नोक्सान भयो, त्यो थाहा छैन। तर, उनले लेखेका किताब प्रवासमा रहेका नेपालीको मनोदशा समेटिएको संग्रहालय जस्तो देखिन्छ।

मानिसहरू दिनभर काम गर्छन्, पसिना बगाउँछन् र थकित हुन्छन्। यस्तो थकानको घडीमा अधिकांश मानिसहरूको चाहना विश्राम, निद्रा वा सानो मनोरञ्जनमा हुन्छ। तर, पञ्चम अधिकारी भने काम गरेर थाकेको बेलामा घर फर्किएर केही लेख्न शुरू गरिहाल्छन्। ती कागजमा टिपोट गरिएका लेखनमध्ये धेरैले किताबको रूप धारण गरिसकेका छन्।

तनहुँमा जन्मिएर चितवनमा हुर्किएका लेखक पञ्चम अधिकारी स्नातक सकेपछि स्नातकोत्तर पढ्नका लागि काठमाडौं आए, जहाँ उनी पत्रकारितामा ज्यादा भिजे। उनले नेपालका दर्जनौं मिडियामा काम गरे। नयाँ दिल्लीको इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट पत्रकारितामा डिप्लोमा लिएपछि नेपाल फर्किएर केही समय टेलिभिजनसँग आबद्ध भएर पनि काम गरे।

तर, अरू जस्तै उनलाई पनि विदेश जानुपर्ने रहर, बाध्यता, परिस्थिति सबैथोक आइपुग्यो। उनी सन् १९९९ देखि बेल्जियममा सपरिवार बस्दै आएका छन्। परिवार लालनपालनका लागि युरोपेली देशहरूको शक्ति केन्द्रको रूपमा रहेको महत्त्वपूर्ण शहर ब्रसेल्समा एक ग्लोबल आईटी कम्पनीमा काम गर्छन्। तर, अन्तर्मनमा भने उनी एक कलमजीवी हुन्।

श्रमजीवी र कलमजीवी भएर एकैसाथ उभिएका पञ्चमले फ्रेन्च तथा डच भाषा पनि सिकेका छन्। नेपालको विषयवस्तुलाई आधार बनाएर उनका अन्य भाषामा पनि लेख–रचना प्रकाशित भइरहेका छन्। नेपाली भाषामा उनले पहिलो किताबका रूपमा ‘पथिक प्रवासन’ उपन्यास लेखेका थिए। अधिकारीको दोस्रो कृति हो, कथा संग्रह-‘प्रवासीको देश हुन्न’।

लेखन क्षेत्रमा निरन्तर सक्रिय पञ्चम भन्छन्- मलाई कसैले लेखकका रूपमा चिनोस् भनेर लेख्दिनँ । तर, लेखिसकेपछि कहिलेकाहीँ आफ्नै लेखनी ओझेलमा पर्नुहुँदैन भन्ने लाग्दो रहेछ। त्यही भएर सामाजिक सञ्जालमा पनि सक्रिय नै हुन्छु।

आफूले कुनै मूल्य प्राप्त गर्न वा लेखेरै जीवन धान्नका लागि किताब लेखेको नभई, भित्रको खोज र हुटहुटीलाई शब्दमार्फत् पूरा गरेको अधिकारीको धारणा छ।

तनहुँको हरियो डाँडामुनि जन्मिएर चितवनको चिसो हावामा हुर्केका पञ्चम, जीवनको प्रारम्भिक कालखण्डदेखि नै शब्दसँग घुलमिल भए। ती बालक, जसका आँखा किताबको पाना चहार्थे, आज पनि यात्रामा छन्- कहिल्यै नथाक्ने यात्रामा- लेखन, पत्रकारिता र जीवनको।

पञ्चम अधिकारी, जसका पाइला भूमण्डलभरि छन्, तर मुटुमा अझै पनि नेपालको आकाश, बेँसी, नदी र माटो बोकेर हिँडिरहेका छन्। उनी ती विरल लेखक हुन्, जो भूमिमा छैनन्, तर हरेक पाठकको आत्मामा कतै न कतै साक्षात्कार भइरहेका हुन्छन्- कहिले यात्रामा, कहिले कथामा, कहिले सम्झनामा।

अधिकारीद्वारा रचित कथासंग्रह ‘प्रवासीको देश हुन्न’ नेपाली डायस्पोरा साहित्यको भावनात्मक, दार्शनिक र सौन्दर्यात्मक उचाइमा उभिएको एउटा सशक्त दस्तावेज हो। यो कृति केवल प्रवासमा पसिना चुहाएका श्रमिकहरूको कथा होइन; यो त भोगिएको पीडाको, गुमाइएको पहिचानको र जीवनको परत–परतमा गुञ्जिएको मौन करुणाको साहित्यिक गाथा हो।

पञ्चमका कथाहरूमा न त अनावश्यक कलात्मक देखावटीपन छ, न त सस्तो भावना बेच्ने आत्मदया। बरु, प्रत्येक कथा एउटा जीवनको सजीव चित्र हो- कहिले चीसो यथार्थको धुँवा, कहिले आत्मा थाम्न नसक्ने रुवाई। ती कथा पढ्दा लाग्छ- यी केवल पाना भरिएका अक्षरहरू होइनन्, यी त पिठ्यूँमा बोकेका सपना, टाँसिएर आएका पीडा र झोलाभित्र थन्क्याइएका स्मृतिहरू हुन्।

विदेशको माटोमा बसोबास गर्दाको अनुभव, सांस्कृतिक टकराव, पहिचानको खोज, अनि हृदयमा गडेको देशप्रेम- यी सबै भावना उनका कथामा सजीव रूपमा बोल्छन्। यो कथासंग्रह केवल प्रवासी जीवनका कथा होइनन्, यी त आत्मासँग गफ गर्ने कथा हुन्, जसले पाठकलाई पनि आफ्नै प्रश्नहरूसँग आमने–सामने गराउँछन्।

‘प्रवासीको देश हुन्न’ भन्ने शीर्षक आफैंमा एक गहिरो विचार हो- जहाँ भौगोलिक रूपमा परदेशमा भए पनि मन र आत्मा सधैँ जन्मभूमिमै बसिरहन्छ। यस संग्रहका कथाहरूमा उनले लेखकीय परिपक्वता, जीवनको बहुस्तरीय अनुभव र भाषिक संवेदनशीलता प्रस्तुत गरेका छन्।

यस कृतिको जन्म पञ्चम अधिकारीको भोगाइ, सोचाइ र लेखकीय संकल्पको संगम हो- जहाँ उनी केवल कथा भन्दैनन्, प्रवासी मनका गहिरा अनुभूतिहरू कागजमा पोख्छन्।

लेखकका दृष्टिमा प्रवास केवल भौगोलिक दूरी होइन, त्यो त आत्माको भास, सम्बन्धको गहिराइ र पहिचानको गुम्सिएको घडी हो। जब लेखक भन्छन्, ‘प्रवासमा म एक प्रेमिका, एउटा बो–बो नामको कुकुर र एउटा झण्डा गुमाएँ’ तब पाठकको मन पनि चिसिँदै जान्छ। यति छोटो वाक्यले भोगाइको विशाल समुद्र खन्याउँछ।

‘इडियट’जस्तो कथा आत्मालोचनाको आरश हो- जहाँ पञ्चम आफैंलाई लेखक नभएर ‘इडियट’को रूपमा उभ्याउँछन्। त्यो इडियट केवल उनी होइनन्, त्यो त हामी सबै हौं- जसले आफ्नै भाषालाई टुक्र्याएर, प्रेमलाई उडायौं र झण्डालाई बाकसमा राख्यौं। त्यही ‘इडियट’ले देश खोज्छ, आफन्त भुल्छ, र कहिले काँडा काटेर, कहिले आँसु लुकाएर आत्मा लेख्छ।

संग्रहको शीर्षक कथा ‘प्रवासीको देश हुन्न’ केवल कथावाचन होइन, प्रवासी नेपालीहरूको आत्मघाती अन्तर्द्वन्द्वको उद्घोष हो। पञ्चमका दृष्टिमा, प्रवासमा मृत्युवरण गरेका नेपालीहरूको लाश बाकस मात्र होइन, त्यो बाकस नै अब देश बनेको छ। र, त्यस बाकसमा बेरिएको झण्डा केवल कपडाको टुक्रा होइन-त्यो हो उनीहरूको अन्तिम श्वाससँगै बाँधिएको मातृभूमिको सपना।

उनको साहित्यशैली प्राज्ञिक छ, तर बौद्धिक तुसारोभित्र जमेको छैन। हरेक वाक्यले जीवनको स्पर्श गर्छ र हरेक पृष्ठले पाठकलाई अवाक् बनाउँछ। कहिले सरल, कहिले गहिरो, कहिले मार्मिक व्यङ्ग्यले चस्काउँछ । 

salt training

कमेन्ट गर्नुहोस्