२१ असार २०८३, आइतबार

१० महिनामा जीवन बीमा क्षेत्रबाट १ खर्ब ४० अर्ब ३५ करोड बीमा शुल्क सङ्कलन

जेठ २५, २०८२
काठमाडौं
१० महिनामा जीवन बीमा क्षेत्रबाट १ खर्ब ४० अर्ब ३५ करोड बीमा शुल्क सङ्कलन

नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मका बीमा क्षेत्रका प्रमुख तथ्याङ्कहरूको विश्लेषणसहित ‘बीमा प्रतिविम्ब’ नामक प्रतिवेदनको दोस्रो संस्करण सार्वजनिक गरेको छ।

प्राधिकरणले जारी गरेको उक्त संस्करणमा बीमा क्षेत्रको बीमालेख सङ्ख्या, बीमाशुल्क सङ्कलन, दाबी भुक्तानी, जीवन बीमाको पहुँच, बीमकहरूको वित्तीय अवस्था, समर्पण तथा व्यतित विवरण, शाखा कार्यालय र कर्मचारी विवरणलगायत विभिन्न पक्ष समेटिएको छ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा क्षेत्रले १५.५५ प्रतिशतले वृद्धि हासिल गर्दै एक खर्ब ४० अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको छ। त्यस्तै, जीवन र निर्जीवन बीमा गरी कुल बीमा शुल्क सङ्कलन एक खर्ब ७६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.०३ प्रतिशतले वृद्धि हो।

दाबी भुक्तानीतर्फ जीवन बीमामा दुई लाख १८ हजार ९५१ वटा दाबीका आधारमा ४८ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी गरिएको छ। यद्यपि, अघिल्लो वर्षको तुलनामा दाबीको सङ्ख्या र रकममा केही गिरावट आएको उल्लेख गरिएको छ। हालसम्म ५३ हजार ४८१ वटा दाबीअन्तर्गत ४ अर्ब ४५ करोड रुपैयाँको भुक्तानी हुन बाँकी रहेको जनाइएको छ।

निर्जीवन बीमातर्फ १ लाख १३ हजार ९३७ वटा दाबीमा १२ अर्ब ५८ करोड रुपैयाँ भुक्तानी गरिएको छ भने ३० अर्ब ३३ करोड रुपैयाँ बराबरको १ लाख ५ हजार ६२० वटा दाबी अझै बाँकी रहेको देखिन्छ।

यता, वैशाख मसान्तसम्ममा ८८ हजार ६३५ बीमालेख समर्पण भएका छन्, जसअन्तर्गत १२ अर्ब २७ करोड रुपैयाँ फिर्ता गरिएको छ। त्यसैगरी, १२ लाख ५४ हजार ४७८ बीमालेख व्यतित भएका छन्, जसको रकम ३६ अर्ब ८६ करोड रुपैयाँ रहेको छ।

बीमा शुल्क सङ्कलन, बीमालेख जारी तथा कर्मचारी संख्या वृद्धिले बीमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको देखिए पनि, बीमा दाबी भुक्तानीमा ढिलाइ तथा केही प्रदेशहरूमा सेवा विस्तारको चुनौती अझै कायम रहेको प्राधिकरणको निष्कर्ष छ।

salt training

कमेन्ट गर्नुहोस्