२२ असार २०८३, सोमबार

सर्वोच्चले आफ्नै मुख्य रजिस्ट्रारविरुद्ध आदेश गरेको एउटा मुद्दा– यस्तो छ घटनाको नालीबेली

जेठ २६, २०८२
काठमाडौं
सर्वोच्चले आफ्नै मुख्य रजिस्ट्रारविरुद्ध आदेश गरेको एउटा मुद्दा– यस्तो छ घटनाको नालीबेली

हकदैया नहुने (हक नलाग्ने) व्यक्तिको रिट दर्ता गरेकोमा सर्वोच्च अदालतले मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाललाई अदालतको काम, कर्तव्य र अधिकार जिम्मेवारी पूर्वक पालना गर्न आदेश गरेको छ ।

रिट निवेदन दर्ता गर्दा कानूनी आधार र हकदैयाको सुनिश्चितता गर्न तथा अनावश्यक वा गैरकानूनी रिट दायर हुन नदिन सर्वोच्च अदालतले मुख्य रजिस्ट्रारको नाममा आदेश गरेको हो ।

रिट निवेदनहरूको प्रारम्भिक जाँचमा कडाइ गर्न र सर्वोच्च अदालत नियमावली, २०७४ बमोजिम प्रक्रियागत जिम्मेवारी पूरा गर्न सर्वोच्चले मुख्य रजिस्ट्रारलाई आदेश गरेको छ ।

सर्वोच्च अदालतबाट अन्तिम फैसला भैसक्दा पनि त्यस विषयमा परेको रिट दर्ता गरेपछि सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीले २०८२ वैशाख ११ गते उक्त आदेश गरेका हुन् । उक्त आदेशको पूर्णपाठ सोमबार सार्वजनिक भएको छ ।

महोत्तरीको जलेश्वर निवासी दिनेश चौधरीले दायर गरेको पुनरवलोकन रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुवेदीको एकल इजलासले उक्त आदेश गरेको हो । दिनेश चौधरी मुकेह चौधरीका बुवा हुन् । तर, उनले रिट दायर गर्दा बुवाको पहिचान लुकाएर इन्जिनीयर तथा अधिवक्ता उल्लेख गरेका थिए ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–११का अर्जुनसिंह उर्फ मुकेश कुमार चौधरीविरुद्ध धनुषा, बाँके र महोत्तरी जिल्ला अदालतहरूमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, संगठित अपराध, हातहतियार खरखजना, जबरजस्ती चोरी, अपहरण तथा शारीरिक बन्धक र विस्फोटक पदार्थसम्बन्धी ११ वटा मुद्दा दायर भएका थिए ।

ती मुद्दाहरूमा विभिन्न कसुरमा सजाय सुनाइएको थियो । जसमा जन्मकैदको सजाय समेत रहेको थियो ।

चौधरीले आफूलाई जेलबाट रिहा गर्न र कैद मिनाहा गर्न माग गर्दै सर्वोच्च अदालतमा यसअघि रिट निवेदन दायर गरेका थिए ।

उक्त रिटमा २०७९ पुस २० गते निवेदकको मागबमोजिम सर्वोच्च अदालतले परमादेशको आदेश जारी गरेको थियो ।

तर, उक्त आदेश कार्यान्वयन नभएको भन्दै चौधरीले अदालतको अवहेलनामा कारबाहीको माग गर्दै अर्को रिट निवेदन दायर गरे । उक्त निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्चले २०८१ पुस १८  मा पुनरवलोकनको अनुमति प्रदान गर्न नमिल्ने भन्दै रिट खारेज गरेको थियो ।

तर, पछि जलेश्वरकै दिनेश चौधरी नामक व्यक्तिले अदालतको अवहेलनामा कारबाही गरी पाऊँ भन्दै २०८१ असार २६ गते पुनः पुनरवलोकनको माग गर्दै परमादेशको आदेश जारी गरी पाऔं भन्दै रिट दायर गरे । सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुवेदीले मुख्य रजिस्ट्रारलाई ध्यानाकर्षण गराउँदै आदेश गरेको हो ।

‘यस अदालतको संयुक्त इजलासबाट भएको अन्तिम आदेश (फैसला) उपर सम्बन्धित निवेदकले न्याय प्रशासन ऐन, २०७३ को दफा ११ बमोजिम पुनरवलोकनको निवेदन गरी यस अदालतको पूर्ण इजलासबाट पुनरवलोकनको अनुमति नहुने भनी अन्तिम भई बसेको फैसलाउपर उक्त निवेदनमा उठाइएको विषयवस्तुसँग सरोकार नरहेका यी रिट निवेदकले दायर गर्न ल्याएको प्रस्तुत रिट निवेदन प्रथम दृष्टिमा नै हकदैयाविहीन र फैसलाको अन्तिमताको सिद्धान्तसमेतको विपरीत देखिएकोमा निवेदन दर्ता गर्ने अधिकारीले सो कुराको जाँचबुझ नै नगरी रिट निवेदन दर्ता गरेको देखिँदा सर्वोच्च अदालत नियमावली, २०७४ द्वारा निर्धारित काम, कर्तव्य र अधिकारको जिम्मेवारीपूर्वक बहन गर्न/गराउन, सम्बन्धित अधिकारीको ध्यानाकर्षण गराउनू भनी प्रस्तुत आदेशको प्रति यस अदालतका मुख्य रजिस्ट्रारलाई पठाउनू,’ न्यायाधीश सुवेदीको इजलासले गरेको आदेशमा उल्लेख छ ।

null

को हुन् अर्जुन सिंह ?

महोत्तरीको जलेश्वर निवासी अर्जुन सिंह उर्फ मुकेश चौधरी भूमिगत समूह तराई जनतान्त्रिक पार्टी मधेशका केन्द्रीय संयोजक थिए ।

२०६३ सालको अन्तिमतिर जनतान्त्रिक तराई मुक्ति मोर्चाका ज्वाला सिंह भनिने नागेन्द्र पासवानसँग सम्पर्क गरी उनले भूमिगत जीवन शुरू गरेका थिए ।

२०६२/०६३ सालको मधेश आन्दोलनपश्चात ज्वाला सिंह समूहको प्रवक्ता समेत भई काम गरेका चौधरीले २०६४ सालमा आफैँ केन्द्रीय अध्यक्ष भएको तराई जनतान्त्रिक पार्टी, मधेश नामको समूह बनाएका थिए ।

त्यसपछि २०६८ माघ १४ गते भारतको दयाल कोलोनीमा रहेको उनको कोठामा बसी मधेस मुक्ति टाइगर्सका राजन प्रताप भनिने प्रफुल्ल, जनतान्त्रिक तराई मुक्ति मोर्चाका राजन मुक्ति भनिने रञ्जित झा, तराई कोब्राका संयोजक नागराज भनिने उमेश तिवारी र चौधरीको पार्टी मिली मोर्चाबन्दी गरेर स्वतन्त्र मधेशी मोर्चा गठन गरेका थिए ।

२०६९ वैशाख १८ गते जनकपुरमा मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्ना बसेका बेलामा मुकेशको निर्देशनमा गराइएको बम विष्फोटबाट मिथिला नाट्यकला परिषद्का कलाकार रञ्जु झा, सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र विमल शरणको ज्यान गएको थियो । त्यसबाहेक उक्त विस्फोटनमा परी दुईदर्जन भन्दा बढी मानिसहरू घाइते भएका थिए ।

त्यसैगरी, २०६६ फागुन १७ गते होली खेलिरहेको अवस्थामा सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको जिम्मेवारी पनि मुकेश चौधरीले नै लिएका थिए ।

त्यसैगरी,  महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख रञ्जित राय पाठकलाई अपहरण गरी बन्धक बनाएर मानसिक यातना दिई तनावमा पारे हत्या गर्ने धम्की ७ लाख फिरौती बुझेका थिए ।

त्यसैगरी, २०६६ माघ १२ गते तत्कालीन गाविस सचिव इन्द्रबहादुर श्रेष्ठको हत्या गराएका थिए ।

२०६८ चैत १७ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय जलेश्वरमा उनले बम विस्फोट गराएका थिए । त्यसबाहेक विभिन्न जिल्लामा उनले दर्जनौं आपराधिक गतिविधि गरेका थिए ।

हेर्नुहोस्, आदेश :

 

salt training

कमेन्ट गर्नुहोस्