०३ साउन २०८३, आइतबार

उम्मेदवार जसले आफैलाई भोट हाल्न पाएनन्

मंसिर २१, २०७४
उम्मेदवार जसले आफैलाई भोट हाल्न पाएनन्

काठमाडौं, २१ मंसिर – दोस्रो चरणको चुनाव अन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा तर्फको निर्वाचन भइरहेको छ ।

नेताहरुले विभिन्न ठाउँबाट मतदान गरिरहेका छन् । आम मतदाताले समेत आफ्नो मतदान केन्द्रबाट समेत मतदान गरिरहेका छन् ।

निर्वाचनमा केही ठूला नेताले आफैलाई मत दिने सौभाग्य पाए तर  केहीले चाहिँ आफैलाई मत दिन पाएनन् । चितवन पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैंलाई मतदान गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट आफैलाई मत दिँदैछन् ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट आफैलाई मत दिँदैछन् । तर केही ठूला नेताले आफैलाई मत दिन पाएनन् ।

कारण, प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेपालभर जहाँबाट पनि चुनाव उठ्न पाइन्छ । तर मत चाहिँ आफ्नो नामावली जहाँ छ त्यहाँबाट मात्रै खसाल्न पाइन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवासम्मले आफैलाई मत दिन पाएनन् ।

आफैलाई मत दिन नपाउने नेताहरूको विवरण यस्तो रहेको छ ।

केपी शर्मा ओली
एमाले अध्यक्ष केपी शर्मा ओली झापाको क्षेत्र नम्बर पाँचबाट उम्मेदवार बनेका छन् । तर ओलीले आफ्नो नामावली झापाबाट भक्तपुर ल्याएका छन् । उनले सूर्यविनायक नगरपालिका २ बाट मतदान गर्नेछन् तर उनले झापा पुगेर आफैलाई मत दिन चाहिँ पाउने छैनन् ।

माधवकुमार नेपाल
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले रौतहटबाट मतदान गर्न पाउँछन् । तर उनी काठमाडौं दुईबाट उम्मेदवार बनेका छन् । त्यसले यसपाली नेपालले पनि आफूलाई मत दिन पाउने छैनन् ।

कृष्णबहादुर महरा
माओवादी नेता कृष्णबहादुर महराले पनि आफैलाई मत दिन पाउने छैनन् । दाङको क्षेत्र नम्बर एकबाट उम्मेदवार बनेका महराको मतदाता नामावली रोल्पाको लिवाङमा रहेको छ ।

उपेन्द्र यादव
संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवले पनि आफैलाई मत दिन पाउने छैनन् । उनको मतदाता नामावली मोरङको विराटनगरमा रहेको छ ।

महन्थ ठाकुर
राजपाका अध्यक्ष मण्डल नेता महन्थ ठाकुर महोत्तरीबाट चुनाव लड्दैछन् । तर उनको मतदाता नामावली सर्लाहीको बलारा नगरपालिकामा रहेको छ । 

राजेन्द्र महतो
राजपाका अध्यक्ष मण्डल नेता राजेन्द्र महतोले पनि आफैलाई मत दिन पाउने छैनन् । उनको नामावली सर्लाहीमा छ । उनी चाहिँ धनुषा क्षेत्र नम्बर तीनबाट उम्मेदवार बनेका छन् ।

रवीन्द्र मिश्र 
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पनि आफूलाई भोट दिन पाएनन् । उनी काठमाडौंको क्षेत्र नम्बर एकमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । तर उनले आफैलाई मत दिन पाएनन् । उनले ललितपुरबाट मतदान गरेका छन् ।
 

दमननाथ ढुंगाना
कांग्रेस नेता दमननाथ ढुंगाना भक्तपुर क्षेत्र नम्बर दुईबाट उम्मेदवार छन् । तर उनको नामावली काठमाडौंको क्षेत्र नम्बर दुईमा रहेको छ । उनले पनि आफैलाई मत दिन पाउने छैनन् ।

सुरेन्द्र कार्की
माओवादी नेता सुरेन्द्र कार्कीले पनि आफैलाई मत दिन पाउने छैनन् । झापाको क्षेत्र नम्बर एकबाट चुनाव लड्दै गरेका उनको मतदाता नामावली काठमाडौंमा रहेको छ ।

झक्कुप्रसाद सुवेदी
माओवादी नेता झक्कुप्रसाद सुवेदी काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका छन् । उनको नामावली रोल्पामा रहेको छ ।

मिनेन्द्र रिजाल
कांग्रेस नेता मिनेन्द्र रिजाल मोरङ क्षेत्र नम्बर दुईबाट चुनाव लड्दै छन् । तरको मतदाता नामावली चाहिँ विराटनगर महानगरपालिका १ मा रहेको छ ।

आरजु देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ आरजु देउवाले पनि आफैलाई मत दिन पाउने छैनन् । कैलाली ५ बाट उम्मेदवार रहेकी उनको मतदाता नामावली डडेल्धुरामा रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्