
१४ वर्षअघि सरकारले मध्य पहाडी क्षेत्रमा आधुनिक नयाँ शहरहरूको विकास तथा निर्माण गर्ने महत्त्वाकांक्षी आयोजना शुरू गरेको थियो । आर्थिक वर्ष २०६७/६८ देखि चालू आर्थिक वर्षसम्म मध्य पहाडी लोक मार्गमा मात्रै नयाँ शहर आयोजनाको संख्या १२ पुगिसकेको छ । यसबाहेक स्मार्ट शहर, हुलाकी लोक मार्ग, तराईं–मधेश, हिमाली पदमार्ग र अध्ययनको क्रममा रहेकागरी आयोजनामा शहर तथा वस्तीको संख्या ६० छ ।
हरेक वर्ष १ अर्बको बजेटअनुसार नयाँ शहरको आयोजना अगाडि बढाउने भनिए पनि काम भने लाख र करोडमा मात्रै भैरहेको छ । जसले गर्दा आयोजनाको काम देखिएको छैन भने बजेट पनि छरिएको छ ।
नयाँ शहर आयोजनाले २०९० सालसम्म मुख्य १० नयाँ शहरमा कम्तिमा एक एक लाख जनसंख्याको लागि पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको छ । तर, बजेट विनियोजन नहुनाले वार्षिक आयोजनाहरूलाई केबल निरन्तरता दिने काम मात्रै भइरहेको नयाँ शहर आयोजना समन्वय कार्यालयका निर्देशक मिलन आचार्यले बताए । आयोजनामा शहरहरू थपिँदै गए पनि पर्याप्त बजेट विनियोजन नहुँदा अपेक्षितरूपमा काम अगाडि बढाउन नसकिएको उनको भनाइ छ । ‘काम नभएको होइन, भइरहेको छ । तर, आयोजनाको लागत अर्बौंको छ, बजेट करोड र लाखमा विनियोजन हुन्छ’, उनले भने, ‘यसरी अपेक्षा गरेअनुसार आयोजना समयमा सम्पन्न हुने सम्भावना हुँदैन ।’
नयाँ शहरको प्रगतिका नाममा हालसम्म केही सडक सुधारबाहेक योजनाले ठोस भौतिक स्वरूप लिन नसकेको महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । महालेखाले शुरूमा तय भएका नयाँ शहरहरूको काम पूरा नहुँदै थप नयाँ आयोजना शुरू गरिनु योजनाको असफलताको एक प्रमुख कारण भएको उल्लेख गरेको छ ।
एकैसाथ थुप्रै स्थानमा आयोजना थालिए पनि त्यसको व्यवस्थापन, अनुगमन तथा बजेट अभावले गर्दा विकासको गति अत्यन्त सुस्त रहेको महालेखाको ठहर छ ।
कुन नयाँ शहरको काम कहाँ पुग्यो ?
वसन्तपुर–तेह्रथुम: तेह्रथुममा निर्माण भइरहेको नयाँ शहर आयोजनाको कुल लागत करिब ७० करोड अनुमान गरिएको छ । जहाँ अहिलेसम्म पहिलो चरणको काम सम्पन्न भई दोस्रो चरणको काम भइरहेको छ । दोस्रो चरणको कामका लागि टेन्डर लागिसकेको आयोजना कार्यालय, वसन्तपुरका कार्यालय प्रमुख सुदीप झाले बताए । उनका अनुसार दोस्रो चरणको काम १५ महिनामा सम्पन्न हुनेछ ।

‘पहिलो चरणको काम सम्पन्न भई दोस्रो चरणको टेन्डर पनि भइसकेको छ । दोस्रो चरणको कामका लागि २० करोड बजेट छ’, उनले भने, ‘हालसम्म करिब १४ करोडको काम भइसकेको छ । ट्रयाक खोल्ने काम भइरहेको छ । जग्गा प्राप्तिको काम पनि भइसकेको छ । अब अस्थायी लालपूर्जा बाँड्ने काम केही महिनाभित्रै हुनेछ ।’
बैरेनी–गल्छी:धादिङको बैरेनी–गल्छी नयाँ शहर बनाउन करिब १ अर्बको बजेट अनुमान हो । जसमा हालसम्म बाटो बनाउने, पार्क निमार्ण र जग्गा प्राप्तिको काम भइरहेको आयोजना कार्यालय धादिङका कार्यालय प्रमुख रुद्रनारायण मिश्रले बताए । उनका अनुसार ९०५ रोपनी जग्गा प्राप्तिको काम करिब करिब सम्पन्न भइसकेको छ ।
‘सडक निर्माणको काम सम्पन्न हुने चरणमा रहेको छ । बाँकी अन्य कामहरू निरन्तर भइरहेकै छन्’, उनले भने, ‘बजेट अनुसारको काम भइरहेको छ । बजेट बढी भएपछि काम पनि बढी हुन्छ । बजेटको अभाव देखिन्छ ।’
डुम्रे–भन्सार:तनहुँमा ४ वर्षअघि शुरू गरिएको नयाँ शहर आयोजनामा हालसम्म १ अर्ब बजेट खर्चको काम भएको छ । कुल ४४ अर्बको लागत अनुमान गरिएको आयोजनामा हालसम्म १ अर्ब बजेट खर्चको काम भएको आयोजना कार्यालयका प्रमुख अभिषेक अधिकारीले बताए । उनका अनुसार हालसम्म जेष्ठ नागरिक भवन, क्रियापुत्री भवन र कार्यालयको भवन निर्माणको काम भएको छ भने ग्रिन पार्क र सडक निर्माणको काम पनि भइरहेको छ ।
आर्थिक वर्ष २०७७/७८ बाट शुरू गरिएको यो आयोजनको लागि ६९३ रोपनी जग्गा प्राप्तिको लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको उनको भनाइ छ ।
चौरजहारी: पश्चिम रुकुममा आर्थिक वर्ष २०७२/७३ देखि वार्षिक १ अर्बको बजेट खर्च हुनेगरी नयाँ शहर आयोजना शुरू गरिएको थियो । चालू आर्थिक वर्षसम्म चौरजहारीमा १ अर्ब २५ करोड बजेट खर्च भएको आयोजना प्रमुख गौरी पण्डितले लोकान्तरलाई बताए । हालसम्म न्युनतम आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको र पहिलो चरणको लालपूर्जा वितरणको काम अन्तिम चरणमा पुगिसकेको उनको भनाइ छ ।
‘हालसम्म न्यूनतम् पूर्वाधार निर्माणको सम्पन्न भइसकेको छ । आयोजनामा एकीकृत सेवा केन्द्र भवन, कार्यालय भवन निर्माणको काम सम्पन्न भइसकेको छ । यसका साथै ६०० जना क्षमताको सभा हल निर्माणको काम ५० प्रतिशत भइसकेको छ भने, खेलकुदका लागि कबडहल निर्माणको काम पनि भइरहेको छ’, उनले भने, ‘आयोजनामा तीन चरणका जग्गा छुटाइएको छ । पहिलो चरणमा ५८५ रोपनी जग्गाको लालपूर्जा वितरण गर्ने चरणमा रहेको छ भने दोस्रो चरणमा ५०० रोपनी र तेस्रो चरणमा १५० रोपनी जग्गा विकास र लालपूर्जा वितरणको काम हुनेछ ।’
राकम–कर्णाली:आर्थिक वर्ष २०७०/७१ सालमा दैलेखको राकममा नयाँ शहरको आयोजना घोषणा भई काम शुरू भएको थियो । हालसम्म घोषणा भएका नयाँ शहर आयोजनाहरूमध्ये देखिनेगरी र बढी बजेट खर्च रामक–कर्णाली आयोजनामा भएको छ ।
हालसम्म १३६ रोपनी जग्गा विकसित गरेर १०८ घडेरी बनाएर लालपूर्जा वितरण गरिसकेको आयोजना प्रमुख प्रवेशराज लामिछानेले बताए । करिब ९०० मिटर ढलान सडक, पार्क निर्माण, प्रतीक्षालय निर्माण, सामुदायिक भवन र आयोजना कार्यालयको भवनलगायत पूर्वाधार निर्माणको काम गरिएको उनको भनाइ छ ।
‘हालसम्म आयोजनामा ४० करोड खर्च भएको छ । बजेट खर्चअनुसार पूर्वाधार निर्माणको काम पनि भएको देख्न सकिन्छ’, उनले भने, ‘चालू आर्थिक वर्षमा पनि तीन वटा ठेक्का लागेर असार मसान्तभित्र सम्पन्न हुने चरणमा छन् ।’

काम ढिलाइ हो कि बजेट अभाव ?
नयाँ शहर आयोजना राकम–कर्णालीका कार्यालय प्रमुखका अनुसार भौगोलिक अवस्थाअनुसार आयोजनाबाट काम भइरहेको छ । बहुवर्षीय आयोजनाको गति केही सुस्त भए पनि जनचेतना र वस्ती विकासका दृष्टिकोणबाट आयोजना सफल भइरहेको उनको भनाइ छ ।
‘एकै पटक आयोजना सम्पन्न भएको छैन । भौगोलिक रूपमा आयोजनाको मर्म र लक्ष्य अनुसारको काम भइरहेको छ’, उनले भने, ‘जनसंख्या एकाएक विकास हुँदैमा वृद्धि हुने होइन । हामीले त्यस अनुसार अगाडि बढ्नुपर्छ ।’ नयाँ शहर आयोजनाका लागि वार्षिक विनियोजन गरिएको बजेट र खर्च घटेको देखिन्छ ।

नयाँ शहर आयोजनाअन्तर्गत मध्य पहाडी लोक मार्गमा १२ वटा शहरहरू छन् । जहाँ फिदिम, चौरजहारी, वसन्तपुर, खुर्कोट, साँफेबगर, बैरेनी–गल्छी, पाटन, डुम्रे–भन्सार, भेपगङ्गा, बुर्तिवाङ र भिङ्ग्री नयाँ छन् । त्यस्तै, स्मार्ट सिटीअन्तर्गत लुम्बिनी, तुल्सिपुर, निजगढ, दुल्लु, पालुङटार, टीकापुर, धनकुटा, अमरगढी, मिर्चैया, गुन्डु बालकोट, भीमदत्त, काभ्रे, गौरीगञ्ज, भरतपुर, मौलापुर र वालिङ रहेका छन् ।
हुलाकी राजमार्गअन्तर्गत मौरीगञ्ज, महागढीमाई, रंगेली, बर्दघट, मनरा, राजापुर, ब्रह्मपुरी, भजनी, मौलापुर र बेरौरी रहेका छन् ।

तराई–मधेशमा शम्भुनाथ, कटहरिया, बलवा, गढवा र ईश्वरपुर नयाँ शहरहरू छन् । हिमाली पदमार्गमा लुक्ला, स्याफ्रुबेँसी, किमाथाङ्का, जोमसोम, चामे, सिमिकोट, मार्तडी, दुनै र कोल्टीगरी ९ वटा वस्तीहरू छन् । यसका साथै अध्ययनका क्रममा जिरी, मनाङ, नम भ्याली तथा हेदाङ्गना, कागबेनी र घुन्सा तथा ओलाङ्चुङ्गोजा गमगढी वस्तीहरू अध्ययनको क्रममा रहेका छन् ।