
अमेरिका–इरान सम्बन्धमा नयाँ अध्याय शुरू भएको छ, जुन या त अझ राम्रोका लागि हुन सक्छ, या झन् खराबका लागि।
झण्डै पाँच दशकदेखि विश्वले हेर्दै आएको छ— दुई देशबीचको एक ऐतिहासिक शत्रुता—धम्की, षड्यन्त्र र विषालु अभिव्यक्तिहरू । इरानी दृष्टिमा अमेरिका 'महान शैतान' हो भने अमेरिकी नजरमा इरान 'दुष्टताको धुरी' एवं 'खलनायक' ।
अहिले त्यही अमेरिकामा एक राष्ट्रपति छन्, जसले भन्छन्, 'भगवानले इरानलाई आशीर्वाद दिऊन्।'
अमेरिकाले केही दिनअघि इरानको आणविक केन्द्रलाई लक्षित गरेर ३ स्थानमा आक्रमण गर्यो, जसले गम्भीर क्षति पुर्यायो, तर ती पूर्ण रूपमा ध्वस्त भएनन् भन्ने अमेरिकी गुप्तचर रिपोर्टले ट्रम्पको दाबी 'इरानको आणविक कार्यक्रम समाप्त भएको छ' भन्ने कुरालाई खण्डन गर्छ।
केही प्रश्न र उत्तरहरू— दुई देशबीचको पुरानो शत्रुताका
किन ट्रम्पले चारैतिर आशीर्वाद बाँडे ?
युद्धविरामको प्रारम्भिक क्षणमै इजरायल र इरान दुबै पूर्ण रूपमा सहमत देखिनुअघि नै ट्रम्पले आफूले प्राप्त उपलब्धिमा गौरव गरे।
'भगवानले इजरायललाई आशीर्वाद दिऊन्,' उनले सामाजिक सञ्जालमा लेखे, 'भगवानले इरानलाई पनि आशीर्वाद दिऊन्।'
उनले मध्यपूर्व, अमेरिका र सम्पूर्ण विश्वका लागि पनि आशीर्वाद मागे।
तर, मध्यपूर्वमा सबै प्रकारका युद्ध रोकिएका छैनन्, उनले पछि तिनै आशीर्वाद दिएकाहरूलाई गाली गर्न थाले।
'हामीसँग दुईवटा देश छन्, जो यति लामो समयदेखि यति कडा रूपमा लडिरहेका छन् कि तिनीहरूलाई आफैं थाहा छैन के गर्दैछन्,' उनले क्यामेरामै भने।
त्यसबेला ट्रम्प विशेष रूपमा इजरायलप्रति आलोचनात्मक देखिए— जो अमेरिकाको स्थायी मित्र हो, किनकि उनीहरूको लडाइँ रोक्ने इच्छाशक्ति इरानको भन्दा कम देखिएको थियो। इरान भने त्यो देश हो, जसले पुस्तौँदेखि 'अमेरिकाको अन्त्य होस्' भन्दै आएको छ र जसले ट्रम्पको हत्या योजनाको आरोपसमेत खेपेको छ।
शुरूमा अमेरिका–इरान सम्बन्ध किन बिग्रियो?
दुई शब्दमा: अपरेसन एज्याक्स ।
१९५३ मा सीआईएले बेलायती सहयोगमा इरानको लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई हटाएर शाह मोहम्मद रजा पहलवीलाई सत्ता दिलायो। पश्चिमेली शक्तिहरूलाई सोभियत प्रभाव बढ्ने र इरानको तेल उद्योग राष्ट्रियकरण हुने डर थियो।
शाह अमेरिकी रणनीतिक सहयोगी थिए, जसले वाशिङ्टनसँग सम्बन्ध सुधार गरे। तर, उनको निरंकुश शासन र अमेरिकालाई समर्पण गर्ने प्रवृत्तिले इरानी जनतामा चिसोभाव पारेको थियो।
यो सबै १९७९ मा विस्फोट भयो, जब शाह देश छाडेर भागे र कठोर धार्मिक क्रान्तिकारीहरूले सत्ता सम्हाले।
इरानी क्रान्तिले तनाव कसरी बढायो?
नोभेम्बर ४, १९७९ मा जब अमेरिकाविरोधी भावना चरममा थियो, इरानी विद्यार्थीहरूले ६६ जना अमेरिकी कूटनीतिज्ञ र नागरिकहरूलाई बन्धक बनाए। तीमध्ये ५० भन्दा बढीलाई ४४४ दिनसम्म बन्दी बनाएर राखियो।
यो अमेरिकाका लागि अपमानजनक क्षण थियो। तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले केही महिनापछि गोप्य उद्धार अभियान (Operation Eagle Claw) शुरू गरे, जसमा आठवटा नौसेना हेलिकप्टर र छवटा वायुसेना ट्रान्सपोर्ट विमान इरानी मरुभूमिमा पठाइयो। तर, बालुवाको आँधीले मिसन असफल भयो र हेलिकप्टर तथा इन्धन विमान एकआपसमा ठोक्किएर आठजना सैनिकको ज्यान गयो।
१९८० मा कूटनीतिक सम्बन्ध टुट्यो र अझै कायम भएको छैन।
इरानले बन्धकहरूलाई जनवरी २०, १९८१ मा राष्ट्रपति रोनाल्ड रेगनको पदग्रहणकै केही मिनेटपछि मुक्त गर्यो । उनीहरूले कार्टरको कार्यकालमा रिहा गर्न नचाएको प्रस्टै देखियो ।
के यस साता भएको अमेरिकी आक्रमण इरानमाथिको पहिलो थियो?
होइन। तर, पछिल्लो ठूलो हमला समुद्रमा भएको थियो।
अप्रिल १८, १९८८ मा अमेरिकी नौसेनाले दुईवटा इरानी जहाज डुबायो, अर्कोमा क्षति पुर्यायो र दुई निगरानी प्लेटफर्म नष्ट गर्यो। ‘Operation Praying Mantis’ नामको यो कारबाही USS Samuel B. Roberts लाई पर्सियन गल्फमा बारुदी सुरुङले क्षति पुर्याएपछि गरिएको प्रतिघात थियो ।
इरान–इराक युद्धमा अमेरिका कुन पक्षमा थियो?
औपचारिक रूपमा तटस्थ भए पनि व्यवहारमा इराकतर्फ झुकेको थियो।
इरानको जीतले मध्यपूर्वमा अस्थिरता फैलने र तेल आपूर्तिमा असर पर्न सक्ने डरले अमेरिका इराकलाई आर्थिक सहयोग, गुप्त जानकारी र प्रविधि उपलब्ध गराइरहेको थियो।
८ वर्ष लामो युद्धमा लाखौंको ज्यान गयो, विजेता कोही भएन र त्यसपछि अमेरिका–इराक सम्बन्ध पनि टुक्रियो।
'इरान–कन्ट्रा प्रकरण' के हो?
एक किसिमको अमेरिकी–इरानी गोप्य सहकार्य ।
सन् १९८४ मा अमेरिकाले इरानलाई आतंकको संरक्षक राष्ट्र घोषणा गरेपछि पनि उसले लुकीछिपी इरानलाई हातहतियार बेचेको रहस्य बाहिरियो। यसको उद्देश्य थियो— लेबनानमा इरान समर्थित हिज्बुल्लाहद्वारा नियन्त्रणमा रहेका बन्धकहरूको रिहाइ र निकाराग्वाका कन्फ्राका विद्रोहीहरूका लागि गोप्य रूपमा रकम जुटाउनु।
राष्ट्रपति रोनाल्ड रेगन कानूनी रूपमा त जोगिए, तर प्रतिष्ठा भने नराम्ररी प्रभावित भयो।
कति देशले अमेरिकालाई आतंक प्रायोजक राष्ट्रको रूपमा हेर्छन् ?
चारवटा: इरान, उत्तर कोरिया, क्युबा र सिरिया।
यी सबै देशहरूमा अमेरिकाले व्यापक प्रतिबन्ध लगाएको छ। सिरियाको स्थिति भने बशर अल–असदको सरकार पतनसँगै पुनर्विचार गरिँदैछ।
'दुष्टताको धुरी' भन्ने पदावली कहाँबाट आयो?
सन् २००२ मा राष्ट्रपति जर्ज डब्ल्यू बुशले आफ्नो 'स्टेट अफ द युनियन' सम्बोधनमा यो शब्द सबैभन्दा पहिले प्रयोग गरेका थिए। ९/११ को आतंककारी आक्रमणपछिको पाँचौं महिनामा उनले इरान, उत्तर कोरिया र इराकलाई लक्षित गर्दै भने–
'यस्ता राज्यहरू र तिनका आतंककारी सहयोगीहरूले विश्वशान्तिमा खतरा पुर्याउन सक्ने दुष्टताको धुरी बनाएका छन्।'
यसको प्रतिक्रिया स्वरूप इरान र उसका सहयोगीहरूले आफूलाई 'प्रतिरोधको धुरी' भन्न थाले।
इरानीका सहयोगीहरूको अवस्था के छ?
हिज्बुल्लाह र हमास इजरायलको कडा आक्रमणबाट कमजोर भएका छन्।
सिरियाका असदले मस्कोमा शरण लिएपछि अमेरिकाले पूर्व अल–कायदा सम्बन्धित विद्रोहीहरूलाई सावधानीपूर्वक साथ दिन थालेको छ।
यमनमा हुथी विद्रोहीहरूले रेड सीमा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि अमेरिका र बेलायतको बमबारीको सामना गरिरहेका छन्।
इराकमा इरानी प्रभावमा रहेका सिया सशस्त्र समूहहरू अझै सक्रिय छन् र कहिलेकाहीँ अमेरिकी हमलाको निशानामा पर्छन्।
इरानको आणविक कार्यक्रमको स्थिति कस्तो छ?
२०१५ मा ओबामाले आणविक सम्झौता गरे, जसअनुसार इरानले संवर्धित यूरेनियमको भण्डार घटायो, सेन्ट्रिफ्युजहरू नष्ट गर्यो र निरीक्षकहरूलाई बढी पहुँच दियो।
तर, ट्रम्पले २०१६ को चुनावमा सम्झौतामाथि आक्रोश व्यक्त गरे र २०१८ मा 'अत्यधिक दबाब' अभियानसहित सम्झौता तोडे।
सम्झौता तोडिएपछि इरानले कार्यक्रम पुनः शुरू गर्यो र पछिल्ला महिनाहरूमा त्यो अझ तीव्र भएको छ।
ट्र्म्पको शान्ति प्रस्ताव र आशीर्वाद
जनवरी २०२० मा ट्रम्पले ड्रोन हमलाको आदेश दिए, जसबाट इरानी सेनाका शीर्ष कमान्डर कासिम सुलेमानी मारिए।
राष्ट्रपति जो बाइडेनका न्यायमन्त्री मेरिक गारल्यान्डका अनुसार त्यसपछि इरानले ट्रम्पको हत्या योजनासमेत बनाएको थियो।
'न्याय विभागले इरान सरकारको निर्देशनमा काम गर्ने एक व्यक्तिमाथि अभियोग दायर गरेको छ, जसले अपराधीहरूको सञ्जाल प्रयोग गरेर ट्रम्पविरुद्ध हत्या योजना बनाएको थियो,' गारल्यान्डले भने।
अहिले ट्रम्प, जसले इरानमाथि बम वर्षा गर्ने आदेश दिएका थिए, अहिले वार्ताको टेबलमा शान्तिको प्रस्ताव राख्दैछन्, र आशीर्वाद पनि बाँड्दै छन्।
– एपीको सहयोगमा