२२ असार २०८३, सोमबार

बालेनका सल्लाहकार गिरी रुपन्देही-३ मा चुनाव लड्ने तयारीमा

असार २४, २०८२
बुटवल
बालेनका सल्लाहकार गिरी रुपन्देही-३ मा चुनाव लड्ने तयारीमा

आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर–३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)का सल्लाहकार सन्तोष गिरीले उम्मेदवारी दिने तयारी गरेका छन् ।

मेयर बालेनका खाद्य गुणस्तर कार्यक्रम सल्लाहकार रुपन्देहीबासी गिरीले चुनावी तयारीमा जुटेको खुलाए । ‘मैले उम्मेदवारी दिनेबारे एक तहको छलफल सकिएको छ’ गिरीले मंगलबार बिहान लोकान्तरसँग भने, ‘देशको आवश्यकता, स्थानीयको दबाब र शुभेच्छाले चुनाव उठ्ने तयारीमा छु ।’

त्यसका लागि गिरी बिहीबार गृहजिल्ला आउँदैछन् । ‘युवाहरू राजनीतिमा आउनुपर्छ । जुनसुकै पार्टीबाट होस् देशलाई माया गर्ने क्षमतावान मान्छे राजनीतिमा आउनुपर्छ भन्ने हाम्रो भनाइ हो, नेपालको राजनीति बाहेक अरु सबै सुन्दर छ । राजनीतिमा सुधार अब युवाको विकल्प छैन’, गिरीले थपे । राम्रो, सक्षम र सर्वस्वीकार्य अन्य व्यक्ति आए अरुलाई सहयोग गरेर पनि जान सकिने गिरी बताउँछन् । 

तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीका ३३ वर्षीय गिरी २०६५ मा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु रुपन्देहीको सहसचिव बनेका थिए । प्रखर वक्ताको पहिचान समेत बनाएका गिरीको घर क्षेत्र नम्बर ३ मै पर्छ ।

अर्थशास्त्रमा स्नातकोत्तर उनी कानून र व्यवसाय प्रशासनमा स्नातक हुन । उनले बालेनको परराष्ट्र र विदेश मामिला पनि हेर्दै आएका छन् । अहिलेको युवा पुस्ताले बालेनलाई रुचाएको पाइन्छ । बालेन समर्थकहरूले गिरीको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समेत साथ लिन खोजेका छन् । आइतबार नै बुटवल मोतिपुरका लेखनाथ गैरेले औपचारिक रूपमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

 

null

२०७९ सालको निर्वाचनमा रूपन्देही–३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा वरिष्ठ नेता दीपक बोहोराको निधन भएपछि उपचुनाव हुन लागेको हो । ‘पोष्ट कोभिड’ले पीडित बोहोराको १९ चैत २०८१ मा उपचारका क्रममा निधन भएको थियो । 

निर्वाचन आयोगले उपचुनावको मिति तय गरेसँगै जिल्लामा चुनावी माहोल शुरू भएको छ । राजनीतिक पार्टीबाट उम्मेदवारका आकांक्षीले टिकट हात पार्न सक्रियता बढाएका छन् ।

२०७९ सालको निर्वाचनमा ९० हजार मत खसेको यो क्षेत्रमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २७८ मत पाएको थियो । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाले १४ हजार १५४ र राप्रपाले भने जम्मा ९ हजार १८३ मत पाएको थियो । प्रत्यक्षतर्फ भने एमालेले राप्रपालाई सघाएको थियो । 

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जनता समाजवादी पार्टीले ५ हजार मत पाएको थियो । लोकतान्त्रिक समाजवादी पार्टीले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, नेकपा माओवादी केन्द्रले २ हजार ६०० सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो)ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ७८१ मत पाएका थिए ।

रुपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । यो क्षेत्रमा नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, शुद्धोधन गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाका सबै वडा, सियारी गाउँपालिकाको वडा नं. १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा नं. २, मायादेवी गाउँपालिकाको वडा नं. ७ र ८, तिलोत्तमा नगरपालिकाको वडा नं. १३ र १४ र बुटवल उपमहानगरपालिकाको वडा नं. १४ देखि १९ वडा समेटिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्