०३ साउन २०८३, आइतबार

संसद्‌मा ज्ञानेन्द्र शाही- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

असार २२, २०८३
काठमाडौं
संसद्‌मा ज्ञानेन्द्र शाही- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी दुर्घटनालाई राज्यको असफलताको उदाहरणका रूपमा चित्रण गरेका छन् । उनले सरकारसँग घटनाको सत्यतथ्य सार्वजनिक गर्न र उद्धारमा भएको ढिलाइबारे जवाफ दिन माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले कर्णाली नदीमा गाडी खस्दा यात्रुहरूको समयमै उद्धार हुन नसकेको उल्लेख गरे । टोलीसँग आवश्यक साधनस्रोत नभएको र सुरक्षाकर्मी घटनास्थलमा पुग्न करिब पाँच घण्टा लागेको शाहीले बताए ।

‘उद्धार टोलीसँग साधन थिएन । सुरक्षाकर्मी घटनास्थलमा पुग्न पाँच घण्टा लाग्यो । जब उनीहरू पुगे, धेरै ढिलो भइसकेको थियो । उद्धार गर्न होइन, मुचुल्का उठाउनुपर्ने अवस्था आयो । फर्किँदाफर्किँदै ६ जना नागरिक बेपत्ता भए’, शाहीले भने, ‘त्यो दिन केवल ६ जना मानिस हराएनन् । कसैको घरको चुलो सदाका लागि निभ्यो । कसैले आफ्नो बुबा गुमायो । कसैले आफ्नो आमा गुमायो । कसैले आफ्नो श्रीमान् गुमायो । कसैले आफ्नो श्रीमती गुमायो । कसैले आफ्नो सन्तान गुमायो । कसैको काख रित्तियो । कसैको भविष्य अन्धकार भयो ।’

आफूले पनि जीवनमा आफन्त गुमाएको अनुभव रहेको उल्लेख गर्दै सांसद शाहीले यो विषय आफ्ना लागि राजनीतिक नभई मानवीय पीडासँग जोडिएको बताए ।

कर्णाली नदीमा गाडी खसेर मान्छे बेपत्ता भएका बेला उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि कर्णालीको आकाशमा हेलिकप्टर देखिएको शाहीले टिप्पणी गरे । साथै, त्यही बेला कर्णालीको प्रदेशसभामा भाग पुगेन भन्दै सांसदहरू भागबन्डाका लागि एकापसमा झगडा गरिरहेको शाहीले टिप्पणी गरे । 

उनले कर्णालीका नागरिक पनि यही देशका नागरिक भए पनि विपद्को समयमा राज्य किन अनुपस्थित हुन्छ भन्ने प्रश्न उठाए । सरकारले विपद् व्यवस्थापनका लागि हेलिकप्टर परिचालन र उद्धारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसको अनुभूति कर्णालीले गर्न नसकेको उनको आरोप थियो ।

‘म सम्माननीय सभामुख महोदयमार्फत सरकारसँग स्पष्ट जवाफ माग गर्दछु- कर्णालीका नागरिकको ज्यानको मूल्य आखिर कति हो ? र सम्माननीय सभामुख महोदयलाई विनम्र अनुरोध गर्दछु, सरकारलाई तत्काल रुलिङ गरी यस घटनाको सत्यतथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न, दोषीमाथि कारबाही गर्न र भविष्यमा यस्तो दर्दनाक घटना दोहोरिन नदिने प्रभावकारी व्यवस्था गर्न निर्देशन दिनुहोस्’, शाहीले भने, ‘कर्णालीले दया होइन, अधिकार खोजेको छ । कर्णालीले सहानुभूति होइन, समान व्यवहार खोजेको छ । कर्णालीका नागरिकले जीवनको अधिकार खोजेका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्