
भारत र ब्राजिलबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले मंगलबार ब्राजिलको राजधानी ब्रासिलियामा भेटवार्ता गरे ।
यो भेटमा दुई देशबीचको व्यापारलाई आगामी पाँच वर्षमा २० अर्ब डलर पुर्याउने महत्वाकांक्षी लक्ष्य राखिएको छ ।
त्यस्तै दुवै देशबीच आतंकवादविरुद्ध साझा अडान, नवीकरणीय ऊर्जा, डिजिटल प्रविधि र कृषिमा सहकार्यलाई विस्तार गर्ने छवटा सम्झौतामा हस्ताक्षर भएको छ ।
यो भेटले दुई देशको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास भारतीय सञ्चारमाध्यमहरूले गरेका छन् ।
भारत र ब्राजिलबीच हालको वार्षिक व्यापार करिब १३ अर्ब डलर छ, जसलाई पाँच वर्षमा २० अर्ब डलर पुर्याउने लक्ष्य राखिएको छ ।
राष्ट्रपति लुलाले यो व्यापारलाई छोटो समयमै तेब्बर बनाउने उद्देश्य रहेको बताए । यो लक्ष्य प्राप्त गर्न दुवै देशले भारत र दक्षिण अमेरिकी व्यापार ब्लक 'मर्कोसुर'बीचको प्राथमिक व्यापार सम्झौता विस्तार गर्ने योजना बनाएका छन् ।
लुलाले ब्राजिलको विमान निर्माता कम्पनी एम्ब्राएरले भारतमा आफ्नो उपस्थिति बलियो बनाउन र भारतीय कम्पनीहरूसँग साझेदारी गर्न चाहेको बताए ।
प्रधानमन्त्री मोदीले यो भेटलाई 'फलदायी' भन्दै भारत र ब्राजिलबीचको रक्षा सहकार्यलाई गहिरो आपसी विश्वासको प्रतीक बताएका छन् ।
दुई देशले रक्षा उद्योगलाई जोड्ने प्रयासलाई निरन्तरता दिने र यूपीआई (युनिफाइड पेमेन्ट्स इन्टरफेस) जस्ता डिजिटल भुक्तानी प्रणालीलाई ब्राजिलमा लागू गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
'हामी भारतको डिजिटल सार्वजनिक पूर्वाधार र अन्तरिक्ष क्षेत्रको सफल अनुभव ब्राजिलसँग बाँड्न तयार छौं,' मोदीले भने ।
आतंकवादविरुद्धको लडाइँमा दुवै देशले 'शून्य सहनशीलता र शून्य दोहोरो मापदण्ड' को नीति अंगीकार गरेको मोदीले जोड दिए ।
'हामी आतंकवाद र आतंकवादलाई समर्थन गर्नेहरूको कडा विरोध गर्छौं,' उनले भने । यो भेटमा अन्तर्राष्ट्रिय आतंकवाद र सीमापार संगठित अपराधविरुद्ध लड्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
साथै, गोप्य सूचनाको आदानप्रदान र संरक्षणसम्बन्धी अर्को सम्झौताले दुई देशबीचको विश्वासलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
दुवै देशले नवीकरणीय ऊर्जा र स्वच्छ ऊर्जालाई प्राथमिकतामा राखेका छन् । यो भेटमा भएको नवीकरणीय ऊर्जासम्बन्धी सम्झौताले दुवै देशको हरित लक्ष्यलाई नयाँ दिशा र गति प्रदान गर्ने अपेक्षा गरिएको छ ।
'वातावरण र स्वच्छ ऊर्जा हाम्रा साझा प्राथमिकता हुन्,' भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मोदीले भने ।
कृषि क्षेत्रमा दशकौंदेखिको सहकार्यलाई थप बलियो बनाउँदै दुवै देशले अब कृषि अनुसन्धान र खाद्य प्रशोधनमा साझेदारी गर्ने भएका छन् । आयुर्वेद र परम्परागत औषधिको विस्तारलाई ब्राजिलमा प्रोत्साहन गर्ने विषयमा पनि छलफल भएको छ । 'हामी स्वास्थ्य क्षेत्रमा पनि लाभकारी सहकार्य बढाउँदैछौं,' मोदीले थपे ।
मोदीले भारत-ब्राजिल सम्बन्धलाई 'कार्निभलजस्तै रंगीन, फुटबलजस्तै जोशपूर्ण र साम्बाजस्तै मन जोड्ने' बनाउनुपर्नेमा जोड दिए ।
साम्बा ब्राजिलको एक लोकप्रिय नृत्य हो ।
'हामी भिसा काउन्टरमा लामो लाइन नराखी पर्यटक, विद्यार्थी, खेलाडी र व्यवसायीहरूबीच जन-जनको सम्पर्कलाई सहज बनाउन प्रयास गर्नेछौं,' मोदीले हाँस्दै भने ।
विश्व अहिले तनाव र अनिश्चितताको दौरबाट गुज्रिरहेको बेला भारत र ब्राजिलको साझेदारीलाई 'स्थिरता र सन्तुलनको महत्वपूर्ण आधार'का रूपमा हेरिएको छ ।
दुवै देशले सबै विवादलाई संवाद र कूटनीतिमार्फत समाधान गर्नुपर्नेमा एकमत व्यक्त गरे । 'हामी दुई ठूला लोकतान्त्रिक देशका रूपमा विश्व दक्षिण (ग्लोबल साउथ) को मात्र नभई सम्पूर्ण मानवजातिका लागि महत्वपूर्ण छौं,' मोदीले भने, 'हामी विश्व मञ्चमा विश्व दक्षिणका सरोकार र प्राथमिकताहरूलाई उठाउनु हाम्रो नैतिक कर्तव्य ठान्छौं ।'
यो भेट रियो दि जेनेरियोमा भएको ब्रिक्स शिखर सम्मेलनपछि भएको थियो । भेटमा दुवै नेताले वैश्विक मुद्दाहरूमा छलफल गरेका थिए ।
मोदीले ब्राजिलले आयोजना गर्न लागेको कोप–३० जलवायु सम्मेलनका लागि राष्ट्रपति लुलालाई शुभकामना पनि दिए ।
भेटका क्रममा राष्ट्रपति लुलाले प्रधानमन्त्री मोदीलाई ब्राजिलको सर्वोच्च नागरिक सम्मान 'ग्रान्ड कोलर अफ द नेशनल अर्डर अफ द सदर्न क्रस' प्रदान गरे ।
यो सम्मान भारत-ब्राजिल सम्बन्धलाई सुदृढ गर्न र वैश्विक मञ्चमा सहकार्य विस्तार गर्न मोदीको योगदानको कदरमा दिइएको हो ।
यो भेट मोदीको पाँच देशको यात्राको चौथो गन्तव्य थियो, जसमा उनले घाना, ट्रिनिडाड एन्ड टोबागो, अर्जेन्टिना र ब्राजिलको भ्रमण गरे । अब उनी नामिबिया भ्रमण गरेर दिल्ली फर्कनेछन् ।