
स्वास्थ्य बीमा बोर्डको एउटा निर्णयले कोशी अस्पतालले ठूलो आर्थिक आम्दानी गुम्ने भएको छ । बोर्डले साउन १ गतेदेखि कोशी अस्पताललाई ‘प्रथम सेवा विन्दु’बाट हटाउने निर्णय गरेसँगै अस्पतालको वार्षिक २० करोड रुपैयाँभन्दा बढी आम्दानी गुम्ने भएको हो ।
बोर्डको निर्णयले मासिक १ करोड ६६ लाख बढी रुपैयाँ बराबरको भुक्तानी गुम्ने कोशी अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य बीमा बोर्डले असार १९ गते संघीय सरकार मातहतका सबै अस्पताललाई ‘प्रथम सेवा विन्दु’बाट हटाउने निर्णय गरेको थियो । निर्णय लागू भएपछि कोशी अस्पतालमा अब बीमित बिरामीहरूले स्थानीय वा जिल्ला अस्पतालबाट सिफारिस (रिफरल) लिएपछि मात्र उपचार सुविधा पाउनेछन् । यसअघि कोशी अस्पतालले ‘प्रथम सेवा विन्दु’ तथा रिफरल केन्द्र दुवैको रूपमा सेवा दिँदै आएको थियो ।
बोर्डको नयाँ निर्णयले विराटनगर महानगरपालिका क्षेत्रभित्रका करिब १ लाख १६ हजार ३ सय ६० जना बीमितहरूलाई प्रत्यक्ष असर पुर्याउने अस्पतालले जनाएको छ । हाल उनीहरू कोशी अस्पताल र रानी प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा लिँदै आएका थिए ।
अब भने उनीहरूले प्रथम सेवा विन्दुको रूपमा रानीबाट सेवा लिनुपर्ने र सोही अस्पतालबाट मात्र रिफर हुनुपर्नेछ । अस्पतालको तथ्याङ्कअनुसार, कोशी अस्पतालमा दैनिक औसत ८५१ जना बिरामी आउँछन्, जसमा ४१७ जना बीमा गरेका बिरामी हुन्छन् । तीमध्ये झन्डै २५० जना बिरामीले प्रथम सेवा विन्दुको हैसियतमा उपचार सेवा लिँदै आएका थिए ।
चालु आर्थिक वर्षको पुससम्म ६ महिनामा १ लाख ५३ हजार ३ सय १० जना बिरामीले कोशी अस्पतालमा उपचार गराएका छन्, जसमध्ये ५८ हजार ७२३ जनाले स्वास्थ्य बीमा कार्यक्रममार्फत् सेवा लिएका थिए ।
अस्पतालले आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म १ लाख २४ हजार ४४९ जना बीमित बिरामीको उपचार गरी कूल २८ करोड ५१ लाख ७१ हजार ६१० रुपैयाँ स्वास्थ्य बीमा बोर्डसँग भुक्तानीको दाबी गरेको थियो । तर, सोमध्ये बोर्डले जम्मा ८५ लाख ९० हजार रुपैयाँ मात्रै भुक्तानी गरेको छ । बाँकी २७ करोड ६५ लाख रुपैयाँ बोर्डले भुक्तानी दिनुपर्ने अस्पतालले जनाएको छ ।
अस्पतालको दाबीअनुसार, साउन महिनामै मात्रै १२ हजार ५२६ जना बिरामीले बीमामार्फत् सेवा लिएका थिए, जसबापत अस्पतालले २ करोड ७८ लाख ११ हजार ७४९ रुपैयाँको दाबी गरेको छ ।
त्यसमध्ये १ करोड ६६ लाख ८७ हजार रुपैयाँको सेवा प्रथम सेवा विन्दुबाट लिइएको थियो । यस्तो मासिक भुक्तानीको व्यवस्था एकाएक बन्द गर्दा कोशी अस्पताललाई वर्षभरीमा करिब २० करोड २ लाख ४४ लाख ५८८ रुपैयाँ आम्दानी गुम्ने अस्पताल प्रशासनले जनाएको छ ।

कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट (मेसु) डा. रुणा झाले बीमा बोर्डको निर्णय सच्याउन माग गरेकी छिन् । कोशी अस्पताल विकास समितिका ३७६ जना कर्मचारी छन्, जसमा १२४ जना स्थायी, १६२ जना करार तथा ९० जना दैनिक ज्यालादारीमा कार्यरत छन् ।
ती सबैको मासिक तलब, सेवा, सुविधा लगायतको लागि १ करोड ५० लाख रुपैयाँ खर्च हुने गरेको छ, जुन अस्पतालले आफ्नै आन्तरिक आम्दानीबाट व्यवस्थापन गर्दै आएको छ । अब आम्दानीको मुख्य स्रोत बन्द हुँदा तलब, सेवा तथा प्रशासनिक खर्च व्यवस्थापन गर्न अस्पताल गम्भीर दबाबमा पर्ने उनको भनाइ छ ।
संघीय अस्पतालहरूबाट सिधै उपचार गर्न नपाउने निर्णयले स्वास्थ्य पहुँच सीमित पार्ने, गरिब जनताको उपचारमा अवरोध पुर्याउने र सेवाको गुणस्तर खस्काउने खतरा भएको कोशी अस्पताल कर्मचारी युनियनका अध्यक्ष डा. रोशन खड्काले बताए ।
कोशी अस्पतालले यस विषयमा स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य मन्त्रालयलाई पत्राचारगरी तत्काल निर्णय फिर्ता लिन आग्रह गरिसकेको छ । मेसु डा. झाले भनिन्, ‘यदि यो निर्णय यथावत् रह्यो भने अस्पतालको सेवा बन्द हुन पुग्ने अवस्था आउन सक्छ । यसले न जनताको हित हुन्छ, न सरकारको नीति सफल हुन्छ । त्यसैले निर्णय सच्याएर कोशी अस्पताललाई पुन: प्रथम सेवा विन्दु कायम गरिनुपर्छ ।’
प्रतिनिधिसभामा माओदीका सांसद अमनलाल मोदीले स्वास्थ्य बीमा बोर्डले गरेको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद मोदीले कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पहिलो सेवा विन्दुबाट हटाउने निर्णयले सरकारी अस्पतालहरूलाई धराशायी बनाउने र निजी अस्पताललाई फाइदा पुर्याउने आरोप लगाएका हुन् ।
उनले जनताले पालिकाको अस्पतालबाट रिफर लिएर निजी अस्पतालमा जाने सम्भावना बढी रहेको भन्दै यसले सरकारी अस्पतालहरूलाई कमजोर बनाएर निजी अस्पतालहरूलाई फाइदा पुर्याउने स्पष्ट पारे । सांसद मोदीले यो निर्णय स्वास्थ्य क्षेत्रका बिचौलीयाहरूको प्रभावमा आएको आरोपसमेत लगाए ।