
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाबापत भुक्तानी गर्न बाँकी सबै रकम भदौ महिनाभित्र भुक्तानी गरिने बताएका छन्।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–४ झ्यालवासमा निर्माण सम्पन्न देउराली प्राथमिक अस्पतालको उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले बाँकी बीमा रकम दुई किस्तामा भुक्तानी हुने जानकारी दिए।
“अस्पतालहरूले प्राप्त गर्ने बीमाको रकममध्ये ३०–४० प्रतिशत भए पनि स्वास्थ्य सेवा विस्तारमा लगानी गर्न सके राम्रो हुनेछ,” मन्त्री पौडेलले आग्रह गरे।
उनले पछिल्लो समय सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढेको र उपचार सेवामा आकर्षण बढ्दै गएको उल्लेख गरे। सीमित स्रोत साधनले सबै बिरामीको चाप थेग्न कठिन हुने भएकाले सबै पालिकामा सुविधासम्पन्न प्राथमिक अस्पताल सञ्चालन गर्नु सरकारको लक्ष्य रहेको बताए।
मन्त्री पौडेलका अनुसार साउन १ गतेदेखि देशभरका ४८ वटा अस्पतालले नयाँ भवनबाट सेवा सञ्चालन गरेका छन्। ती अस्पतालहरू स्थानीय तहको नेतृत्वमा सञ्चालित हुनेछन् भने प्रदेश र संघीय सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउनेछ।
उनले जटिल रोगहरूको उपचारमा नागरिकलाई सहुलियत दिन सरकारले एकमुष्ट रकम छुटको व्यवस्था गरेको पनि जानकारी दिए।
“स्वास्थ्य सेवामा सुधार गर्न सकिएन भने गणतन्त्रको अनुभूति नागरिकले गर्न सक्दैनन्,” मन्त्री पौडेलले भने, “सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराई न्यूनतम लागतमा गुणस्तरीय सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ।”
पाँच शय्या क्षमताको देउराली प्राथमिक अस्पताल उद्घाटनसँगै आजदेखि सेवा सुरु गरिएको छ।