
अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबारे कटाक्षपूर्ण अभिव्यक्ति दिए पनि केन्द्रीय सदस्यहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।
सोमबार ११ बजेपछि पार्टी कार्यालय च्यासलमा शुरू भएको बैठकमा ओलीले आइतबार भण्डारीसँग च्यासलमै भएको भेटको प्रसङ्गबाट कुराकानी थालेका थिए । सवा घण्टा बढी बोलेका ओलीले पार्टीको म्यान्डेट अनुसार नै कुराकानी गरेको बताएका थिए ।
साथै, नेताहरूले भण्डारीको प्रवक्ता बने जसरी बोलेको भन्दै आपत्ति पनि जनाएका थिए । ‘पूर्व राष्ट्रपतिज्यूसँग हिजो यहीँ भेट भयो, पार्टीको म्यान्डेटअनुसार नै मैले कुरा गरेको हो । मैले बालुवाटारमा भेटौं भनेको थिएँ, उहाँले पार्टी कार्यालयमा भेटौं भनेपछि हामीले कुरा गरेका हौं,’ ओलीले भनका थिए, ‘तर, यहाँ बाहिर जसरी नेताहरू प्रवक्ताले जस्तै बोल्नुभयो, त्यसले राम्रो सन्देश गएको छैन ।’
ओलीले राजनीतिमा आउनुअघि पार्टी, बुद्धिजीवीदेखि कानुनविद्सँग सल्लाह गर्नुपर्ने भए पनि भण्डारीले त्यस्तो नगरेको बताएका थिए । ‘विश्वको कुनै देशमा पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा फर्किएको उदाहरण दिएर हाम्रोमा मिल्छ ?,’ ओलीले प्रश्न गर्दै भनेका थिए, ‘यहाँको वस्तुस्थिति र समाजको भावना बुझ्नु पर्दैन ? सक्रिय राजनीतिमा फर्किन खोज्नेले बुद्धिजीवी र वकिलसँग परामर्श गर्न पर्दैन ?’
लामो बोल्ने क्रममा ओलीले सेनाको परमाधिपति भइसकेर राजनीतिमा आउने कुरा अनुचित भएको पनि बताएका थिए ।
‘राष्ट्रप्रमुख र सेनाको परमाधिपति भइसकेको व्यक्ति पुन: राजनीतिमा फर्किने कुराले युवामा निराशा र आक्रोश बढ्छ । यस विषयमा हामी छलफल गरेर निष्कर्षमा पुग्छौं, तर राजनीतिलाई धमिलो बनाउने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन,’ ओलीले भनेका थिए, ‘पूर्वराष्ट्रपति राजनीतिमा फर्किने कुराले पार्टी, लोकतन्त्र र मुलुक नै कमजोर हुनेछ । त्यो गलत नजिर हामीले बसाल्नु हुँदैन । मैले हिजो छलफलका क्रममा उहाँलाई यी सबै कुरा भनेको छु । उहाँले जवाफ दिनुभएको छैन ।’
कतिपय पराजितहरू आएर पार्टी कार्यालयमा आइतबार चुरी फुरी गरेको भन्दै ओलीले पार्टीका नेताप्रति कटाक्ष गरेका थिए ।

ओली बोलेपछि च्यासलमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । अध्यक्ष ओलीले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सोमबारबाटै शुरू भएको जानकारी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिए ।
सोमबार गण्डकी प्रदेशकाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले धारणा राखेका हुन् । जसमा केन्द्रीय सदस्यहरू राजीव पहारी, पदम गिरी, रवीन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, ईन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलसहितका छन् ।
उनीहरूले पार्टी सचिवालय र पोलिटब्यूरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गर्दै धारणा राखेका छन् । तर, बोल्ने क्रममा नेताहरूले पूर्व राष्ट्रपतिबारे मिश्रित धारणा राखेको केन्द्रीय सदस्य ईन्द्रलाल सापकोटाले दिए ।
‘राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन हुँदैन । यो सम्मान, मर्यादा र व्यवस्थाको कुरा हो नआउँदा राम्रो हुन्छ भन्ने मत पनि छन् । कुनै संवैधानिक, कानूनी र वैधानिक हिसाबले पूर्व राष्ट्रपतिलाई नरोकिने भएकोले आउँदा आपत्ति मान्न हुँदैन भन्ने मत पनि छ,’ सापकोटाले लोकान्तरसँग भने, ‘गण्डकीबाट मिश्रित खालका सुझाव आएका छन् । तर, नेतृत्वले संवादबाट समाधान गरोस् र राजनीतिक ढंगले हल गरोस् भन्ने धेरैको सुझाव छ ।’
विषय उठिसकेपछि विवादित बनाउनुभन्दा अध्यक्षले उपयुक्त समयमा संवाद गरेर टुंग्याउनुपर्ने मत आएको उनी बताउँछन् ।
केन्द्रीय सदस्य केदार सिग्देलले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु अनुचित भएको बताएका थिए । अर्का केन्द्रीय सदस्य राजीव पहारीले पार्टी २०८४ बहुमत ल्याउने गरी लाग्नुपर्नेमा आपसमा भिड्न नहुने सुझाव दिए ।
सदस्यहरूलाई तीन मिनेटको समय दिइएको बैठकमा सोमबार गण्डकी, सम्पर्क मञ्च र मधेशबाट गरी ४९ जनाले धारणा राखेका हुन् ।
प्रचार विभाग प्रमुख गौतमले पनि पूर्व राष्ट्रपतिको विषयमा सदस्यहरूले खुलेर धारणा राखेको जानकारी दिए ।
‘हामीले हैसियत दिएर राष्ट्रपति बनायौं । तर अहिले दल विशेषको कार्यकर्ता भएर आउँदा कस्तो सन्देश प्रवाह होला भन्ने कोणबाट पनि बहस भएको छ,’ गौतमले भने, ‘विभिन्न कोणबाट सदस्यहरूले धारणा राख्नुभएको छ । छलफल जारी छ ।’

केन्द्रीय सदस्य अरविन्द सिंहले भण्डारीको सदस्यताको विषय छिटो टुंग्याउनुपर्ने बताएका थिए । पेन्डिङमा राखिएको भन्ने र नवीकरण भइसकेको भन्ने विषयमा जिम्मेवार पार्टी रुमल्लिन नहुने उनले बताए । उनले तीनवटा विधान छापिएको भन्दै नेताहरूले प्रश्न उठाएको भन्दै हचुवामा बोल्ने कुरा उचित नहुने बताए ।
केन्द्रीय सदस्य डा. सूर्य पाठकले पूर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किने कुरा संविधान विपरीत भएको तर्क गरेका थिए । ‘पूर्व राष्ट्रपति र पूर्वराष्ट्रपति राजनीतिमा फर्किनु अलोकतान्त्रिक कदम हो,’ पाठकले भने, ‘संविधानको रक्षक भएर बस्नुपर्ने व्यक्ति राजनीतिमा आउनुले व्यवस्थामाथि नै प्रश्न उठ्छ । संविधान भनेको अक्षर मात्रै होइन भावना पनि हो ।’
सर्वोच्च निकायमा पुगेको राष्ट्रपतिले राजनीति रोजेको विषयबारे पार्टीले औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने उनले बताए ।
अर्का एक केन्द्रीय सदस्य भने भण्डारी यत्तिकै राजनीतिमा हाम नफालेको भन्दै हचुवाको रूपमा लिए नेतृत्वलाई नै भारी पर्ने बताउँछन् ।
‘सबैभन्दा माथि रहनुभएकी राष्ट्रपति यत्तिकै जिस्किन राजनीतिमा आएँ भन्नुभएको होइन होला । उहाँको लक्ष्य अध्यक्षभन्दा अर्को देखिँदैन,’ ती केन्द्रीय सदस्य भन्छन्, ‘यसैले पार्टी नेतृत्वले अनावश्यक खुइल्याउने भन्दा सार्थक वार्ता नगरे नेतृत्वलाई नै तनाब हुनेछ । किनकि विद्याको पक्षमा खुल्ने ठूलो समूह छ ।’