
गाजामा बढ्दो भोकमरी र अन्तर्राष्ट्रिय दबाबको बीचमा इजरायली सेनाले गाजा क्षेत्रमा हवाइमार्फत् राहत सामग्री खसालेको दाबी गरेको छ ।
इजरायल रक्षा बलले आइतबार बिहान वक्तव्य जारी गर्दै हालै गाजामा सात प्याकेट राहत सामग्री हवाईमार्गबाट खसालिएको जनाएको हो, जसमा पीठो, चिनी र प्याकिङ खाद्यान्न थिए ।
यसअघि इजरायलले संयुक्त राष्ट्रसंघको राहत टोलीलाई गाजामा प्रवेश गराउन मानवीय मार्ग खोल्न तयार रहेको जनाएको थियो । लामो समयदेखि दुई मिलियनभन्दा बढी जनसंख्या रहेको गाजामा अत्यन्तै सीमित आपूर्तिका कारण भोकमरी चर्किंदै गएको अवस्थामा, इजरायलमाथि गम्भीर आलोचना हुँदै आएको छ । यद्यपि इजरायलले ‘जानाजान भोकमरी गराइएको’ भन्ने आरोप असत्य भएको दाबी गरेको छ ।
आईडीएफका अनुसार राहत वितरण कोग्याट नामक इजरायली सैन्य निकायको अगुवाइमा र अन्तर्राष्ट्रिय संस्थाहरूको समन्वयमा गरिएको हो । सेनाले यसबारे एउटा भिडियोसमेत सार्वजनिक गरेको छ, तर त्यो स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन ।
इजरायलले मार्चको शुरूमा गाजामा सबै आपूर्ति बन्द गरेको थियो र मे महिनामा केही कडाइसहित पुनः शुरू गरेको थियो । अमेरिका लगायतका देशहरूको समर्थनमा इजरायलले गाजा ह्युमाटेरियन फाउन्डेसन (जीएचएफ)लाई गाजामा सञ्चालन गर्न अनुमति दिएको हो ।
उसले मे महिनाको अन्त्यतिरदेखि काम शुरू गरेपछि दैनिकजसो राहत लिन आएका प्यालेस्टानीहरू मारिएको समाचार आएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार अधिकांश मानिस इजरायली सेनाको गोली लागेर मारिएका हुन् । इजरायलले आफ्ना सैनिकले चेतावनी स्वरूप गोली चलाउने गरेको दाबी गर्दै मृत्यु संख्यामा आपत्ति जनाएको छ । उसले सहायता केन्द्रहरू नजिकको अराजकता हामासले मच्चाएको आरोप लगाएको छ ।
गाजामा भोकसँगै प्यासको समस्या पनि उस्तै भयावह बनेको छ । एक महिलाले बीबीसीसँग भनेकी छन्, ‘हामी खानेकुराविना बाँचेका छौं- न खाना छ, न रोटी, न त पानी नै ।’